विदेशबाट लेखिरहेछु सिद्धान्त र मृत्युको कथा

विदेशबाट लेखिरहेछु सिद्धान्त र मृत्युको कथा

– जानुका धमला

हामी संलग्न जनयुद्ध शासन व्यवस्थामा समावेशी समानुपातिक प्रतिनिधित्व, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, पिछडिएका वर्ग समुदायको उत्थान, उत्पीडित जातजाति तथा लैंगिक आरक्षणदेखि जनमानसमा विद्रोह गर्ने चेतनाको विकास गर्न सफल भयो तर आन्दोलनको नेतृत्व गरेर आएका नेताहरूले समेत भ्रष्टाचारको किन निर्ममतापूर्वक प्रतिरोध गर्न सक्दैनन् ? यसको सहज जवाफ सुन्न पाइन्छ आजकाल– कि यो व्यवस्थाभित्र पस्नै हुँदैनथ्यो, पसेपछि हुने नै यही हो । यत्तिका लागि मात्र थियो त १० वर्षे जनयुद्ध ? हिजो स्याउले छाप्रोमा बसी वर्गदुश्मनले देख्ला भनेर जनताले ल्याइदिएको मकैको आटो खाएका कमरेडहरू आज नजिक पर्नसमेत नचाहेकोे देख्दा गजबको अनुभूति गरेँ ।

आशा र विश्वासले भरिएको विचारले नै मृत्युलाई सामान्य तुल्याउँछ । पार्टीमा सहकार्य कमजोर र सत्तालाई जोड दिने कार्य विचारको विकासमा कमी हो । विचारमा दोधारपनले स्वाभिमान र आँटको स्खलन हुन्छ । दुनियाँ सबै बेवकुफ रहेको बुझाइ हुनेले विचारलाई हरेक तवरबाट गोलचक्करमा रहेको हेर्न र समाजलाई पश्चगमनतिर धकेल्न खोज्दै छन् । हजारौं योद्धा लड्न तयार भए, जसले बलिदान गरे, जो बेपत्ता भए, जसले जेलनेल भोगे र जसको अंगभंग भयो के उनीहरू विचारविहीन थिए ?

क्रान्ति भनेकै वर्गले लडाइ“ जित्नु हो । यहाँ श्रमजीवी सर्वहारा कहिल्यै विजयी भएकै छैन । मात्र उपभोगको साधन मात्रै बनेको छ । सुझाव सुन्नु, नसुन्नु अर्कै विषय हो तर भन्न–लेख्न छाडिन्न । जीवन बलिदान दिनेहरूलाई कहिलेकाहीँ सम्झिँदा पुग्ला तर जीवन बाँचेर कसरी अगाडि बढ्ने भन्नेहरूलाई आश्वासन र सपना बाँडेर मात्रै पुग्दैन । दिनानुदिन जीवनयापन गर्न सरल र सहज बनाउन सक्नु पर्छ । घाइते शरीरलाई बचाई राख्न औषधि हातमा लिएर नियाल्दा सहयात्री साथीहरूको सकारात्मक बिम्ब देख्न सक्नुपर्छ । सडकपेटीमा जनसेनाका योद्धाहरूले दिनहुँ जस्तो मृत्युवरण गर्दा केही असहज महसुस गर्नुपर्ने होइन र ? प्रत्येक दुःखका सुस्केरामा नेतृत्वले सराप खानुपरिरहेको यो अवस्थालाई जसरी भए पनि फेर्न अनिवार्य छ ।

आफ्नो नियति मान्छे आफैँले लेख्ने हो । भावी र भविष्यको कर्ता दैव होइन मान्छे आफैँ हो । आफ्नो प्रारब्धको निर्माण पनि मानिस आफै“ले गर्ने हो । अब फेरि हामी आफैँसँग निर्मम ढंगले प्रश्न गर्न आवश्यक छ । के हामी बस्ने घर, हामीले प्रयोग गर्ने महँगा सामान, हिमचिम बढेका नया“ सम्बन्ध, व्यक्तिगत सपना, सन्तानका भविष्यसँग मात्रै सीमित थियो महान उथलपुथलको एक दशक ? हैन भने हामीले गन्तब्य प्राप्त गर्न भुलेको बाटो हिँडिरहेर पुगिँदैन । अलि अलमलमा परियो भन्ने लागेको हो भने ठीक बाटो हि“ड्नुपर्छ । सिद्धान्त एउटा बताउने, व्यवहार पुँजीवादको गर्र्ने यस्ता दलाल जहाँ भए पनि अस्तित्व सुरक्षित गर्न नसकेर कोल्याप्स हुन्छन् ।

जो गुट चलाउनमा मस्त छ, आफ्नो गुटमा लाग्ने जस्तो भए पनि उसैलाई योग्य देख्छ, उही पार्टी संगठनको हर्ताकर्ता हुन्छ । जसले पद प्राप्तिका लागि जुनसुकै हत्कण्डा अपनाउँछ, उही योग्य र अगुवा बनेको छ । जसले आन्दोलनद्वारा निर्मित सार्वजनिक व्यक्तित्व/जिम्मेवारीको दुरूपयोग गरेर अकुत सम्पत्तिको मालिक बन्छ, उही पार्टी प्रशिक्षक छ । जसले आफू, परिवार, आफन्त र नातागोतालाई लाभको पदमा ल्याउन मरिहत्ते गर्छ, उही पार्टी जिम्मेवारीको पजनीकर्ता भएको छ । यस्ता गुटीय मुखिया प्रवृत्तिविरुद्धः आलोचनात्मक धारणा राखौं । पदका लागि गुटको कार्यकर्ता बन्न अस्वीकार गरौं । गुटीय मुखिया (कसैको पनि गीत गाउनु द्वन्द्ववादविरुद्ध हुन्छ) हरूको गीत गाएर न राजनीतिक भविष्य सुरक्षित हुन्छ, न त समाज रूपान्तरणको अगुवा बन्न नै सकिन्छ भन्ने तथ्य बेलैमा बुझाैँ । आफ्नो स्वत्वसहित विचारको बहसमा स्वतन्त्रतापूर्वक सक्रिय बनौं । बल्ल हामी कम्युनिष्ट बन्न सक्ने सम्भावना देखा पर्छ । हाम्रो कामले समाजवादी आधार निर्माण हुने सम्भावना बढ्छ ।

आज नेपालका कैयाैँ गाउँघर युवाविहीन छ, सायदै गाउँहरू होलान् जहाँका युवा आफ्नो भविष्य खोज्दै यौवनको उर्वर समय विदेशी भूमिमा बिताइरहेका नहोउन् । यो गाउ“को आजको वास्तविक चित्र हो । साँच्चै युद्ध विजय र पराजयको मात्र होइन मृत्युको कथा पनि रहेछ ।

टिप्पणीहरू