तयार हुँदै ‘लुजडाउन’ मापदण्ड « Jana Aastha News Online
Logo
२३ मंसिर २०७८, बिहीबार
|  Thu Dec 9 2021

तयार हुँदै ‘लुजडाउन’ मापदण्ड

प्रकाशित मिति :  २५ जेष्ठ २०७७, आईतवार १५:१०


पहिलो चरणमा अत्यावश्यकबाट शुरु गरेर अन्तिम चरणमा शैक्षिक संस्था र मनोरञ्जनस्थल समेत खुल्ने छन् । यो मोडलमा कोरोना नियन्त्रणमा आए असोज पहिलो सातादेखि सबै क्षेत्र खुल्ला हुनेछ ।

सरकारले लकडाउनलाई खुकुलो बनाउने यसअघि नै बताएको छ । १७ गतेको क्याबिनेट बैठकले जेठ ३२ गतेसम्म लकडाउन थप्ने र खुकुलो बनाउने मापदण्ड तयारीका लागि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो । अहिले समिति र कोरोना संकट व्यवस्थापन केन्द्रले दुई वटा बेग्लाबेग्लै मोडालिटी बनाएका छन् । आज बस्ने समितिको बैठकमा दुईवटै मोडालिटी प्रस्तुत हुनेछ ।

सेनाले बनाएको मोडालिटीमा छ चरण छुट्याइएको छ । दुई साताको एक चरण हुनेछ । पहिलो चरणमा अत्यावश्यकबाट शुरु गरेर अन्तिम चरणमा शैक्षिक संस्था र मनोरञ्जनस्थल समेत खुल्ने छन् । यो मोडलमा कोरोना नियन्त्रणमा आए असोज पहिलो सातादेखि सबै क्षेत्र खुल्ला हुनेछ ।

पहिलो मोडालिटीको पहिलो चरणमा अत्यावश्यक क्षेत्रलाई आंशिक रूपमा सहज पारिनेछ । यो चरणमा निजी र सरकारी सवारी साधन पनि आंशिक खुल्नसक्ने सम्भावना छ । दोस्रो चरण अर्थात् असार दोस्रो सातापछि सार्वजनिक सवारीका साधनलाई पनि क्षमताको पचास प्रतिशत यात्रु बोकेर सेवा सञ्चालन गर्न दिने मोडलमा उल्लेख छ । सेनाले तयार पारेको मापदण्डमा सबै चरण र सबै क्षेत्रमा सामाजिक दूरी, मुखमा मास्क र यात्रु तथा ग्राहकको संख्यालाई प्रमुख आधार मानिएको छ ।

पहिलो मोडालिटीअन्तर्गत बैंक तथा वित्तीय संस्थाको सबै शाखा पनि एकैपटक खोल्न पाइने छैन । उनीहरूले शाखा खोल्ने समय फरक तोक्नुपर्ने छ । जिल्ला तथा प्रदेशले भने संक्रमणको स्थानीय अवस्थालाई मध्यनजर गरेर थप व्यवस्था लागू गर्नसक्ने बताइएको  छ ।

दोस्रो मोडालिटीमा विभिन्न जिल्ला र प्रभावित क्षेत्रलाई रातो, सुन्तला र हरियो रंगमा छुट्याइनेछ । सोहीबमोजिम फरक जिल्ला र क्षेत्रमा फरक खालको लकडाउनको मोडालिटी बनाउन सकिने उल्लेख छ । ७० जिल्लामा संक्रमित फैलिसकेकाले अब अति कम प्रभावित जिल्लाको संख्या थोरै हुँदै गएको छ भने अति प्रभावित र प्रभावित जिल्ला निरन्तर बढ्दै गएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनले समेत कोरोनासँग सुरक्षित तवरले जुध्दै दैनिक जीवनयापन गर्नुको विकल्प नभएको बताएको छ । आज बस्ने उच्चस्तरीय समितिको बैठकले लकडाउन खुकुलो बनाउने मोडललाई अन्तिम रूप दिनेछ । स्रोतकाअनुसार दुईवटै मोडालिटीलाई मिलाएर बनाइने वर्णशंकर (हाइब्रिड) योजना स्वीकृतिका लागि क्याबिनेटमा पेश गर्ने सम्भावना छ ।

७० जिल्लामा संक्रमित फैलिसकेकाले अब अति कम प्रभावित जिल्लाको संख्या थोरै हुँदै गएको छ भने अति प्रभावित र प्रभावित जिल्ला निरन्तर बढ्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस !