प्रवासी सम्मेलनमा माधव नेपाल नजाने

प्रवासी सम्मेलनमा माधव नेपाल नजाने

नेकपा एकीकृत समाजवादीको प्रवास संगठन ‘प्रवासी नेपाली एकता मञ्च अमेरिका’ ले राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

‘सामाजिक अभियानमा सहभागी बनौँ’ भन्ने मूल नाराका साथ आगामी सेप्टेम्बर १७ र १८ तारिखमा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा सहभागी हुन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएतापनि उहाँले आफू व्यस्त रहेकाले सरिक नहुने बताउनुभएको मञ्चले जनाएको छ ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारीमा जुटेकाले अमेरिका आउने सम्भावना नरहेको जनाइएको हो ।

तर,उहाँले अनलाइन जुममार्फत सम्मेलनको उद्घाटन गर्ने तय भएको मञ्चका अध्यक्ष टेकबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

अमेरिकामा रहेका नेपाली समुदायलाई कसरी सशक्त बनाउने भन्ने विषयमा सम्मेलनमा छलफल गरिने उहाँको भनाइ छ ।

पुराना र नयाँ पुस्ताको सोचमा के भिन्नता छ भनेर छलफल गर्न उच्च कक्षामा अध्ययनरत विद्यार्थीलाई पनि प्रोत्साहन वक्ताका रुपमा सहभागी गराउने मञ्चले जनाएको छ ।

सम्मेलनको आयोजनाका लागि एक सय एक सदस्यीय आयोजक समिति तथा विभिन्न १० वटा विभाग बनाएर तयारी भइरहेको छ ।

२५ राज्यबाट एक सय बढी प्रतिनिधिले सम्मेलनमा भाग लिने र नयाँ नेतृत्व पनि चयन गरिने महासचिव शंकर पन्तले बताउनुभयो ।

टिप्पणीहरू