पल शाहले बलात्कार नगरेको, बालयौन दुरुपयोग गरेको ठहर

पल शाहले बलात्कार नगरेको, बालयौन दुरुपयोग गरेको ठहर

जबर्जस्ती करणी अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई बाल यौनदुरुपयोगको कसूरमा अढाई वर्ष जेल सजाय सुनाइएको छ । आज नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार मुद्दामा शाहलाई निर्दोष ठहर गर्दै बाल यौन दुरुपयोग कसूरमा मात्रै सजाय तोकेको हो ।

हालै न्यायाधीश नियुक्त भएर गएका आचार्यको इजलासले शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । अदालतले २५ हजार जरिवानाको सजाय पनि सुनाएको छ । बालयौन दुरुपयोगमा तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । तर, शाहलाई अढाई वर्षमात्रै कैद सजाय तोकिएको हो ।

अभिनेता शाहविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको थियो । तर, उक्त कसूरमा भने उनलाई अदालतले सफाई दिएको छ । जाहेरीकर्ता ‘होस्टाइल’ भएकाले बलात्कारमा कसूर ठहर नभएको बताइएको छ । बयानका क्रममा पीडित र जाहेरवालाले नै बयान फेरेर घटना झुठो भएको बताएका थिए । लामो समयदेखि विचाराधीन मुद्दा किनारा लागेसँगै शाहलाई पुनरावेदनमा जाने बाटोसमेत खुलेको छ ।

यसअघि शाहको तर्फबाट वरिष्ठ अधिवक्ता यदु खनाल, अधिवक्ता गणेश अधिकारी, चेतनारायण भुसाललगायतले बहस गरेका थिए भने जिल्ला न्यायाधिवक्ता कमलराज पन्थी, न्यायाधिवक्ता दालबहादुर थापा र सहायक न्यायाधिवक्ता बुद्ध थापाले सरकारको प्रतिरक्षा गरेका थिए । जाहेरीवालाले नै आरोप झूठो भनेर बयान दिएकाले पीडितका तर्फबाट भने कोही पनि बहसका लागि उपस्थित भएनन् ।

घटनाको समयमा नाबालिग रहेकी एक गायिकाले शाहले बलात्कार गरेको भन्दै नवलपुर र तनहुँमा छुट्टाछुट्टै जाहेरी दिएपछि शाहले दुवै जिल्ला अदालतमा मुद्दा खेपिरहेका छन् । तनहुँ अदालतले यसअघि उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश भएको थियो भने त्यसविरुद्ध पुनरावेदन गरेकोमा उच्च अदालतले तलको आदेशलाई सदर गरेको थियो । त्यसैले आज सफाइ पाएको भए पनि उनी थुनामुक्त भने हुने थिएनन् ।

टिप्पणीहरू