अनलाइन ‘संस्कार कक्षालय’ शुरु

अनलाइन ‘संस्कार कक्षालय’ शुरु

बालबालिकाहरूलाई असल संस्कार सिकाउने उद्देश्यले अनलाइन कक्षा ‘संस्कार कक्षालय’ शुरु गरिएको छ । सुसंस्कार एवम् योग अभियन्ता डा. राजु अधिकारीले फ्रेन्च लेखक एवं विश्वकै खुसी व्यक्ति डा. म्याथ्यु रिचार्डको उपस्थितिमा भुर्चलअ माध्यमबाट कक्षा शुरु गरेका हुन् ।

कार्यक्रममा बोल्दै रिचार्डले अहिलेको समयमा संस्कारयुक्त शिक्षा अत्यन्तै उपयोगी हुने भएकाले अधिकारी र उनको समूहलाई बधाई तथा शुभकामना व्यक्त गरे । असल शिक्षाले मात्र मानिसलाई असल र खुसी बनाउने उनले बताए । ‘आफ्ना स्वार्थका लागि मात्र सोच्‍ने व्यक्ति जीवनमा कहिल्यै सफल हुन सक्दैन । अरुको खुसीमा खुसी देख्‍ने व्यक्तिमात्रै संसारको सफल र सुखी व्यक्ति हो’ रिचार्डले भने ।

त्यस्तै, गैर-आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले आफ्नो व्यवहारमा लागू गरेरमात्र संस्कार सिकेको अर्थ रहने बताए । संस्कार कुनै उमेर समूह र समयका लागि मात्र नभएर सबै र सधैँका लागि अत्यावश्यक रहेको भन्दै उनले संस्कार कक्षालयबाट सबैले फाइदा लिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले बालबालिकाको पहिलो पाठशाला भनेकै आफ्नो घर भएकाले संस्कार घरबाटै शुरु हुनुपर्ने बताइन् । बालसुलभ मस्तिष्कमा अहिले संस्कारको विजारोपण गर्न सके भविष्यमा अत्यन्त सकारात्मक मनोविज्ञानको विकास हुने उनको भनाइ छ ।

प्रशिक्षक विमल कोइरालाले विषयगत ज्ञानले दिमागलाई शिक्षित गर्छ भने संस्कारयुक्त ज्ञानले हृदयलाई प्रशिक्षित गर्ने बताए ।

शनिबारबाट शुरु भएको संस्कार कक्षालयमा असल संस्कार, संस्कारयुक्त दिनचर्या, बाल-योगाभ्यास, संस्कार प्रार्थना र श्लोकहरू, स्मरण शक्ति, एकाग्रता, मातापितालाई सम्मान, असल बानी व्यवहारलगायत विषयहरू समेटिएका छन् । कक्षा हरेक शनिबार र आइतबार बिहान साढे ७ देखि साढे ९ बजेसम्म र दिउँसो साढे २ देखि साढे ४ बजेसम्म अनलाइनमार्फत सञ्‍चालन भइरहेका छन् ।

‘संस्कार कक्षालय’ पहिलो चरणमा ५ देखि ९, ९ देखि १२ वर्ष र १२ देखि माथिका गरी तीन समूहमा विभाजन गरिएका छन् । कक्षाबाट विश्वका जुनसुकै स्थानमा बसोबास गर्ने नेपालीभाषी बालबालिकाहरू लाभान्वित हुने बताइएको छ ।

टिप्पणीहरू