कानुनको कुरो, सचिवको चुरो

कानुनको कुरो, सचिवको चुरो

कानुन मन्त्रालयका सचिव राजीव गौतमले आजदेखि अवकाश पाएका छन् । रिक्त सचिवमा वरिष्ठताको आधारमा सहसचिव धनराज ज्ञवालीले कायम मुकायम पाउनेछन् ।

उता प्रधानमन्त्री कार्यालयका सचिव डिल्ली घिमिरेको पनि जेठ १५ गतेदेखि भएको अवकाशका कारण अब दुईजना सहसचिव बढुवा हुने बाटो खुलेको छ । वरिष्ठताको आधारमा ज्ञवाली र अर्थ मन्त्रालयका सहसचिव उदयराज सापकोटा हुने पक्का छ । बढुवा भएपछि पदस्थापनाचाँहि कसलाई कहाँ भन्ने पनि हुनसक्ने अड्कल लगाइएको छ ।

प्रशासनिक प्रक्रियाअनुसार कानुन सचिवको औपचारिक रिक्तता आज घोषणा भएपछि भोलि न्याय परिषदले दुईजना सचिव बढुवाको लागि सिफारिश गर्नेछ । सम्भवतः भोलिको क्याबिनेट बैठकले सचिव नियुक्त गर्नेछ । ज्ञवाली र घिमिरेमध्ये को कानुन सचिव हुने ? भन्ने अड्कल मन्त्रालयका कर्मचारीले पनि लगाउन सकेका छैनन् । ‘मन्त्रीज्यू साह्रै रिजर्भ बस्नुभएको छ, केही भेउ नै दिनुभएको छैन’ एकजना उपसचिवको धारणा ।

मन्त्री शिवमायाँ तुम्बाहाम्फे पाएसम्म महिलालाई उठाउन पाए हुन्थ्यो भन्ने सोचमा देखिनुभएको छ । सम्भावित उम्मेदवारमध्ये तीन नम्बरमा एकजना महिला छिन् । तर, निजामतीतर्फ त्यसमा पनि सचिवमा नियमानुसार क्रमैसँग बढुवा हुने चलनले तीन नम्बरमा रहेकी सहसचिव लीलादेवी गड्तौलाको सम्भावना अहिलेलाई देखिँदैन । तेह्रथुमकी गड्तौलाप्रति महिला मन्त्रीको चाहना हुनु कुनै अचम्म पनि भएन । आखिर मन्त्रीकै गाउँले चेली जो हुन्  ।

टिप्पणीहरू