पाथीभराबाट फर्केर कामु प्रधानन्यायाधीश सोझै सुदूर पश्चिम

पाथीभराबाट फर्केर कामु प्रधानन्यायाधीश सोझै सुदूर पश्चिम

इजलासमा मुद्दा हेर्न छाड्नुभएका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आज सुर्खेत,बाजुरा र बझाङ जान लाग्नुभएको छ । गत बिहीबारदेखि इजलासमा बस्न छाड्नुभएका उहाँ शुक्रबार पाथीभरा गएर हिजो राजधानी फर्कनुभएको थियो ।

भोलि बझाङ जिल्ला अदालत भवन उद्घाटन गर्न उहाँ आज नेपालगञ्ज हुँदै त्यसतर्फ जान लाग्नुभएको बताइन्छ । सोही क्रममा खप्तड जाने र बाजुराको बडिमालिका दर्शन गर्ने कार्यक्रम मिलाइएको स्रोतको दाबी छ ।

दुई वर्षअघि बनाइएको उक्त जिल्ला अदालत भवन घर जाने बेलामा उद्घाटन गर्ने र मन्दिर दर्शन गर्ने मेसो मिलाइएको हो । अवकाश हुनु एक महिनाअघि मुद्दा हेर्न छाड्ने चलन छ ।उहाँ आज दिउँसो २ बजे काठमाडौंबाट नेपालगञ्जसम्म श्री एअरलाइन्सको उडानमा जाने र त्यहाँबाट ३ बजे सेनाको हेलिकप्टरमा सुर्खेत पुगेर पश्चिम पृतना हेडक्वार्टर,सुर्खेत मुकाममा बास बस्ने सर्वोच्च अदालतले गृह मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।

भोलि बिहान ७ बजे कायममुकायम प्रधानन्यायाधीश सुर्खेतबाट हेलिकप्टरमा बाजुरा जाने र त्यहाँबाट साढे ९ बजे बझाङ सोझिने कार्यक्रम रहेको सर्वोच्च अदालत प्रशासनले लेखेको पत्रमा उल्लेख छ । त्यसपछि बाजुरा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण र बझाङ जिल्ला अदालतको नवनिर्मित भवनको समुद्घाटन गर्ने बताइन्छ ।

सोही दिन उच्च अदालत सुर्खेत र सुर्खेत जिल्ला अदालतको अनुगमन तथा निरीक्षण गरेर साँझ पश्चिम पृतना हेडक्वाटर, सुर्खेतमा बास बस्ने गरी कार्यक्रम मिलाइएको छ । उहाँ बिहीबार बिहान पौने ९ बजे बुद्ध एअरको उडानमा सुर्खेतबाट काठमाडौं उड्ने तालिका छ ।

 

टिप्पणीहरू