फेसबुकमा ठ्याँ ठ्याँ गरेपछि रवि लामिछानेले निकाले न्यौपानेलाई

फेसबुकमा ठ्याँ ठ्याँ गरेपछि रवि लामिछानेले निकाले न्यौपानेलाई

पूर्व टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौँडा नगर कमिटी संयोजक सन्तोष न्यौपानेलाई कारबाही गरिएको छ । केन्द्रीय महासचिव एवम् प्रवक्ता डा. मुकुल ढकालले पार्टीबाट निकालिएको पत्र न्यौपानेलाई पठाएका छन् ।

पार्टीको मूल नीति,विचार,धारणा र आचरणविपरित फेसबुकमा स्टाटसहरु लेखेर पार्टीको छविलाई धमिल्याएको आरोप लगाउँदै पत्रमा सदस्यता र कायम रहेको पद समेत निलम्बन गरिएको उल्लेख छ । बागमती प्रदेश समिति सिफारिसको आधारमा न्यौपानेलाई साधारण सदस्यबाट समेत निलम्बन गरिएको ढकालको पत्रमा उल्लेख छ ।

न्यौपानेले पछिल्लो २४ घण्टा फेसबुकमा विभिन्न विषयमा लेखेका थिए । नेकपा माओवादी केन्द्रबाट हेटौँडा उपमहानगरपालिका १० नम्बर वडाध्यक्ष पदमा दोस्रो पटक पराजित न्यौपानेलाई माओवादीलेसमेत केही समयअघि कारबाही सिफारिस गरेको थियो । माओवादीको कारबाहीपछि उनी रवि लामिछाने पक्षधर भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबध्द भएका हुन् ।

‘मकवानपुर उद्योग वाणिज्य संघमा पत्तासाफ बुकुरे टाट पल्टेको फटाहा पैसा कमाउन राजनीतिमा लागेको प्रमाणित ! लामिछानेको पार्टीले टिकट बिक्री बुकिङ खुला ।’

न्यौपानेले अस्ति साँझदेखि नै थरि थरिका स्टाटस लेखेका थिए । ‘घन्टी चिन्हवालाहरुले मकवानपुरमा चन्दा आतंक मच्चाएको,टिकट बिक्री गरेको,विधानविपरित काम गरेकाले मैले यहिँभित्र रहेर विद्रोह गरिरहेको छु । अन्यथा होइन, जय घण्टी,’ उनले लेखेका थिए । त्यसैगरी केही समयको अन्तरालमा ‘हेटौँडामा घण्टीको चन्दा आतंकको कुरा के हो ?’ भन्दै अर्काे स्टाटस पनि लेखेका थिए ।पार्टीका जिल्ला अध्यक्ष राजकुमार न्यौपानेलाई लक्षित गर्दै उनले लेखेको अर्काे स्टाटस थियो, ‘फोटोहरु जिउँदो हुँदाहुँदै ओलीको टीका र खादा त होइन भन्ने फटाहाले भनेको क–कसले पत्याउनुहुन्छ यार !! मकवानपुरमा ?? दिउँसै रात पार्न खोज्ने ? मकवानपुर उद्योग वाणिज्य संघको पूर्व अध्यक्षसमेत रहेका पार्टी अध्यक्ष राजकुमार न्यौपानेलाई लक्षित गर्दै अर्काे स्टाटस पनि लेखिएको थियो । एकदिन अघि लेखिएको स्टाटसमा भनिएको थियो, ‘मकवानपुर उद्योग वाणिज्य संघमा पत्तासाफ बुकुरे टाट पल्टेको फटाहा पैसा कमाउन राजनीतिमा लागेको प्रमाणित ! लामिछानेको पार्टीले टिकट बिक्री बुकिङ खुला ।’

त्यसैगरी उम्मेदवारीका सन्दर्भमा उनले भनेका थिए, ‘घण्टको टिकट कुमार्गीको भाइलाई ५ करोडमा बिक्री ! धिक्कार लामिछाने ।’ यो स्टाटस चाहिँ केही दिनअघि काँग्रेस छाडेर स्वतन्त्र पार्टी रोजेका भरत पराजुलीप्रति लक्षित थियो । कुमार्गी भनेर उनले अजेयराज सुमार्गीलाई भन्न खोजेको र उनै सुमार्गीका भाइ भरत पराजुली रहेको बुझाउन चाहेका हुन् ।

यसरी सामाजिक सञ्जालमा निरन्तर स्टाटस लेख्दै नेतृत्व र पार्टीको आलोचना गरिए पनि भित्री कुरो सार्वजनिक भएको छैन । फेसबुकमा स्टाटस लेखेकै कारण उनी निलम्बनमा परेका हुन् वा अरु कारणबारे जान्न जनआस्थाले निलम्बित नगर अध्यक्ष सन्तोष न्यौपानेलाई प्रश्न गरेको थियो ।

अस्ति माओवादीबाट,अहिले स्वतन्त्र पार्टीबाट कारबाही भोगियो होइन ?

-कारबाही भोगेको होइन । उनीहरुले कारबाही गर्नुअघि नै पार्टी त्यागेको हो ।

नगर अध्यक्ष भएको २१ दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी किन छाडेको त ?

-टिकट बिक्री गरे । अनि कुनै पनि विचार,नीति, सिद्धान्त नभएको पार्टीको रुपमा यो पार्टी रह्यो । पार्टीमा लोकप्रिय मान्छेहरु रहेनन् । उद्योग वाणिज्य संघमा फेल खाएका र उद्योगै नभएका उद्योगीहरु नेतृत्वमा आए । यस्तै यस्तै कारणहरु छन् ।

रवि लामिछाने स्वयम् उपस्थित भेलामा तपाईंले राजकुमार न्यौपानेलाई अध्यक्ष मान्नु भएको होइन र ?

-हो । तर,उसले १५ देखि २० दिनमा यो पद छोडिदिन्छु, अहिलेलाई घोषणा गरेर जाउँ भनेकाले मानेको हुँ ।

चन्दा असुलीको कुरा के हो नि ? स्टाटसमा लेख्नु भएको छ ।

-पार्टीको चन्दा असुल्ने नीति छैन । तर, हेटौँडामा कार्यक्रम गर्न पनि कोक,फ्याण्टा, हल भाडा, ब्यानर भनेर माग्ने काम भयो । खाजा खान पनि चन्दा माग्ने काम गरेर पार्टीलाई मागी खाने भाँडो बनाउन लागे ।

पार्टीले निकाल्यो, अब के गर्नुहुन्छ ?

-केही गर्दिनँ । मेरो धारणा स्पष्ट पार्न विज्ञप्ति लेखिरहेको छु ।

टिप्पणीहरू