कसले बुझ्नुपर्ने हो र यो कुरा कमरेड !

कसले बुझ्नुपर्ने हो र यो कुरा कमरेड !

अहिलेसम्म हामीले अभ्यास गर्दै आएको उम्मेदवार छान्ने तथा जिम्मेवारी तोक्ने चलन पूरै अप्रजातान्त्रिक तथा अलोकतान्त्रिक मात्रै नभएर अत्यन्तै हानिकारकसमेत सावित भएको छ । भीमप्रसाद गौचनदेखि विनोद चौधरी हुँदै दीपक मनांगे र कोमल वलीसम्मलाई टिकट दिने र मन्त्री बनाउने जुन अभ्यास गर्दै आइयो, यसले टिके प्रथा वा टिपे प्रथालाई प्रश्रय दिने काम ग¥यो भने यसबाट मूल नेतृत्वलाई बदनाम गराउने कामसमेत भइरहेको छ ।

घरको काम छोडेर, छोराछोरीको पढाइप्रति बेवास्ता गरेर, आफ्नो व्यापार–व्यवसाय सबै अलपत्र छोडेर पार्टी, देश, जनता र क्रान्तिको निम्ति भन्दै रातदिन जमिनमा खटिने नेता–कार्यकर्ता फाटेका झोला बोकेर हिँडिरहने तर अन्त तर मारेर अब बाँकी केही छैन त्यहाँ भनी उता लात मारेर कम्युनिष्ट पार्टीमा आउनेहरू, विभिन्न तरिकाले धनार्जन गरेका र त्यो नेतृत्वलाई बुझाउन सक्ने भएकाहरू तथा खासखास मान्छेहरूलाई खुशी र सुखी बनाउन सक्नेहरूले सबैखाले अवसर पाउने जुन अवस्था निर्माण गरिएको छ, यसले कम्युनिष्ट पार्टी र यसको नेतृत्वप्रति शंकाको वातावरण बनिरहेको छ । सामाजिक सञ्जालमा भाइरल बनिरहेको ‘नो, नट अगेन’ लेखेको सामूहिक तस्बिरले यसैतर्फ इंगित गरिरहेको छ । यो कुरा बुझ्नुपर्ने कसले हो ?

चुनाव हुने कुरामा शंका रहेन । आवधिक चुनाव हुनु लोकतन्त्रको राम्रो पक्ष हो । तर यो चुनाव नै लोकतान्त्रिक व्यवस्थालाई बदनाम गर्ने ओैजार बन्ने हो कि भन्ने चिन्ता आम मान्छेमा देखिन्छ । प्रतिस्पर्धाको हिसाबले यसपटकको चुनाव असाधारण हुने पक्का छ । यसर्थ टिकट वितरण गर्नेदेखि समानुपातिक उम्मेदवार छान्ने समयमा धनबलले ठूलो काम गर्ने देखिन्छ ।

सिनियर नेताहरूकाे हैसियत पनि हस् हजुरमा झरेकाे छ । सेक्सपियरले जस्तै खाली खुट्टा सम्झेर रूने काम बन्द गर्न सक्नुपर्छ ।

‘एक अनार सौ बिमार’ भनेजस्तो एकातिर पार्टीको निम्ति सर्वश्व त्यागेर हिँडिरहेका तमाम खाँटी सदस्य छन्, जोसँग चुनावमा खर्च गर्नसक्ने धन अभाव छ भने अर्कोतर्फ नेतृत्वको नजिक भएका तर भूगोलमा कहिल्यै खुट्टा नटेकेका एकथरी तथा पैसाको बिटो बोकेर टिकट हात पार्नसक्ने, समानुपातिकमा नाम पार्नसक्ने हैसियत बनाएर बसेकाहरू छन् । धेरैलाई आशंका भएको कुरा के हो भने टिकट र समानुपातिकमा पनि पछिल्लो समूहका मान्छेहरूले नै बाजी मार्नेछन् ।

यदि, यस्तै आशंका गरिएअनुरूप हुन गयो भने पार्टी बदनाम हुने, असल पार्टी सदस्यहरूको मनोवल अझै तल खस्ने कुरा त छँदै छ, चुनावमा पार्टी नराम्ररी पराजित हुन सक्ने सम्भावना पनि उत्तिकै बलियो छ । यदि, एकमना एकता सहित चुनावमा जाने र सम्मानजनक विजय हासिल गर्ने हो भने यसपटकलाई नातागोता, व्यक्तिगत सम्बन्ध र धनवानहरूप्रति आँखा लगाउन सबैले च्यात्तै छोड्नुपर्छ र जनताको बीचमा रहेर निरन्तर काम गरेका वा गरिरहेका, जनताले चिनेका र भरोशा गरेका, खल्तीमा सुुको नभए पनि समाजले पत्याउने तिनै इमानदार पार्टी सदस्यलाई नै टिकट दिएर जिताउनेतिर लाग्नुपर्छ ।

दलबदलु तथा धनवानहरू भनेका आयाराम गयाराम हुन् । नेतृत्वको नजिकमा चाकडी र चाप्लुसी गर्नेहरू पनि ब्यक्तिगत हितको संरक्षण गर्ने यस्तै रामहरू हुन् । यी प्रबृत्तिका मान्छेहरूबाट पार्टी र यसको मूल नेतृत्व अलग रहन सक्यो भने यसले स्खलन हुँदै गरेको छविलाई बचाउनेछ र चुनावमा सम्मानजनक जीत पनि हासिल गराएर पार्टीको शाख पनि बचाउनेछ । मान्छेहरू त कतिसम्म हिसाब राखेर, निगरानी गरेर बसेका छन् भने समानुपातिकमा फलानो नेतासँग नजिक रहेको फलानो फलानोले स्थान पाउनेछन् अथवा फलानोको टिकट त अकाट्य छ भन्दैछन् ।

यस्तो अवस्था आउनु भनेको नेतृत्वको चारित्रिक बदनामी पनि हो । हाम्रा कम्युनिष्ट पार्टीहरूभित्र हालत कस्तो छ भने सिनियर नेताहरूको हैसियत पनि हस् हजुरमा झरेको छ । अध्यक्षस“ग असहमति राख्ने क्षमता केन्द्रीय कमिटीलगायत माथि कुनै पनि तहका सदस्यहरूसँग देखिन्न । तलका त तलकै भैगए । ००७ सालमा मुक्त भएको हो यो देश तर कम्युनिष्ट पार्टीहरू भित्र आज आएर दासताको भ्रुण देखिनु लज्जास्पद मात्रै होइन दुखद कुरा हो । पार्टी एक्लै न कसैले बनाउन सक्छ, न कसैले चलाउन सक्छ न त चल्न नै सक्छ । संगठन, पार्टी, विचार, आन्दोलन, क्रान्ति सबै नै सामुहिक कामको रिजल्ट हो । हामी सबैको आत्मसम्मान समान हुनुपर्छ, न घटी न बढी ।

यो पटकलाई त सम्भव भएन तर यसलगत्तै उम्मेदवार चयन प्रणालीमा आमूल परिवर्तन गरी नयाँ र साँच्चिकै लोकतान्त्रिक विधि बनाउनु जरुरी भएको छ । त्यो भनेको सिफारिस प्रणाली नभएर आन्तरिक निर्वाचन प्रणालीमार्फत उम्मेदवार बन्ने प्रणाली हो । यस्तो हुनसक्यो भने चुनावदेखि चुनावसम्मको गोलचक्करबाट पार्टी मुक्त हुनेछ, चुनाव जित्न धन खर्च गर्ने र जितेर फेरि अर्को चुनाव जित्न धनार्जन गर्ने दुश्चक्रबाट पनि मुक्ति मिल्नेछ । घात र अन्तर्घात गरी आफ्नै पार्टीको उम्मेदवारलाई हराउने कामको पनि अन्त्य हुनेछ । अन्तकाकोसंग तुलना गर्नु त्यतिसाह्रै युक्तिसंगत नहोला । यदि आफू देशकै बेष्ट नेता बन्ने र पार्टीलाई देशको बेष्ट पार्टी बनाउने हो इरादा भने सेक्सपियरले जस्तै खाली खुट्टा सम्झेर रुने काम बन्द गर्न सक्नुपर्छ । प्राप्त राप, ताप र प्रतापलाई जोगाउने भनेको त्याग नै हो । योभन्दा धेरै त सल्लाह दिने ठाउँ पनि छैन ।

टिप्पणीहरू