बूढाहरूलाई नहेपौँ, तन्नेरीलाई बाटो छाडौँ

बूढाहरूलाई नहेपौँ, तन्नेरीलाई बाटो छाडौँ

डाँडाकाँडा वन चहुरमा घाम लागिरहेछ
लाखौँ लाखौँ सुख र दुःखमा लोक लागिरहेछ
छिः यो बेला नबस घरमा निस्क आलस्य फाली
हे तन्नेरी उठ न पृथिवी तीन बित्ता उचाली ।

– माधवप्रसाद घिमिरे, ‘नवयुवक’

सामाजिक सञ्जाल हेर्दा, पढ्दा मानिस, अझ युवा प्रौढ (प्रौढा पनि) उम्मेदवारलाई बिदा दिन चाहन्छन् । “एकै उम्मेदवार अथवा उही अनुहारलाई कति भोट दिइरहने ? युवालाई किन अवसर नदिने ?”, तिनीहरूको प्रश्न छ । विसं २०३८ को राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा उम्मेदवार भएकाहरू(विशेषगरी पञ्चहरू) अहिले ४१ वर्ष बित्दा पनि उठेकै छन् र मत दिनेले दिइरहेका पनि छन् ।

विसं २०४८ मा उम्मेदवार भएकाहरू (नेपाली कांग्रेस र नेकपाका विभिन्न समूह) अहिले ३१ वर्ष बित्दा पनि फेरि उठ्ने कुरा गर्दै छन् र निर्वाचन क्षेत्रको टुंगो लगाइसकेका छन् । सामाजिक सञ्जाल तिनको मुख पटक्कै हेर्न चाहँदैन र बिन्ती गरेर नउठ्न आग्रह, अनुरोध गर्दै छ ।

योग्यता पुगेका सबैलाई चुनावमा उठ्ने अधिकार छ । संविधानमा तल्लो उमेर २१ जनाइए पनि माथिल्लो हद तोकिएको छैन । अघिल्लो र हालैको स्थानीय निर्वाचनमा ९० नाघेकाहरू उठेका पनि थिए । कतिले जिते, कतिले हारे । असी बूढो खसी र नब्बे हब्बे न कब्बे भनिए पनि सक्नेले लड्छ, हारे हार्छ, जिते जित्छ । खासगरी स्थानीय तह निर्वाचनमा मानिसहरू आफ्नो दुःखसुखमा उपस्थित भइरहने जनप्रतिनिधि खोज्छन्, तन्नेरी होउन् कि बूढो । तन्नेरी भन्दैमा सबै खोजेका बेला पाइँदैनन् ।

राेगी काे हुँदैन, बूढाे काे हुँदैन ? डाेनाल्ड ट्रम्प ७४ र जाे बाइडेन ७७ वर्षमा चुनव लडे । ट्रम्प २०२४ मा हारकाे बदला लिन अहिलेदेखि नै लागेका छन् ।

मर्दापर्दा साथ दिने जनप्रतिनिधि नै रोजाइमा पर्छन् । विचार वा वाद वा सिद्धान्त नहेर्ने मतदाता धेरै पाइन्छन् । सामाजिक सञ्जाल चलाउनेहरू प्रायः युवा नै होलान् । त्यसैले बूढाहरूलाई बिदा दिएर तन्नेरीलाई रोज्न तिनले आह्वान गरेका हुन् । उही अनुहार हेर्दा हेर्दा वाक्क भएर नयाँलाई अवसर दिन तिनले गरेको आह्वानलाई कतिसम्म समर्थन गर्ने, आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका मतदाताको हातमा छ ।

रोगी को हुँदैन, बूढो को हुँदैन ? अमेरिकाजस्तो महाशक्ति राष्ट्रमा डोनाल्ड ट्रम्प ७४ र जो बाइडेन ७७ वर्षमा चुनाव लडे । अहिले ७६ मा हिँडिरहेका ट्रम्प सन् २०२४ मा हारको बदला लिन अहिलेदेखि नै लागेका छन् । मलेसियामै महाथीर बिन मोहम्मदले पछिल्लो पटक ९२ वर्षको उमेरमा प्रधानमन्त्री सम्हाले । हाम्रैमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सुशील कोइरालाले प्रौढावस्थामै प्रधानमन्त्री चलाएका हुन् ।

अहिले नै ७७ लागेका शेरबहादुर देउवा र ७८ मा कुदेका रामचन्द्र पौडेल क्रमशः एकपटक बहुमतको प्रधानमन्त्री र जिन्दगीमा केही गरेर देखाउने शूरमा कार्यकारी खान कुदिरहेका छन् । उमेर नाघेका पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, बाबुराम भट्टराईलाई चुनावमा लड्न कसले बाटो छेक्ने ? केपी शर्मा ओलीले शायद चौथो पटक (दोस्रो र तेस्रो चोटि निरन्तर प्रधानमन्त्री भएकाले दुई चोटि मात्र गनिन्छ) सिंहदरबार फेरि फर्कन केन्द्रीय कमिटीबाटै घोषणा गरिसके । युवाहरूले सामाजिक सञ्जालमा जति व्यङ्ग्य कसे पनि बूढाहरू पढ्दैनन् वा पढ्नै चाहँदैनन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौँ, धनगढी र धरानमा युवा तथा स्वतन्त्र उम्मेदवारले जितेकाले पार्टीविहीन स्वतन्त्रहरू हौसिएका छन् । अघिल्ला निर्वाचनमा हारेकी रञ्जना दर्शनाका ठाउँमा ¥यापर बालेन्द्र (बालेन) साह (शाह) लाई मतदाताले जिताइछाडे । खासमा साहलाई स्वतन्त्र भनी गरिएको प्रचारभन्दा तन्नेरी भएकाले काठमाडौँवासीले छानेका हुन् । अहिलेका तन्नेरी ३८ सालका वा ४८ सालका चाउरी अनुहार हेर्नै चाहन्नन् तर संसद् भनेको उरन्ठेउला ठिटाठिटीहरूको मात्र क्लब हो त ?

संसद् कानुन बनाउने थलो हो । सर्वसाधारणको हितका लागि र राज्यका विभिन्न संयन्त्र चलाउन संविधानले तोकेका विषयमा ऐन(विधेयक) बनाउन नै व्यवस्थापिका (विधानपालिका) खडा गरिएको हो । सांसद भनेका कानुननिर्माता हुन्, गाउँटोलमा खानेपानीका धारा, कुलो, बाटोघाटो, स्वास्थ्यचौकी र अस्पताल आदि बनाउने होइनन् ।

हामीकहाँ सांसदले यति नगरे, पढेलेखेका भनिएकाहरूलाई जागीर नलगाइदिए फेरि फेरि भोट पाउनै गाह्रो हुन्छ । शिक्षित, कानुनमा दक्ष वा कानुन बुझेकाहरूले नै छलफल गरी ऐन बनाउन सक्छन्, यसको अर्थ अनुभवीहरू पनि संसद्मा चाहिन्छ । ढुंगामुढा गरेर बनेका नेताहरू मात्र व्यवस्थापिकामा गए भने अपरिपक्व कानुन बन्ने सम्भावना हुन्छ । आखिर सबै जना एक पटक बूढा हुनु परिहाल्छ ।

तातो रगतका जोशमा उमेर पाकेकाहरूलाई बाइकट गर्दा के अवस्था हुन्छ, बाकसमा हालेर जन्त लगिएका बूढाबाको कथा सम्झाउनुपर्ने हुन्छः एक पल्ट एक युवकको बिहेमा ठिटाहरू मात्र जन्त जाने भनी बूढाहरूलाई बात गरेछन् । केटाहरू फुर्तीफार्तीले जन्त गए । विधि सकिइसकेपछि जन्ती बाख्राका रूपमा सय वटा खसी दिएर एकै दिन काटी खान सके मात्र दुलही लान सक्ने शर्त राख्यो । सय जना जति त जन्ती गएका थिए तर तिनमा सय वटै खसी खान सक्ने ज्यान थिएन । पछि ट्यांकामा लुकाएर लगिएका एक वृद्धलाई बाहिर निकालियो र उपाय सोधियो ।

बूढाले उपाय दिए, “शुरुमै सय खसी नकाटी एक एक वटा मात्र काट र एउटाको मात्र मासु बनाओ । एउटा खसी सय जनाले खान शुरु गर र मासुमासु मात्र खाऊ, हाडछाला, आन्द्राभुँडी, खुट्टा फालिदेऊ ।” बूढाको वचनअनुसार पहिले एक खसी काटियो र चाखेजस्तो मात्र गरेर बारीमा फालियो । एवंरीतले तिनले एकएक खसी काटे र सय जनाले एकै चोटि खान बस्दा मासुमासु मात्र चाखी बाँकी फालिदिए । यसरी सय खसी काटेर सकियो ।

यस कथाले जुनकुनै समाजमा अनुभवी र पाको मान्छे चाहिन्छ भन्ने पाठ दिन्छ । विज्ञानले पुरानाका ठाउँ नयाँले लिन्छ भन्छ । सधैँ कपाल फुलेकाहरूले मात्र ठाउँ लिँदा तन्नेरीले कहिले अनुभव लिने ? साँढेलाई सधैँ कोरली बाच्छी ओगट्न दिनुभएन । सल्लाह गरेर सबै पार्टीका केही अनुभवी मात्र संसद्मा जाने र अन्यमा युवालाई अघि लाउनसके संसद् परिपक्व थलो बन्छ । पटक पटकका टेष्टेडले छेउ लागे जाति हुनेछ । अवसर पाएका बेला नगरेको काम पछि गर्लान् भन्ने आश मतदाताले गर्दैनन् ।

टिप्पणीहरू