गोविन्दीको हाँस्दै रुदै एक्लो जीवन गाथा

गोविन्दीको हाँस्दै रुदै एक्लो जीवन गाथा

निःसन्तान हुनुको पीडा भोग्नेलाई मात्रा थाहा हुन्छ । तिनको पीडा देख्ने, हेर्ने त केवल दर्शक न हुन् नाटकघरमा नाटक हेर्न गएजस्तो । कविले प्रकृतिलाई नियालेर कविता खिपेजस्तो । देखेको कुरा लेख्ने कविलाई के थाहा वास्तविक पीडा भोग्नेको दर्द । तैपनि कवि पीडित बनेर कविता कोर्छ । तर, वास्तविक जीवनको गहिराइमा पुगेर कविता कोर्न असम्भव छ । कविता र उपन्यास उस्ताउस्तै लाग्छ । यही दर्दनाक व्यथाका पोकाहरूको संगालो हो योचाहिँ ।

उमेरले सात वसन्त पार गरिसक्यो । तैपनि उनमा अझै उत्तिकै जोश जाँगर छ । पीडा भए पनि दबाएर हाँस्छिन् । पीडा कसैसँग देखाउँदिनन् । अब त पीडा नै उनको सारथि बनेको छ । पीडैपीडाले भरिएर सगरमाथा बनेकी उनी सबैलाई बराबरी देख्छिन् । रित्तो घरजस्तै रित्तो उनी जिन्दगीलाई नयाँ बुट्टाले भरिरहेकी छन् । दैनन्दिन आफ्नै चौपाया वस्तु भाउसँग, रित्तो घरसँग, रूखसँग, घरको आँगनसँग, चुलोसँग बात मार्छिन् । श्रीमान् बितेको दशक बित्यो । तैपनि, एक्ली छैनन् उनीसँग रित्तो घर, वस्तुभाउ र घु¥यानबारी छन् । उनीहरूसँगै धीत मरुन्जेल बात मार्छिन् ।

गोविन्दी चाहँदा चाहँदै निःसन्तान भइन् । सन्तानको आशा गर्दा गर्दै केश फुल्यो, आशा मर्यो । सन्तान प्राप्तिका लागि धामी, झाँक्री, सबै देवीदेवताको अनेक भाकल गरिन् । तर, देवताले उनको कुरा सुनिदिएन । तैपनि, सन्तानका लागि देवता पुकार्न छाडिनन् । अहिले देवता होइन गाईवस्तु फकाउँछिन्, कुखुरालाई हेरेर बात मार्छिन् । घरलाई सन्तान सम्झिएर दुःख पोख्छिन्, हाँस्छिन् तर रुँदिनन् । रुँदा–रुँदा जिन्दगीले हाँस्न सिकायो । त्यहीँ हाँसोले बाँच्न र नाच्न सिकाइरहेछ । हो, गोविन्दी रुँदारुँदै हाँस्छिन्, आँसु खसाल्दिनन् । आँशु खसाल्नु झन् अभाव खट्किनु हो भन्छिन् गोविन्दी ।

नाम फेरियो– हिरालक्ष्मी हराएर गोविन्दी बन्यो । श्रीमान् गोविन्दबाट नाम गोविन्दी रह्यो । विवाहपछि सबैले हिरालक्ष्मी होइन गोविन्देकी श्रीमती गोविन्दी भनेर डाके । र, उनको अजम्बरी नाम गोविन्दी दिदी, भाउजू, फुप रह्यो । खोटाङको बुइँपाबाट एँसेलुखर्क विवाह गरेर आएकी हिरालक्ष्मीसँग अनेक भावनाका पोखरी थिए । त्यही पोखरीमा ढुंगा होइन डुंगा चलाउँथिन् । डुंगामा आफूसँगै श्रीमान् र सन्तानलाई सयर गराउँथिन् । मनको पोखरीको गहिराईमा डुबुल्की मार्थिन् । तर, सपनाबाट ब्युँझिँदा यी सब व्यर्थ भइदिन्थे ।

आजको प्रविधिको युग त्यतिबेला भइदिए हीरालक्षीसँग दुःख भुलाउने सन्तान (कृत्रिम) हुन्थे होलान् । बात मार्थे होलान् । सन्तानको मोह कुन अभिभावकलाई हुँदैन ? भनाइ नै छ– अन्नबाली राम्रो अर्काको, सन्तान राम्रो आफ्नो । तर पनि हिरालक्ष्मीलाई यो भनाइले न छुन्छ न उनी यसको वास्ता गर्छिन् । उनी त सबैलाई बराबरी देख्छिन् । सजीवलाई निर्जीव, निर्जीवलाई पनि सजीव । उनी एउटा पुस्तक बनेकी छन् ।

आफूसँग सन्तानको टुक्रा नहुँदा मन कस्तो भइदियो होला ? कति रात भोकै सुतिन् होला ? कति रात सिरानीमा आँशु चुहाइन् होला ? यो त उनका बितेका श्रीमान् गोविन्द (अजम्बर)ले पनि चाल पाएनन् । न कहिल्यै सोधे ? श्रीमान्ले गोविन्दीलाई सम्झाउँथे, चित्त बुझाउँथे– ‘तेरो र मेरो कोख नै यो जुनीमा दैवले रित्तो पठाइदिए । भो, चिन्ता नले ।’ यसरी नै दुवैको हिउँद, वर्षा कट्यो । हिउँद, वर्षा काट्दा काट्दै गोविन्दले पनि संसार त्यागेर सदाका लागि बिदा भए । सायद अहिले विपनामा होइन सपनामा बात हुँदो हो ।

घरको गुँडमा एक्ली भँगेरी बनेकी गोविन्दी अतित सम्झँदै पिँढीमा बस्छिन् । टोलाउँछिन्, सायद त्यहाँ सन्तान नहुनुको पीडाको करेन्ट लागिरहेको हुन सक्छ । श्रीमान् हुँदा भोक–तिर्खा मेटिन्थ्यो तर श्रीमान्ले छाडेर गएपछि रित्तो गाग्री छन् । न उनलाई चाड, न हर्ष, न भेटघाट, न रमझम । सबै संसार सुक्खा पहिरो । महिनै बिरामी हुँदा पनि कसैलाई थाहा हुँदैन, बिरामी भएँ भनेर पनि भन्दिनन् । संसार नै अँध्यारो छ । उज्यालो नियाल्दा नियाल्दा अँध्यारोको सारथि बनेकी गोविन्दी अब उज्यालो होइन अँध्यारो रोज्न चाहन्छिन् ।

ऋाज सन्तान भइदिएको भए गोविन्दीलाई गाउँलेले गाउँ टोकुवाको दोष लगाउँदैन थिए होला ? उनी जहाँ–जहाँ सन्तानको मोहले अरुका सन्तान चियाउन जान्छिन् त्यहाँ उनलाई गाउँ टोकुवाको आरोप लगाइन्छ । सन्तानको अभावले कैयौँपटक त्यसरी जाँदा अभिभावकको गाली खाइन्, कति ठाउँमा त कुटाइसमेत भेटिन् । तर, आरोपलाई सहर्ष स्विकारेर जीवनसँग कुस्ती खेलिन् । अपहेलना सहेरै विवाह, पास्नी, कूल पितृमा जान्छिन् । विवाहमा अरुले जति सघौँ (सहयोग रकम) गर्छन् त्यति नै गर्छिन् । मक्किइसकेको पोल्टाको थैली फुकाउँछिन् र चानचुनै चानचुन पैसा दिन्छिन् । उनलाई के थियो सघौँ गर्नुपर्ने बाध्यता ? जिन्दगी नै गुमाएकी उनी पोल्टाभरि पैसा खाँदेर बस्न चाहँदिनन् ।

श्रीमान्का भाइ अर्थात् देवर पनि छन् । उनका छोराछोरी छन् । तर, गोविन्दीदेखि सबै टाढा । न भाउजूको हालखबर सोध्न कुनै दिन देवर जान्छन् न त घरका अरू सदस्यहरू नै ! केही समयअघि शारीरिक अशक्त बनेका देवरलाई भाउजू कुनै नदीपारिको साइनोविहीन मान्छे लाग्छ । दुःख, बिमार हुँदा कुनै गाउँलेले चाल पाएर बोलाए भने धन्न नत्र गोविन्दी उही शून्यताको घरमा एक्लै जीवन–मृत्युसँग बात मार्छिन् । आँगन छाडेर घरभित्रै बस्न सक्दिनन् । गाईगोठ जानु छ, बात मार्नु छ, कुखुरालाई मायाले चारो खुवाउनु छ ।

माइतको सुख सयलमा हुर्केकी गोविन्दी दुलही बनेर भित्रिँदा अनेक सपना थिए । तर, सपना सपनै बन्यो । छोराछोरी नहुँदा पनि समाजमा उत्तिकै सक्रिय थिइन्, अझै छिन् । ज्यानले ७० बसन्त पार ग¥यो तैपनि ज्यानलाई हिँडाइरहेकी छन् । वृद्ध भत्ताबापत थापेको रकमले जीवन चलाइरहेकी गोविन्दीसँग अरू उपार्जनको बाटो छैन । चाडपर्वमा त्यही वृद्धभत्ताको पैसाले गाउँका मानिसलाई बोलाएर खुवाउँछिन् । कोही गाउँले उनको चित्त बुझाउन आउँछन् तर धेरैचाहिँ बोलाउँदा आउँदैनन् । तिहारमा माइती घर होइन छोरी चेलीकहाँ गएर फूलमाला लगाउँछिन् । पुरानो थैली खोल्छिन्, वृद्ध भत्ताबाट प्राप्त रकम फूलटीकास्वरुप दक्षिणा दिन्छिन् ।

भत्ता थापेको दिन सकीनसकी दिनभर लगाएर गाउँ डुल्छिन् । अरुका सन्तानलाई आफ्नै सन्तान ठानेर कसैलाई पैसा त कसैलाई केही किनेर खुवाउँछिन् । गोविन्दीले खुवाएको वा दिएको देख्ने अभिभावक उनीसँग चिढिएर आफ्ना सन्तान उनीबाट खोस्छन् । सारा जिन्दगीदेखि नै हारेकी गोविन्दी जसले जे गरे पनि आफ्ना कर्म गर्न छाड्दिनन् । एक मुठी खुशीको हाँसो हाँस्छिन् अरुका सन्तान देखेर ।

अरुका सन्तानलाई माया गरेको बदलामा गाउँलेको टोकसो सहन्छिन् । तर उनलाई गाउँ नै शून्य लागिसक्यो । उनलाई बुझ्ने र बुझ्न चाहने को छ र गाउँमा ? बुझ्नेहरू पनि बुझ्न चाहँदैनन् । किनकि उनीहरूसँग कहाँ गोविन्दीको मनको व्यथा, पीडा बुझ्ने समय छ र ? उनीहरू त सकभर आफू र आफ्नो सन्तान गोविन्दीलाई भेट्न दिँदैनन् ।

– नवीन चाम्लिङ

टिप्पणीहरू