वडाध्यक्षको राजीनामा माग्दै वडा कार्यालयमा तालाबन्दी

वडाध्यक्षको राजीनामा माग्दै वडा कार्यालयमा तालाबन्दी

सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडाध्यक्ष लोकबहादुर शाहीको राजीनामा माग्दै आज उनको कार्यकक्षमा ताला झुण्डाइएको हो । वडाध्यक्ष शाहीले सामाजिक आचरण विपरित र अनैतिक कार्य गरेको आरोप लगाउँदै स्थानीयले तालाबन्दी गरेका हुन् ।

विगत केही महिनादेखि वडाध्यक्षका नैतिकहीन कुकर्म सार्वजनिक भइरहेको उनीहरुको आरोप छ । उनले पदीय जिम्मेवारीलाई बिर्सिएर नैतिकहीन र कानूनी राज्यको बर्खिलाप हुने कार्य गरेको स्थानीयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ, ‘वडाध्यक्षको गलत कार्यको अडियो सार्वजनिक भइरहँदा सम्पूर्ण आग्रिगाउँवासीलाई बेइज्जत महशुस भएको छ ।’ वडाध्यक्षले नैतिकताका आधारमा राजीनामा नदिएसम्म वडा कार्यालयमा लगाइएको ताला नखोलिने बताइएको छ ।

जनताको प्रतिनिधिले नै गलत कार्यको अगुवाई गरेकाले नैतिकताको हिसाबले राजीनामा दिई सत्यतथ्य छानबिनको माग गरिएको छ । वडाध्यक्षले एक स्थानीय महिलासँग गरेको गोप्य अडियो सामाजिक सञ्जालमार्फत केही समयअघि सार्वजनिक भएको थियो ।

टिप्पणीहरू