आएको सामान प्रयोग भएन, आरडिटीको किचकिच बढ्यो

आएको सामान प्रयोग भएन, आरडिटीको किचकिच बढ्यो 

विदेशबाट भटाभट नेपाली आउन थालिसके । तर, चीनबाट ल्याइएका अत्यावश्यक स्वास्थ्य समाग्री प्रयोगमा आउन सकेको छैन ।

लकडाउनलगत्तै ओम्नी ग्रुपले शंकास्पद तवरले सामान ल्याएर घोटाला गर्न खोजेको आशंकापछि उक्त कम्पनीको सम्झौता रद्ध गरि ती सामान नेपाली सेनालाई ल्याउने अनुमति सरकारले दिएको थियो ।

तर, जेठ पहिलो साता चीन सरकारको सहयोगमा नेपाल आइपुगेको १० कन्टेनर सामान अझै थन्किरहेको छ ।

उक्त कन्टेनरमा आएका अत्यावश्यक स्वास्थ्य सामाग्रीमध्ये सबै स्वास्थ्य मन्त्रालयलाई बुझाउन र त्यहीँबाट वितरण गर्न सरकारले निर्देशन दिएको थियो ।

तर, सेनाले तीमध्ये निश्चित प्रतिशत सामना आफूमातहत वितरण हुनुपर्ने भनेपछि अहिलेसम्म थन्किरहेको हो ।

अहिले स्वदेश फर्किएका नेपालीको संख्या कति पुग्छ भन्ने टुंगो लागिसकेको छैन ।

देशमै रहेका नागरिकको स्वास्थ्य परीक्षणका लागि पर्याप्त उपकरण र जनशक्ति छैन । त्यसमाथि विदेशबाट आएका नागरिकको व्यवस्थापनको चटारो शुरु भइसक्यो । तर, भएकै सामान निकालेर चलाउने अवस्था छैन ।

‘सेनाले ल्याएको १० कन्टेनर सामान खोल्न र सबै स्वास्थ्य मन्त्रालयमार्फत परिचालन गर्न सकियो भने सहज हुन्छ’, मन्त्रालयका एक उच्च अधिकारीले जनआस्थालाई बताए ।

स्रोतका अनुसार, सेनाले स्वास्थ्य मन्त्रालयलाई २१ टन सामानमात्र दिने भनेको छ ।

आरडिटीको किचकिच

स्वास्थ्य मन्त्रालयको पनि स्वास्थ्य सेवाअन्तर्गतका हाकिमहरु भन्दैछन्, ‘अब आरडिटीको चक्कर छाडौं, पिसिआरमा बल गरौं ।’

तर, त्यहीँका निजामती सेवाका कर्मचारीको मुठ्ठीमा रहेको खरिद महाशाखा विभिन्न व्यापारिक समूहसँग धमाधम आरडिटी खरिद सम्झौता गर्दै पेश्की निकासा गर्दैछ ।

‘यो कुरा हाम्रो हातमा छैन, हामीले भनेर आरडिटी आयात बन्द हुँदैन’, खरिद महाशाखाका एकजना अधिकृतले बताए ।

कोरोना संक्रमण जटिल मोडमा पुगेको, भयावह स्थिति नजिकिएको मन्त्रालयका स्वास्थ्यसेवाका हाकिमहरुको ठहर छ । यस्तो अवस्थामा आरडिटी परीक्षणको भर परेमा स्थिति नियन्त्रणबाहिर जान्छ भन्ने उनीहरुको सुझावमा सत्यता त छ, तर स्वीकार्य छैन ।

किनभने, देशमा अहिले आरडिटी व्यापारको ठूलै खेती चलिरहेको छ । शक्तिकेन्द्रको सिफारिसमा ती सामान आयात गर्न मन्त्रालयलाई दबाब दिइएको स्रोत बताउँछ ।

अहिले नेपालमा सबभन्दा ठूलो अभाव पिपिई र पिसिआर किटको हो । तर, आयात बढेको छ, आरडिटी कीटको  ।

आरडिटीले संक्रमण आशंकित व्यक्तिको नेगेटिभ वा पोजेटिभमध्ये जे देखाए पनि पिसिआर परीक्षण गर्नै पर्छ ।

‘जब पिसिआर गर्नै पर्छ भने किन आरडिटीको चक्करमा पर्ने ?’ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

टिप्पणीहरू