पालनामा आशंका रहेको माओवादीको यो उर्दी

पालनामा आशंका रहेको माओवादीको यो उर्दी

नेकपा माओवादी केन्द्र प्रदेश १ समितिले आगामी आमनिर्वाचनका लागि एकै व्यक्तिलाई दुई स्थानमा र संघ र प्रदेशमा यसअघि सांसद भइसकेकालाई समानुपातिकतर्फ नाम सिफारिस गर्न रोक लगाएको छ ।

माओवादी केन्द्र प्रदेश १ समितिको हालै विराटनगरमा सम्पन्न बैठकले आगामी निर्वाचनका लागि एकै व्यक्तिलाई प्रत्यक्ष र समानुपातिकमा त्यसैगरि सांसद भइसकेकालाई समानुपातिकमा नाम सिफारिस गर्न रोक लगाएको बताइएको छ ।

प्रदेश समितिले पर्सि सोमबारभित्र संघ र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिकतर्फका सम्भावित तीन तीन जना उम्मेदवारको नाम सिफारिस गर्न सबै जिल्ला समन्वय समितिहरुलाई परिपत्र गरेको छ ।
माओबादी केन्द्र प्रदेश १ समिति सचिव गणेश उप्रेतीका अनुसार उम्मेदवार सिफारिस गर्दा एकै व्यक्तिलाई प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस गर्न पाइने छैन । हाल सांसद भइसकेकाहरुको नाम समानुपातिकतर्फ सिफारिस समेत गर्न नपाइने उनले बताए ।

जिल्ला समन्वय समितिले नाम सिफारिस गर्दा समावेसितालाई ख्याल गर्दै क्लष्टर मिलाएर गर्नुपर्ने परिपत्रमा उल्लेख छ । सचिव उप्रेतीका अनुसार उम्मेद्वार सिफारिसको क्रममा जिल्ला समन्वय समितिले निर्णय गरेको बैठकको माइन्युटसमेत प्रदेश समितिमा पठाउनुपर्ने छ ।

सिफारिस समितिको बैठकमा सम्बन्धित क्षेत्रको निर्वाचन परिचालन समिति, केन्द्रीय र प्रदेश सदस्यका साथै सांसदहरुको अनिवार्य उपस्थिति हुनुपर्ने बताइएको छ । जिल्लाले बैठकमा सर्वसम्मत भए एक जना र नभएमा बढीमा तीन जना प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेद्वारको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रदेश समितिको निर्णयअनुसार एक मात्र संघीय निर्वाचन क्षेत्र रहेका जिल्लामा जिल्ला संयोजकले र एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा संघीय निर्वाचन परिचालन समिति प्रमुखले बैठकको संयोजन गर्नेछन् ।

टिप्पणीहरू