राष्ट्रिय सभाले पनि राष्ट्रपतिको मान राखेन, विधेयक हुबहु स्वीकृत

राष्ट्रिय सभाले पनि राष्ट्रपतिको मान राखेन, विधेयक हुबहु स्वीकृत

राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहोर नलगाई त्यसै फिर्ता पठाएको नागरिकता विधेयक संसदका दुवै सदनले जस्ताको तस्तै पारित गरेको छ ।

प्रतिनिधिसभाले हुबहु पास गरेर पठाएको नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक आज राष्ट्रियसभाले स्वीकृत गरेको हो । यसअघि राष्ट्रिय सभाले उक्त विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा दुई दिन छलफल गरेर उक्त विधेयक जस्ताको त्यस्तै पारित भएर बैठकमा पेश भएको थियो ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्तुत रूपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बहुमतको आधारमा विधेयक पारित भएको घोषणा गर्नुभयो ।

१५ बुँदे सन्देशसहित पुनर्विचारका लागि पठाएको विधेयक जस्ताको त्यस्तै पारित हुने संकेत पाएपछि राष्ट्रपति भण्डारीले यसअघि प्रमुख दलका नेता, विभिन्न संघसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरुलाई बोलाएर आफ्नो चासो व्यक्त गर्नुभएको थियो । तर, राष्ट्रपति संस्थाको मान राख्नका लागि भए पनि राष्ट्रिय सभाले केही संसोधन गर्ने शीतल निवासको अपेक्षाविपरित विधेयक दुवै सदनबाट हुबहु पारित गरेको छ ।

पारित विधेयक अब प्रमाणीकरणका लागि पुनः राष्ट्रपति कार्यालयमा पुग्नेछ । राष्ट्रपतिलाई दोस्रो पटक विधेयक फिर्ता गर्ने संवैधानिक अधिकार संविधानले दिएको छैन ।

टिप्पणीहरू