वन मास्न लगाउने वडा कार्यालय दुःख पाउने जनता, वडाध्यक्ष खड्का तारेखमा

वन मास्न लगाउने वडा कार्यालय दुःख पाउने जनता, वडाध्यक्ष खड्का तारेखमा

हेटौडा उपमहानगरपालिका–१४ स्थित ड्राइभरडाँडामा भ्यूटावर बनाउने नाममा गैरकानुनीरुपमा सयौँ सालका रुख काट्न लगाएको आरोप खेपिरहेका वडाध्यक्ष दिपक खड्कामाथि छानबिन थालिएको छ ।

चुरियामाई सामुदायिक वन उपभोक्ता समितिभित्र हरियाली सामुदायिक वन इकाई परिसरमा काटिएका सयौँ सालका रुख कसले काट्न लगायो ? क–कसको सेटिङ थियो ? भनि पर्सा वन्यजन्तु आरक्षले तत्कालीन समयमा छानबिन गर्दा आरक्षका वार्डेन मनोज साहलाई राजनीतिक पहुँचको आडमा विभाग तानेर मुद्दा निस्क्रिय पार्न खोजिए पनि स्थानिय नागरिक र सञ्चारमाध्यमको निरन्तरको निगरानीपछि अन्ततः मुद्दा छानबिनको प्रक्रिया अघि बढेको हो ।

यसअघि वन मास्न लगाउने वडाध्यक्ष खड्कालाई उन्मुक्ति दिलाउन सत्तारुढ कांग्रेसका नेताहरु मरिमेटेर लागेको आरोप थियो । हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँ र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको बलियो साथ पाएकै कारण वडाध्यक्ष छानबिनको दायरामा नपरेको आरोप काँग्रेसकै जिल्ला नेताहरुको छ । काँग्रेस मकवानपुरका एक नेताका अनुसार त्यसको गुण तिर्न राजेशलाई तथानाम गाली गर्ने वडाध्यक्ष खड्का अहिले प्रशंसक बनेका छन् । उनलाई जोगाउन राजेशले पनि भएभरका सबै शक्ति प्रयोग गरेको बताइन्छ ।

गरिब जनताले सामान्य लाथ्रा काट्दा मुद्दा चलाउने आरक्षले त्यतिधेरै सालको रुख काट्न लगाउने वडाध्यक्ष खड्कालाई उन्मुक्ति दिने प्रपञ्च रचेको आरोप लगाएका हुन् । स्थानीयले पटक–पटक आरक्षमा पुगेर दोषीमाथि कारबाहीको माग गर्दा कुनै सुनुवाई नहुनुमा पनि राजनीतिक साँठगाँठ नै मुख्य कारण मानिएको थियो । सारा सेटिङका बाबजुद् वडाध्यक्ष छानबिनमा तानिएपछि दोषीउपर कारबाही हुने विश्वास जागेको एक स्थानीयले बताए ।

यता, आरक्षका वार्डेन साहलाई राजनीतिक शक्तिको प्रभावमा सरुवा गराएर मुद्दा किनारा लगाउने प्रयास निरर्थक भएपछि खड्का थप तनावमा परेका छन् । साहलाई विभागमा तानेर नयाँ वार्डेन अशोकराम हाजिर भएपछि उक्त मुद्दामा कडाइका साथ छानबिन गरेको र अनुसन्धान गरिएका सबैलाई धरौटीमा मुद्दा चलाएको नयाँ वार्डेन अशोकले बताए । उनका अनुसार वडाध्यक्ष खड्कालाई पनि सोही प्रक्रियाअनुसार अनुसन्धान गरिएको छ ।

अशोक भन्छन्, ‘वडाध्यक्षलाई पनि छानबिन गरिरहेका छौँ, उनी तारेखमा छन् ।’ अहिले छानबिन भइरहेका कारण धेरै कुरा भन्न नचाहेका उनले जोसुकै भए पनि दोषीले उन्मुक्ति नपाउने प्रष्ट बताए ।

यता भ्यूटावरको नाममा आफ्नो जग्गाको मूल्य बढाउन सालको रुख काट्न लगाएको आरोपसमेत वडाध्यक्ष खड्कालाई लाग्ने गरेको छ । नेकपा एमालेबाट चुनाव जितेका उनी यो मुद्दा मिलाउन कांगे्रसको शरणमा पुगेको कांगेस हेटौडा नगर कमिटीका एक सदस्यले बताए । उनले भने, ’हिजो खड्काले राजेश बानियाँ भनेको फटाहा हो, भकुन्डे हो, त्यसलाई हाम्रो गाउँमा रातो कार्पेट बिछ्याउनु पर्ने हो र भन्दै गाली गरे । अहिले बिहानदेखि नै पछि लागेर हिँडछन् ।’

फरार भनिएका अन्य चार जना पक्राउ पर्दा सत्यतथ्य बाहिर आउने त्रासका कारण उनीहरुलाई सुनियोजित ढंगले भगाउनसमेत यो मुद्दाको हेराफेरी गर्ने दुई बानियाँ र वडाध्यक्ष खड्का लागि परेको स्थानीयको आरोप छ । स्थानीय तह चुनाव जितेको दुई महिना नबित्दै वडाध्यक्ष खड्का निर्वाध रुपमा वडा कार्यालयमा पुगेर काम गर्न सकेका छैनन् । यो मुद्दामा उनको संलग्नता पुष्टि भए वडाध्यक्षको जिम्मेवारीबाट मुक्त हुने कानुनविद्हरु बताउँछन् ।

घटनामा वडाध्यक्ष खड्काको संलग्नता रहेको यथेष्ट प्रमाण स्थानीयले बुझाउँदासमेत कारबाही गर्न आरक्ष कार्यालय पछि हटेको आरोप लाग्दै आएको छ । फरार भनिएकाहरुले न समितिका पधाधिकारी र १४ नम्बर वडा कार्यालयले रुख काट्न लगाएको बयान दिएको बताइन्छ ।

टिप्पणीहरू