बढ्दो उमेरका महिला श्यामा बुनेर दैनिकी कटाउँदै, २२ सयसम्म कमाउँदै

बढ्दो उमेरका महिला श्यामा बुनेर दैनिकी कटाउँदै, २२ सयसम्म कमाउँदै

– दिपक खत्री

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालस्थित नागी घ्याङ र मानेखर्कमा कुनै समय प्रत्येक घरधुरीमा श्यामा (तान) बुन्ने गरिन्थ्यो । अहिले दुई चार घरमा मात्र ५५ वर्ष उमेर कटेका महिलारुले श्यामा बुनेर आफ्नो दैनिकी कटाउने गरेका छन् । तामाङ र ह्योल्मो समुदायका महिलाले प्रयोग गर्ने श्यामा कपडा उक्त समुदायमा निकै लोकप्रिय मानिन्छ । तर अहिलेका पुस्ताले बुन्न छाडेपछि श्यामा मुश्किलले पाइन्छ ।

मानेखर्कका ५८ वर्षीया ग्याल्मु लामाले श्यामा बुनेर दैनिक २२ सय आरामले कमाउँछिन् । १६ वर्षको उमेरमा श्यामा बुन्न थालेकी उनले अहिलेसम्म निरन्तर यहि कामबाट घर खर्च टार्दै आएकी छन् । उनी भन्छिन् ‘अहिले हामी तीन चार जनाले मात्र तान बुन्ने गरेका छौं । बजारमा यसको माग धेरै भए पनि हामीले मागअनुसार पुर्याउन सकेका छैनौं । बुन्नुअघि नै घरमै आएर ग्राहकले अर्डर गरेर जानुहुन्छ ।’

सुरुवातमा बुनेर बेच्दा यसको मूल्य १८० रुपैयाँ थियो । अहिले एउटाको आठ सयदेखि २२ सयसम्म पर्छ । उनीहरुलाई मेसिनले बनाएको श्यामा गाउँ घरमा भित्रिँदा नरमाइलो लागेको थियो । तर हातले घरमै बुनेको जस्तो गुणस्तरीय नपाएपछि फेरि अर्डर गर्न ग्राहकहरु घरमै आएको ग्याल्मु लामाले बताए ।

आम्दानीको राम्रो स्रोत

एक पटकको तानमा १२ वटा श्यामा बन्छ । एक दिनमा एक जनाले एक वा दुई वटासम्म बुन्न सक्छन् । १२ ओटा श्यामा बुन्दा यसमा प्रयोग हुने रङ, धागोको खर्च जोडेर पनि राम्रो फाइदा हुने उद्यमीहरु बताउँछन् । त्यस्तै उक्त कपडाबाट श्यामा मात्र नभई झोला, थैलो जस्ता विभिन्न सामग्री बनाउन सकिने स्थानीय बाबुराम लामा बताउँछन् । तान बुन्दा प्रयोग हुने हाते सामग्रीहरु सबै गाउँघरमै पाइने काठ, बाँस, मुडाबाट नै तयार गर्न सकिने हुँदा थोरै खर्चमा तयार गर्न सकिने उनको भनाइ छ ।

७३ वर्षीय नोर्चिन लामा पनि आफ्नो लामो समयदेखि श्यामा बुनेको अनुभव सुनाउदै पहिलेभन्दा अहिले यसको मूल्य धेरै राम्रो भएको बताउँछन् । यसको माग पनि राम्रो भएको तर नयाँ पुस्ताले बेवास्ता गर्दा दुःख लागेको उनको भनाइ छ । ‘बल हुञ्जेलसम्म तान बुनेर जिविकोपार्जन गरेँ तर अहिले उमेर ढल्किएपछि बुन्न सकिएन,’ उनले भनिन् ।

हामी बृद्व भएसँगै यो तान बुन्नेको संख्या निकै कम हुँदै गयो उनले अगाडि भनिन्, ‘अबको नाति नातिनाले श्यामा भनेको के हो भनेर बिर्सेलान् जस्तो लाग्छ । तन्नेरी अवस्थामा श्यामा बुनेर जुगल गाउँपालिकाको तेम्बाथाङ, गुम्बाथाङसम्म बेच्न जान्थ्यौं ।’

पाँचपोखरी गाउँपालिकाभित्रका गुन्सा, भोताङ, बरुवा, बासखर्कका तामाङ समुदायका महिला र युवतीले श्यामा कपडा धेरै मात्रमा प्रयोग गर्ने भएकाले घरमै अर्डर गर्न आउथे । यहाँ तयार गरिएको श्यामा बेलायत, भारत, अमेरिकामा बस्नेले समेत अर्डर गर्ने गरेको उनीहरुको भनाइ छ । घरमा नै बसेर राम्रो आम्दानी हुने यो कार्यलाई अहिलेको पुस्ताले पनि निरन्तरता दिए राम्रो आमदानीसँंगै श्यामा व्यवसायको संरक्षण र प्रवद्र्धन हुने उनीहरुको विश्वास छ ।

टिप्पणीहरू