संसदमा काँग्रेस र एमालेका सांसदहरुको जुहारी

संसदमा काँग्रेस र एमालेका सांसदहरुको जुहारी

‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि दफावार छलफलका क्रममा प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्ष सांसदहरुबीच जुहारी चलेको छ । विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका दुवै पक्षमा सांसदहरुले बोल्ने क्रममा घोचपेच गरेका हुन् ।

एमाले प्रमुख सचेतक विशाल भट्टराई, सांसदद्वय शेरबहादुर तामाङ र गोकुल बाँस्कोटाले संशोधन प्रस्ताव पेस गर्दै सरकार र सत्तारुढ दलप्रति आक्रामक अभिव्यक्ति दिएपछि काँग्रेसका सांसद प्रकाश रसाइलीले मुखभरिको जवाफ फर्काइदिए । एमाले सांसदहरुले एक्लै चुनाव लड्न गठबन्धनमा आबद्ध दलहरुलाई चुनौती दिएका थिए । बालुवाटारमा गठबन्धनको बैठक बसेकोप्रति आपत्ति जनाउँदै खर्च राज्यकोषले व्यहोर्नुपरेकोमा उनीहरुले आपत्ति जनाए ।

त्यसपछि संशोधन प्रस्ताव पेस गरेका काँग्रेस सांसद रसाइलीले मध्यराति संसद विघटन गर्ने एमालेका सांसदले ठूला कुरा गर्न नसुहाउने भन्दै कटाक्ष गरे । उनले भने, ‘मध्यराति संसद विघटन गर्ने, संसद चाहिँदैन भन्ने, अहिले त्यही सांसद पदको लागि भोट माग्दै हिँड्ने ?’

सत्ता गठबन्धनलाई अपवित्र भनेकोमा पनि उनले एमाले सांसदहरुलाई जवाफ फर्काएका थिए । ‘आफूले गठबन्धन गर्दा पवित्र हुने तर अरुले गर्दा अपवित्र हुने ?,’ उनले भने, ‘हिजो एमालेले पनि गठबन्धन गरेर गएको थियो, त्यतिखेर काँग्रेस एक्लै लडेको थियो । अहिले अरुले गठबन्धन गर्दा कसरी अपवित्र हुन्छ ?’

तर काँग्रेस र एमालेका सांसदले प्रतिनिधिसभाको कार्यकाल मनोनयन दर्तासँगै सकिनुपर्ने प्रस्ताव गरेका छन् ।

टिप्पणीहरू