‘युज एण्ड थ्रो’ संस्कृति र वैवाहिक सम्बन्धमा बाधा

‘युज एण्ड थ्रो’ संस्कृति र वैवाहिक सम्बन्धमा बाधा

– गया यादव

भारतको केरला उच्च अदालतले महिला र पुरुषबीच ‘प्रयोग गर्ने र फ्याँक्ने’ अर्थात् ‘युज एण्ड थ्रो’ संस्कृतिका कारण वैवाहिक सम्बन्धका कारण प्रभावित भएको ठहर गरेको छ । युवा पुस्ताले कुनै पनि दायित्व नलिने तर जीवनको आनन्द र मस्तीलाई प्रमुखता ठान्ने भपछि भारतीय उच्च अदालतले महिला र पुरुषको शारीरिक सम्बन्ध युज एण्ड थ्रोमा परिणत हुन थालेको निश्कर्ष निकालेको बताइन्छ ।

३४ वर्षीय श्रीमान्ले ३८ वर्षीया श्रीमतीसँग सम्बन्धविच्छेदको माग गर्दै दायर गरेको मुद्दामाथि सुनुवाइपछि न्यायाधीश ए मोहम्मद मुस्ताक र सोफी थोमसको संयुक्त इजलासले उक्त टिप्पणी गरेको हो ।

दायर मुद्दामा भनिएको छ, ‘करिब एक दशकअघि प्रेममा रहेका दम्पतीका तीन छोरी भए पनि श्रीमान् अर्की महिलासँग सम्बन्ध राख्न चाहन्छन् ।’ श्रीमतीले निर्दयीखालको व्यवहार गरेको दाबी गर्दै परेको मुद्दामा श्रीमान्ले सम्बन्धविच्छेद मागे पनि अदालतले त्यसलाई अस्वीकार गरिदिएको छ ।

सम्बन्धविच्छेद निवेदन अस्वीकार गर्दै भनिएको छ, ‘अदालतले गल्ती गर्ने व्यक्तिको गतिविधिलाई वैधानिक बनाउन सहयोग गर्न सक्दैन । आफ्नी श्रीमती र बालबच्चाबाट बच्न र वर्तमान विवाहत्तेर सम्बन्धलाई वैधानिक बनाउन अदालतको सहयोग लिन मिल्दैन ।’

‘कानुन र धर्मले विवाहलाई आफैंमा संस्थाको रूपमा मान्छ । विवाहका पक्षहरू एकतर्फी रूपमा सम्बन्धबाट टाढिन सक्दैनन्,’ फैसलामा भनिएको छ । उच्च अदालतले सम्बन्धविच्छेदको निवेदन खारेज गरिदिएपछि श्रीमान्ले आफूमाथि श्रीमतीले क्रुरतापूर्ण व्यवहार भएको भन्दै पुनरावेदन दिएका थिए । उच्चले त्यसलाई पनि खारेज गरिदिएको छ ।

निवेदनमा उनले सन् २००९ देखि २०१८ सम्म वैवाहिक सम्बन्ध सुमधुर रहेको तर त्यसपछि श्रीमतीको व्यवहारमा फरकपना आएको दाबी गरेका छन् । साथै, श्रीमतीले आफू अफेयरमा रहेको आरोप लगाउँदै झगडा गर्ने गरेको पनि श्रीमान्ले उल्लेख गरेका छन् ।

टिप्पणीहरू