छोरी पाउनेलाई पुरस्कार, सासु–ससुरा स्याहार्नेलाई सम्मान

छोरी पाउनेलाई पुरस्कार, सासु–ससुरा स्याहार्नेलाई सम्मान

छोरी जन्माएपछि परिवार नियोजन गर्ने दम्पतिलाई पुरस्कृत गरिने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १२ ले एउटा वा दुई वटा छोरी जन्माएर परिवार नियोजन गर्नेलाई प्रमाणपत्रसहित ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

‘अंश र वंश’ को मान्यतालाई न्यूनीकरण गर्न सानो प्रयासको थालनी गरिएको वडाध्यक्ष सन्तोष बाँस्तोलाले बताए । छोरीको महत्व नबुझ्ने र छोरामोह पर्ने गरेको हुँदा यो अभियान ल्याएको उनको भनाइ छ । यसले छोरामाथिको मोह केही हदसम्म कम हुने उनको विश्वास छ । उनकाअनुसार पहिलो वर्ष पाँच दम्पत्तिलाई सम्मान गर्ने लक्ष्य राखिएको छ ।

यसका लागि वडाले दुई लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । थप बढ्दै गएमा पुरस्कार पनि थपिँदै लैजाने उनको भनाइ छ । त्यस्तै, वडाले सासु–ससुरा पाल्ने असल बुहारीलाई लक्षित गरेर सम्मान कार्यक्रम पनि ल्याएको छ । सासु–ससुरालाई गरेको व्यवहार हेरेर बुहारीलाई प्रोत्साहनस्वरुप सम्मान गरिने बताइएको छ ।

टिप्पणीहरू