दक्षिण कोरियामा आँधी, जनजीवन अस्तव्यस्त

दक्षिण कोरियामा आँधी, जनजीवन अस्तव्यस्त

दक्षिण कोरियामा आज आएको हिन्नामनोर नामक आँधीका कारण देशको दक्षिणी भागका हजारौँ मानिस प्रभावित भएका छन् । आँधीको कारण सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ ।

आँधी प्रभावित क्षेत्रमा मुसलधारे वर्षा र हावाहुरी समेत चलेको अधिकारीहरूले बताएका छन् । सेन्ट्रल डिजास्टर एण्ड सेफ्टी काउन्टर मिजरको कार्यालयले पूर्वी तटीय सहर उल्सानस्थित एउटा खोलामा आएको बाढीमा परी २५ वर्षीय व्यक्ति बेपत्ता भएको जनाएको छ ।

हिन्नामनोर आँधी बन्दरगाह सहर बुसान नजिकै पुग्नुअघि दक्षिणी टापु छेजुदोमा ठोक्किएको थियो । आँधीका कारण त्यहाँका हजारौँ मानिस विद्युतको अभावमा जीवन बिताइरहेका छन् ।

आँधीका कारण समुन्द्रको छालले समुद्र तटमा रहेका बजार र भवनमा ठूलो क्षति पुगेको छ । आँधी ४३ मिटर प्रति सेकेन्डको वेगमा अघि बढेको अधिकारीहरूले बताएका छन् ।

उक्त आँधी कोरियाली प्रायद्वीपबाट स्थानीय समयअनुसार बिहान ७ बजेपछि दक्षिण पूर्वी सहर उल्सानहुँदै तटीय सहर जियोजेमा पुगेको थियो ।

टिप्पणीहरू