काठमाडौं क्षेत्र नम्बर २ मा माओवादी केन्द्रबाट को को ?

काठमाडौं क्षेत्र नम्बर २ मा माओवादी केन्द्रबाट को को ?

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र काठमाडौं क्षेत्र नम्बर २ ले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको छ । अस्ति सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रतिनिधि सभातर्फ झक्कुप्रसाद सुवेदी र कृष्णराज सुवेदीको नाम सिफारिस गरेको हो ।

२०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा एमालेका महासचिव तथा हाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पराजित गर्दै सभासद भइसकेका झक्कुप्रसादलाई त्यही क्षेत्रबाट सिफारिस गरिएको हो ।

त्यस्तै, कृष्णराज बागमती प्रदेश कमिटी सदस्य तथा माओवादी केन्द्रबाट २०७४ मा शंखरापुर नगरपालिकाको मेयरका प्रत्यासी हुन् । समानुपातिकतर्फ विमल ढुङ्गेल,बालचन्द्र श्रेष्ठ र कुमार पौडेलको नाम सिफारिस भएको छ ।

काठमाडौं क्षेत्र नम्बर २ मा काठमाडौं महानगरपालिकाअन्तर्गत वडा नम्बर ९ र ३२ तथा कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिका रहेका छन् । गत स्थानीय निर्वाचनमा वडा नम्बर ९ मा नेपाली काङ्ग्रेस,वडा नम्बर ३२ मा नेकपा एमाले, कागेश्वरी मनोहरामा काङग्रेस र शंखरापुरमा राप्रपाका प्रतिनिधिहरु निर्वाचित भएका थिए ।

समग्रमा यो क्षेत्रमा दुई वडाध्यक्ष र दुई पालिका प्रमुखको मत जोड्दा गठबन्धनको २७ हजार ६२५, एमालेको १९ हजार ४०८ र राप्रपाको आठ हजार ५९ रहेको छ । त्यसैगरी, माओवादीको तर्फबाट प्रदेश (क) मा देवराज चौलागाईको सर्वसम्मत एकल सिफारिस भएका छन् ।

पार्टी गठबन्धनबाट यो क्षेत्र पाउने उनी निर्विकल्प उम्मेदवार हुन् । प्रदेश (क) मा वडा नम्बर ९ र ३२ पर्छ । प्रदेश (क) को समानुपातिकतर्फ रन्जना पौडेल र मनिता रायमाझी सिफारिस भएको बताइएको छ ।

प्रदेशसभा (ख) मा रामप्रसाद खनाल, शंकर दुलाल, दामोदर चापागाई, रमेश तिवारी, अमरचन्द्र बोहोरा र लक्ष्मीप्रसाद कुइकेलसमेत गरी आधा दर्जन सिफारिस भएका छन् । प्रदेश (ख) मा समानुपातिकतर्फ सन्तबहादुर वाईबा, सिता न्यौपाने, बुद्धि पुर्कोटी र अनिल विक सिफारिस भएका छन् । प्रदेश (ख)मा कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिका पर्छ ।

टिप्पणीहरू