प्रख्यात टिकटकमाथि विभिन्न आरोप
पछिल्लो समय युवापुस्ताको मुखमा झुण्डिएको नाम हो, टिकटक । विश्व प्रख्यात चिनियाँ एप टिकटक विश्वका युवापिँढीमा सबैभन्दा धेरै लोकप्रिय बनेको छ । सामाजिक सञ्जालमा पनि टिकटकले आफ्नो प्रभुत्व राम्रैसँग जमाएको छ । अन्यत्रझैँ टिकटक नेपाली युवापुस्ता माझ अभिन्न अंग बनेको छ । यसमा १५ सेकेण्डदेखि तीन मिनेटसम्मको भिडियो हाल्न मिल्छ ।
नेपालीले सबैभन्दा बढी प्रयोग गर्ने एपमध्ये टिकटक पनि एक बनेको छ । विश्वका अधिकांश मुलुकमा आफ्नो बजार बिस्तार गर्न सफल टिकटक नेपालीले सबैभन्दा धेरै रुचाएको एपमा परेको छ । सबै उमेर समूहका मानिस यसबाट उत्तिकै प्रभावित छन् ।
फुर्सदको समय बिताउन टिकटक भुरादेखि बुढासम्मलाई प्रभावकारी माध्यम बनेको छ । त्यसमाथि युवा पुस्ता यो एप बिना एकछिन पनि अलग्गिन नसक्ने अवस्थामा पुगेका छन् यसले पनि समय परिवर्तनसँगै सूचना प्रविधिले फड्को मारेको पुष्टि हुन्छ ।
टिकटकलाई पनि सूचना प्रविधिको पछिल्लो विकास मान्न सकिन्छ । भनिन्छ नि, ‘चिनी पनि धेरै खाए तितो लाग्न सक्छ’ टिकटक पनि त्यस्तै बन्ने बताइन्छ । तर सदुपयोग गर्न जानेको अवस्थामा यसबाट धेरै ज्ञानबद्र्धक र प्रेरणादायक विषयवस्तुहरुसमेत हासिल गर्न सकिन्छ ।
ज्ञानसँगै मनोरञ्जन दुवै एकै ठाउँमा पाइने यो बहुउपयोगी साधनको रुपमा प्रख्यात बनेको हो । समाजका विकृति–विसङ्गति, भेदभाव, छुवाछुत, महिला हिंसा र समाज सुधारका विषयवस्तु समेटेर टिकटक बनाउँदा यसबाट धेरैले सिक्ने र सिकाउने मौका पाउने अवस्था पनि छ ।
समाजले पचाउन सक्ने खालको सामग्री बनाउँदा त्यसले धेरैलाई फाइदा पुग्ने निश्चित छ । सूचना प्रविधिको जति सदुपयोग गर्यो त्यत्ति नै फाइदा पुग्छ । सोही पक्षलाई समेटेर टिकटकले अहिलेका युवापुस्ताको ‘कन्फिडेन्स’ बढाएको बताइन्छ ।
कतिपयले यसबाट आफ्नो कला र सीप देखाउने मौका पाएका छन् । घरमा बसेर समय कटाउनुपर्ने वृद्धवृद्धालाई टिकटक एउटा गतिलो माध्यम बनेको देखिन्छ । सूचना प्रविधिबारे जान्न र बुझ्न पनि यसले धेरथोर सहयोग पुर्याएको छ ।
साथै, यो आयआर्जन गर्ने राम्रो माध्यमसमेत बनेको छ । पछिल्लो समय टिकटकले एक किसिमको विकृति फैलाएको आरोप लगाउनेहरु पनि प्रशस्त छन् । टिकटकलाई वरदान मान्ने कि अभिशाप ? सवाल खडा भएको छ । सस्तो लोकप्रियताका लागि टिकटकमा अनेकथरी रमिता देखाउन थालिएको छ ।
समाजमा अपाच्य सामग्रीहरु टिकटकमा छ्याप्छ्याप्ती भेटिन्छन् । यसबाट अश्लिलताको बाढी आएको बताइन्छ । श्रीमान श्रीमतीको आपसी सम्बन्धदेखि हेर्नै नसकिनेसम्मका सामग्रीहरु टिकटकमा पोष्ट गरेको पाइन थालेको छ ।
टिकटकमाथि नियमन नहुँदा र स्वतन्त्रताले सीमा नाघ्दा यो विकृतिको थलो बनेको जानकारहरु बताउँछन् । क्षणिकको लागि भाइरल हुने उद्देश्यले समाज र संस्कृतिलाई नै धमिल्याउने काम भइरहेको उनीहरुको निचोड छ ।
टिकटक बनाउने क्रममा कतिपयको ज्यानसमेत गएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका १९, बिजौरी बस्ने २४ वर्षीय रमेश थापाको दुई वर्षअघि टिकटक बनाउने क्रममा मृत्यु भएको थियो ।
टिकटकका लागि झोलुङ्गे पुल चढेका थापा त्यहाँबाट खसेर गम्भीर घाइते भए । उपचारको क्रममा उनको ज्यान गएको थियो । गत साउन १० गते टिकटक बनाउने क्रममा एक जना बेपत्ता भएका हुन् ।
सल्यानको कुपिण्डे गाउँपालिका ८ मा रहेको कुपिण्डेतालमा परेका वेदबहादुर बस्नेत भेटिएनन् । टिकटक बनाउँदा ढुंगाबाट चिप्लिएका उनी बेपत्ता भएका हुन् ।
लागुऔषधझैं टिकटक पनि कसै कसैको निम्ति लत बनेको छ । टिकटककै कारणले ज्यानसमेत गुमाउनुपर्ने अवस्था आउनु समाजको निम्ति लज्जास्पद भएको छ । सामाजिक सञ्जाल टिकटकको दुरुपयोग हुन थालेको भन्दै मधेश प्रदेशका युवाहरुले टिकटक बन्द अभियान थालेका छन् ।
टिकटक बन्द संघर्ष समितिको सिरहा जिल्ला संयोजक राजेशकुमार यादवले उक्त एपले अश्लिलतासँगै नेपाली युवतीको शारीरिक शोषणसमेत भइरहेको बताएका छन् । टिकटकले नेपाली संस्कृतिलाई चुनौती दिँदै अर्थतन्त्र कमजोर बनाइरहेको उनी बताउँछन् ।
टिप्पणीहरू