कानेखुसी गर्दागर्दै प्रधानमन्त्रीको नाम घोषणा

कानेखुसी गर्दागर्दै प्रधानमन्त्रीको नाम घोषणा

बैठकहरुमा कानेखुशी त चल्छन्, तर कोही व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्नेजस्तो महत्त्वपूर्ण जिम्मेवारी पनि कानेखुशीमै फत्ये गर्नुपर्ने स्थिति रहेछ, नेकपा एमालेमा ।

पार्टीका तर्फबाट आगामी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी ओलीलाई अगाडि सार्ने निर्णय गर्नुअघि नेताहरु बीच एकछिन कानेखुशी चल्यो, अनि प्रस्ताव पेश गर्दागर्दै, त्यसउपर छलफल पनि नचलाई पारित भएकै घोषणा गरियो । यसरी कुनै लिखित प्रस्ताव वा बैठकमा पेश गरिएको पूरक प्रस्तावबाट हैन, केपी ओली कानेखुशीका भरमा ‘भावी प्रधानमन्त्री’ का रुपमा अगाडि सारिनुभयो ।

बैठकको अन्त्यमा उपमहासचिव प्रदीप ज्ञवालीले कागजमा लेखिएका विभिन्न प्रस्तावहरु पढ्दापढ्दै अध्यक्ष केपी ओलीले महासचिव शंकर पोखरेललाई आफूतिर तान्नुभयो र कानेखुशी गर्नुभयो । उहाँहरुको साउती सकिनासाथ फेरि महासचिव शंकरले उपमहासचिव प्रदीपलाई त्यसरी नै आफूतिर तान्नुभयो र कानेखुशी गर्नुभयो । यो कानेखुशी सकिनासाथ प्रदीपले भन्नुभयो, ‘हाम्रो पार्टीको तर्फबाट आगामी प्रधानमन्त्रीका रुपमा अध्यक्ष क.केपी शर्मा ओलीलाई प्रस्ताव गरिन्छ ।’ तर, त्यो कुरा उहाँले पढिरहनुभएको कागजमा लेखिएको थिएन । प्रदीपले प्रस्ताव पढिसक्दा बैठकमा ताली बज्यो र प्रस्ताव पारित भएको घोषणा त्यसलगत्तै गरियो ।

एमाले मुख्यालय च्यासलमा नेताहरु त्यसलगत्तै चर्चा गर्दै थिए, ०७४ को एउटा घटनाको । त्यसबेला ओली पार्टीमा बहुमतमै हुनुहुन्थ्यो । तर, झण्डैझण्डै संसदीय दलको नेताका निम्ति चुनाव झेल्नुपर्ने अवस्था आइलाग्यो । तत्कालीन उपमहासचिव घनश्याम भुसालले केही नेतासँग सल्लाह गरेर दलको नेतामा आफ्नो उम्मेदवारी पेश गर्ने तयारी गर्दै थिए । झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमसँग यसबारे सल्लाह पनि भयो । यो कुरा यीमध्ये कुनै नेताले ओलीकहाँ पुर्याए । दुई–चार दिनमा बस्ने भनिएको संसदीय दलको बैठक तुरुन्तै बोलाइयो । बैठकमा जाँदाजाँदै माधव नेपालले ओलीको नाम प्रस्ताव गर्नुभयो । त्यसअघि ओली र माधव नेपाल एउटै गाडीमा सिंहदरबार पुग्नुभएको थियो । माधवले यस्तो प्रस्ताव गर्नासाथ झलनाथले घनश्यामलाई सोध्नुभयो, ‘खोई त, संसदीय दलमा उठ्ने मान्छे ?’ माधव नेपालले नै ओलीको नाम प्रस्ताव गरेपछि घनश्यामसँग बोल्न ठाउँ नै भएन । हेरेको हे¥यै भए । शायद अहिले पनि ओलीलाई घनश्याम वा भीम रावल टाइपका कोही ज्याद्रो मान्छेले दाबेदारी पेश गरेर आफ्नो निर्विकल्प उम्मेदवारीउपर चुनौती देलान् भन्ने पिर पर्नाले कानेखुशीबाटै प्रस्ताव राख्न लगाएर पारित गराउनुभयो ।

त्यसो त एमालेको यो बैठक निर्वाचन आयोगमा माइन्युट बुझाउनमात्रै गरिएको भन्ने चर्चा छ । नत्र, साढे सात महिना नबसेको बैठक निर्वाचनको मुखमा किन बस्यो ? बैठकमा छलफल गर्न ११ वटा समूह बनाइयो । १० बजे बैठक बोलाएर बीचैमा पार्टी प्रवेश कार्यक्रम राखियो र १२ बजे बल्ल शुरु भयो । ३ बजे बैठक सिध्याएर तिजको कार्यक्रमका लागि अध्यक्ष ओली हतार–हतार बानेश्वरको एभरेष्ट होटलमा हार्मोनियम र गितार बजाउन जानुभयो । बैठकमा विभिन्न केन्द्रीय सदस्य र नेताहरुले सुझाव दिएका थिए । त्यसबारेमा एक लाइनमा कुरा टुंग्याइयो, ‘प्राप्त सुझावहरु अध्यक्षले मनन गरेर समावेश गर्ने ।’ अर्थात्, छलफल नगर्ने, अध्यक्षले मात्रै मनन गरे पुग्ने ।

को दोहोरिने, कसको नाम काटिने ?

अध्यक्ष केपी ओलीलाई सुर चल्यो भने एमालेभित्र केमात्रै हुँदैन र ?

७० वर्षीय हुनु केही दिनअगाडि आफूलाई अनुकूल हुनेगरी चितवनमा १०औं महाधिवेशन गराउनुभएका उहाँले आफूभन्दा कान्छाकान्छीलाई नै उमेरहद लगाई जिम्मेवारीबाट बिदामात्रै गर्नुभएन, अब अघिल्लो निर्वाचनमा समानुपातिकबाट जितेका कसैलाई पनि दोहोर्याएर त्यही प्रणालीअन्तर्गत उम्मेदवार नबनाउने भनी एउटा बैठकमा भन्नुभयो । अर्को बैठकमा पुग्दा ‘कोही त पर्न पनि सक्छन्’ भनेर बोली फेर्नुभयो । प्रत्यक्षतर्फ चुनाव लड्न अनिच्छुक युवराज ज्ञवाली, रामबहादुर थापा (बादल), राधा ज्ञवाली, अष्टलक्ष्मी शाक्य, तीर्था गौतम, माया ज्ञवालीहरु यो मापदण्डभित्र पर्ने खतरा छ ।

सुनिँदैछ– यसचोटि उहाँले केही व्यक्तिलाई राम्रैसँग सिंगारेर संसद छिराउने तयारी गर्नुभएको छ । जस्तो– ‘मेडिकल माफिया’ भनी चिनिएका दुर्गा प्रसाई र अखिल अध्यक्ष सुनिता बराललाई मिले झापाबाट, नमिले समानुपातिकबाट तान्न खोज्दै हुनुहुन्छ । मदन भण्डारीपुत्री उषाकिरण भण्डारीलाई सकेसम्म काठमाडौं– २ बाट, नभए समानुपातिकमा ल्याउने तयारी छ । कोमल वलीलाई टिकट दिइयो भने ‘विद्रोह हुन्छ’ भन्दै दंगाली नेताहरु कराउन थालिसकेका छन् । त्यसमाथि महासचिव शंकर पोखरेलले चुनाव लड्ने क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा उठ्ने भएपछि उहाँ कोमल वलीले लड्ने भनिएको तुलसीपुर भेगमा जाने सम्भावना छ । यदि त्यस्तो भयो भने वलीलाई पनि समानुपातिकबाट तान्ने काम हुनसक्छ ।

कञ्चनपुरबाट निरुदेवी पाललाई प्रत्यक्षमा उठाएर डा.दिपकप्रकाश भट्टलाई समानुपातिकको मुन्तिर नाम हालिदिने कुरा चलेको छ । बाजुराबाट कर्ण थापालाई ल्याएर अहिलेका सांसद लालबहादुर थापालाई मन्त्री हुने गरी प्रदेशमा उठाउने भनिएको छ । सुदूरपश्चिममा भर्खरै एकीकृत समाजवादी त्यागेर फर्किएकी समानुपातिक सांसद वीना बुढाथोकी, कञ्चनपुरको बेदकोट नगरका पूर्वमेयर अशोक चन्दहरुलाई संघीय संसदमा लैजाने आश्वासन त दिइएको छ । तर, निरुदेवीसहित सबैको निर्वाचन क्षेत्र एउटै हुँदा कसरी मिलाउने भन्ने टुंगोमा पुगेको छैन । गोकुल बाँस्कोटा, महेश बस्नेतहरुले काभ्रे र भक्तपुरबाट सजिलै जित्छन् भन्ने ओलीलाई परेको छ । त्यसो त ‘भारी’ मानिने कांग्रेस उम्मेदवार तथा महामन्त्री गगन थापाले यसचोटि काठमाडौं– ४ हारेर त्यहाँबाट डा.राजन भट्टराई आउँछन् भन्ने रिपोर्टिङ बालकोटलाई गरिएको छ ।

कास्कीको अन्तर्विरोध हल गर्न विद्या भट्टराईलाई समानुपातिकमा राख्ने तयारी छ । रवीन्द्र अधिकारीको निधनपछि उनकी पत्नी तथा पूर्वविद्यार्थी नेतृ विद्याले पतिको क्षेत्रबाट प्रत्यक्षमा उपचुनाव जितेकी थिइन् । मोरङ– १ बाट डा.शिवमाया तुम्बाहाङ्फे र ऋषि पोखरेललाई ल्याउनुपर्ने कारण अहिलेका सांसद घनश्याम खतिवडालाई प्रदेशतिर पठाउने सोच बनेको चर्चा बालकोटमा छ । मोरङबाटै भानुभक्त र विनोद ढकाललाई पनि ल्याउनुपर्ने उहाँको मान्यता छ । लालबाबु पण्डितको क्षेत्रचाहिँ राप्रपालाई दिएर त्यहाँबाट हिरोइन रेखा थापालाई जिताउन चाहनुभएको छ । धरानमा मेयर हारेकी मञ्जु भण्डारीलाई सके प्रत्यक्षबाट, नत्र समानुपातिकबाट ल्याउने वचन दिइसक्नुभएको बुझिएको छ ।

भोलि पार्टीले प्रधानमन्त्री पाउँदा वैकल्पिक दावेदारका रुपमा खडा हुनसक्ने मान्छेहरुलाई रोक्ने अर्को चिन्ता छ । भीम रावललाई टिकट नै नदिएपछि उनको जाने ठाउँ कतै छैन भन्नेमा उहाँ हुनुहुन्छ । ईश्वर पोखरेललाई काठमाडौं– ५ बाटै टिकट दिने, तर भित्रभित्रै त्यही क्षेत्रका जिल्ला अध्यक्ष दीपक निरौलाहरुलाई ‘पहिलाजस्तो जोर–जुलुम लगाएर जिताइरहनुपर्दैन है’ भनिसकिएको चर्चा बालकोटमा सुनिन्छ । घनश्याम भुषालको क्षेत्र तालमेलका क्रममा राप्रपालाई दिएर ‘हिस्स बूढी, हरिया दाँत’ बनाइने सम्भावना छ । रामबहादुर थापा (बादल) लाई ‘पाइयो भने राष्ट्रपति बनाउने, नत्र राष्ट्रियसभा खालि हुँदा पठाउने’ भनी थामथुम पार्ने तयारी छ ।

यसअघि स्थानीय निर्वाचनमा पनि कतिपयलाई दिइएका टिकट खोसिएको थियो । त्यसमध्ये ओली आफैँले सीधै टिकट दिएका सबैजसोले हारे । यसचोटि त ‘केन्द्रीय कमिटी बैठक’ भनिए पनि कार्यकर्ता भेलाझैँ बनाइयो । न कुनै एजेण्डामा छलफल भयो, न कसैका फरक मत नै दर्ज हुन पाए । जबकि, लेनिनवादी संगठनात्मक प्रणालीमा ‘जनवादी केन्द्रीयता’ को सिद्धान्त अबलम्बन गरिन्छ । कमिटी प्रणालीमा आधारित बहस र छलफलको विधिबाट निश्कर्षमा पुग्नु पर्ने हो । वाम एकताको विषय पनि बैठकमा ल्याइयो । तर, छलफलमा लगिएन । अर्थात्, बैठकको तरिका नै अपनाइएन । आफूलाई प्राधिकार लिनका लागि बैठक बोलाइयो भन्ने अधिकांश नेताको गुनासो छ । नेताहरु चर्चा गर्छन्, ‘उहाँले पहिला पनि प्रधानमन्त्री हुनमात्रै पार्टी एकता गर्नुभयो । प्रचण्डलाई दिनुपर्ने भएपछि एकता भंग गराउनुभयो ।’

टिप्पणीहरू