एकै ठाउँबाट आउने अनि जातमा पहिचान खोज्ने ?

रुकुम घटनाले सिंगो देश एवं समस्त मानव समुदायलाई दुःखी बनाउनुपर्ने हो तर नेपालमा थोरैको मात्र मन दुःखेको देखिन्छ । किनकि त्यहाँ जातीयताको कुरा रह्यो । जब जात र धर्मको कुरा अगाडि आउँछ, तब मानवतालाई गौण ठानिदिन्छौं हामी । अल्पसंख्यकलाई बहुसंख्यकले जमानादेखि थरको आधारमा दबाइएको छ । प्रेमपुजारीको हत्याको रूपमामात्रै घटनालाई हेरिन्थ्यो भने त्यसले धेरैलाई दुखाउने थियो । किनकि प्रेमले लगभग सबै मानिसलाई पगाल्छ तर अज्ञानी/मूर्खलाई चाहिँ प्रेमले पनि छुन नसक्ने ?

प्रेममा समेत जातीयताको नजरले हेरियो भने मानिसहरू सुष्माका परिवार र तिनका सहयोगी झैं क्रूरातिक्रूर हुन सक्छन् भन्ने दृष्टान्तको रूपमा नवराज र उनका साथीहरू निर्मम ढंगले मारिएको पछिल्लो घटना नै काफी छ । त्यहाँ आक्रमण गर्नेहरूले दुई कलिला प्रेमजोडीको आपसी समर्पण देख्दै देखेनन् । देखेनन् प्रेमजोडीको निम्ति साथीहरूको सहयोग । मात्र तिनीहरूले देखे नवराजको विक थर । जसका कारण नवराजका साथीहरूको साथ अन्ततः बलिदानीमा बदलियो भने नवराज स्वयम्कै प्रेममा बलिदानी चढ्यो ।

यदि नवराजको पछाडि विक नभई मल्ल, थापा, राई, सापकोटा, श्रेष्ठ, पौडेल, भट्टराई, अर्याल, घिमिरे, सुवेदी इत्यादि लेखिएको हुन्थ्यो भने उनको हत्या नै हुने थिएन । उनकै कारण मारिएकाहरू सबै बच्ने थिए । जातका कारण प्रेममा हत्या भएको यो पहिलो घटना भने होइन । यस्ता अपराध पहिले पनि पटक-पटक भइसकेको छ नेपालमा । केवल थरकै आधारमा समाजमा अझै पनि भोजभतेर, पानी-पँधेरोमा छुट्याइन्छ मानिसलाई । दलितलाई घरमा पस्न नदिने गैरदलित भनाउँदाहरू अझै थुप्रै छन् यहाँ । त्यसैले जातीय विभेद अन्त्यका लागि थर बदल्दा राम्रै हुन्छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै थर बदल्ने कुरा गर्दा जातीयताका पक्षपातीहरूको रोइलो सुरु भएको छ । काम न काज विनासित्ती थरकै आधारमा ठूलो भइटोप्लिन पाएकाहरूलाई के पच्थ्यो समानताको कुरा ? त्यसैले जातीय पहिचानको कुरा उठाइरहेका छन् छट्टुहरू । कुरै नबुझी कतिपय दलित भनिनेहरू पनि जातीय पहिचान मेट्नुहुँदैन भन्दै गैरदलित थरीकै उक्साहटको पछि लागेको देखिन्छ । तर जात र धर्ममा आफ्नो पहिचान देख्नेहरूले बुझे हुन्छ, कर्म र व्यवहारमा हुन्छ मान्छेको पहिचान ।

त्यसैले चरित्र राम्रो बनाऔं, कर्म र व्यवहार असल गरौं । त्यसैबाट झल्किन्छ मान्छेको उच-नीचता । अनि कस्तालाई घरमा निषेध गर्ने, कस्तालाई छोरी नदिने भन्ने आफैं विचार गरौं । हुन त मान्छे हो, आफ्नो दिमागले जति बुझ्छ, त्यस्तै व्यवहार र कर्म गर्छन् । खराब कामकुरा गर्नेलाई सकेसम्म सुधार्ने प्रयत्न गरौं, नसके बरु छोडिदिऊँ । तर मार्न चाहिँ कसैलाई नमारौं । विवेकशील प्राणी मान्छेले सकेसम्म अरु प्राणीको पनि हत्या नगरेकै ठिक । प्रेमको पक्षमा, मानवताको हितमा पो हामी लाग्न जरुरी छ । जातको पछि लागेर मानवताको गला रेट्ने कार्य अत्यन्त निकृष्ट हर्कत हो । हाम्रो मूर्खता हो । कानुनी रूपमा जघन्य अपराध त हुँदै हो ।

कतिपय केटाकेटी आपसमा प्रेममा परेपनि जातको कुराले परिवार र समाजको डरका कारण छुट्टिनुपरेको पीडादायी अवस्था अझै व्याप्त छ हामीकहाँ । त्यसलाई निमिट्यान्न पार्नु सबै ज्ञानी मानिसको कर्तव्य हो । त्यसैले सत्य के हो ? चिनौं र त्यसलाई स्वीकार गरौं । बनावटी र मिथ्या कुराको पछि लाग्नु जस्तो ठूलो भूल केही पनि होइन । प्राकृतिक रूपमा हामी कोही पनि दमाई, कामी, सार्की, मगर, नेवार, क्षेत्री, बाहुन, कुमाल, थारु केही होइनौं । सिर्फ मानव जाति हौं हामी । छुट्टै ग्रहबाट को पो आएका हौं र यस धर्तीमा ? सबैको आउने मार्ग त्यही योनि त हो नि ! गुद्द्वारबाट कोही जन्मिएका भए बरु दोस्रो दर्जा दिन मिल्थ्यो होला ?

खासमा थर वा जातको आधारमा मानिसलाई दलित र गैरदलित भनेर छुट्याइनु नै गलत भएको छ । यसले जातीयतालाई बढावा दिन्छ र दिइरहेको छ । विगतमा थरकै निहुँमा बाबुबाजेले जे-जति अन्याय-अत्याचार खेपे, खेपे । अब र पछिल्ला सन्ततिको पनि त्यस्तै नियति रहिनरहोस् । त्यसैले थर भटाभट फेरिनुपर्छ । त्यसो गर्ने हो भने अबको दुई-तीन पुस्तापछि जातीय विभेदको नामोनिसान रहँदैन । अब थरको आधारमा आरक्षण लिने-दिने व्यवस्था हटाइनुपर्छ । विगतमा बाबुबाजेले भोग्नुपरेको थिचोमिचोको क्षतिपूर्ति स्वरूप पछिल्ला पुस्ताले आरक्षणको सुविधा लिन आवश्यक छैन । कथित दलित थरीभित्र पनि कैयौं मानिस सम्पन्न छन् । गैरदलित भनिएकाहरू पनि कति आर्थिक, शैक्षिक रूपले पिछडिएका छन् । त्यसैले दलित र गैरदलित छुट्याउने हो भने विपन्नताको आधारमा छुट्याऔं र सोही अनुसार आरक्षणको व्यवस्था गरौं । सँगसँगै थर पनि फेरौं ।

टिप्पणीहरू