डेढ महिनामा १० वटा बाल विवाह रोकियो

डेढ महिनामा १० वटा बाल विवाह रोकियो

मकवानपुरमा जिल्लामा पछिल्लो डेढ महिने अबधिमा १० वटा बाल विवाह रोकिएको छ । सिविन बाल हेल्पलाइनमा चालू आर्थिक बर्षको डेढ महिने अबधिमा १० वटा बाल विवाह रोक्न सफल भएको अभिलेख छ ।

तर, रोकिएका जोडीको पछिल्लो अबस्था भने सरोकारवालाले बुझ्न छाडेका छन्, जसका कारण पुनः विवाह भएका घटनाहरु पनि एकपछि अर्काे गर्दै सार्बजनिक हुने क्रम जारी छ । सिविनका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीका अनुसार एक बर्षको अबधिमा ५० वटा बाल विवाहका घटना रोक्न सफल भइएको छ । स्थानीय तहका जनप्रतिनिधिहरु, बाल सञ्जाल, बालमैत्री स्वयम्सेवकहरु, प्रहरीसहितको टोलीले एक बर्षमा ५० वटा बाल विवाहको घटना रोक्न सफल भएको ज्ञवालीले बताउनुभयो ।

पछिल्ला समयमा अभिभावक र बालबालिकाबीच दुरी बढ्दै जानु र पारिवारिक विचलन हुनुका कारण बाल विवाहको समस्या देखिएको उहाँले बताउनुभयो । अभिभावकले बालबालिकालाई सँगै नराखी छात्राबास वा आफन्तकोमा राख्ने गरेको, स्मार्ट फोन र सामाजिक सञ्जालहरुको सुविधा दिइएका कारण पनि बाल विवाहका घटनाहरु बढ्ने क्रममा देखिएको उहाँको भनाई छ ।

तर, सरोकारवालाहरुले भने कानूनी कारबाहीलाई कार्यान्वयन नगर्नाले बाल विवाह एकपछि अर्काे गर्दै बढिरहेको बताएका छन् । ‘बाल विवाह गर्ने र गराउने कोही मान्छे जेलमा परेको सुन्नु भएको छ ?’, मनहरी गाउँपालिका १ की एक महिलाले भनिन्–‘कानून बमोजिम धमाधम पक्राउ गरेर कारबाही गर्ने हो भने बाल विवाहबारे मान्छेहरुले सोच्नै सक्दैनन् ।’

यसैबीच मनहरी गाउँपालिका वडा नं ४ का १८ बर्षिय बालक र कैलाश गाउँपालिका वडा नं. ७ निवासी १६ वर्षिय बालिकाबीच हुन लागेको विवाहलाई बदर गरिएको छ । विवाह हुन लागेको २ दिन अघि बाल हेल्पलाइनको निशुल्क फोन नं १०९८ मा विवाहबारे सूचना प्राप्त भएपछि हेल्पलाइन, जनप्रतिनिधिहरु, बाल सञ्जालका पदाधिकारीहरु मिलेर सम्झाई बुझाई गरी बाल विवाह रोकिएको हो ।

टिप्पणीहरू