भत्काउने मात्र हैन बनाउनेतिर पनि सोचाैँ

भत्काउने मात्र हैन बनाउनेतिर पनि सोचाैँ

अहिले काठमाडौं महानगरमा भत्काउने अभूतपूर्व अभियान पनि शुरु भएको छ । जनताले छानेका प्रतिनिधिहरूको अगुवाइमा शुरु भएको ‘विधंश’को केही हदसम्म स्वागत गरिएको छ ।

पद र पैसाको आडमा जे गर्दा पनि हुन्छ भन्ने ठालु सोच पालेका केही धनाढ्यको मिचाहापनमाथि काठमाडौंका जनप्रतिनिधिले धावा बोलेको देखेर सर्वसाधारण पैदलयात्रु र सेवाग्राहीले राहत महसुस पनि गरेका छन् । पार्किङका लागि बनाइएको बेसमेन्टमा पसल थाप्ने, सडक कब्जा गरेर पैदलयात्रुको जीवन जोखिममा पार्ने अनि बहाल उठाएर घरको तल्ला थप्नेविरुद्ध बोलिएको यो धावा अकस्मात्जस्तै थियो ।

अरू बेला औपचारिकता पु¥याउन मात्र पुर्जी काटिएका हुन्थे । दलका मेयरहरुलाई यस्ता काममा हात हाल्न नेता, टिकट र कार्यकर्ताको डर हुन्थ्यो । शुरुमा धेरैलाई लागेको थियो सडकमा मकै बेचेर गुजारा गर्नेहरूविरुद्ध मात्रै बालेन साहले ताकत आज्माउँछन् ।

तर, उनले कथित एलिट वर्गमाथि पनि धावा बोलेका छन् । निर्माणभन्दा ध्वंश जहिले पनि सहज हुन्छ । बनाउँदा रिसाउने र भत्काउँदा खुसाउनेहरू धेरै हुन्छन् । किनभने केही नगर्नेहरूले जहिले पनि हल्का टिप्पणी गरिरहेकै हुन्छन् । उनीको काम भनेको टिप्पणी गर्ने मात्र हो ।

भन्ने एकथोक, गर्ने अर्थोक भएपछि कानुनको राज भएकै ठाउँमासमेत सानालाई ऐन ठूलालाई चयन हुन्छ नै तोडफोडको अगुवाई गरेका बालेनले सडक खानाको संस्कृति (स्ट्रिट फुड कल्चर) लाई रचनात्मक ढंगले प्रवद्र्धन गर्न कति समय लाग्थ्यो ? किनभने महानगर र नगरको मानक सफासुग्घर रहनु त हुँदै हो, सडक गल्लीमा विभिन्न खाद्य परिकारका स्टल पनि हुन् ।

यसलाई व्यवस्थित गर्नु कार्यकुशलता र दूरदृष्टि मानिन्छ । संसारका जुनसुकै महानगर वा नगरमा पनि स्ट्रिट फुड कल्चर हुनेगर्छ ! सडकबाट पूरै यस्ता खाद्य परिकार बेच्नेहरूलाई विस्थापित गर्नु शहरको शोभा र विशेषतामा पनि खोट लाग्नु हो । त्यसैले गरिखानेलाई लखेट्नुभन्दा त्यस्ताबाट भएका अर्घेल्याइँ र बिच्काइँको व्यवस्थापन गर्दा कुशल नेतृत्व अनि संगठक बन्न सकिन्छ । यसतर्फ भने बालेनको बत्ती बल्नु जरुरी देखिन्छ ।

कानुन मिचेर रजाइँ गर्नेहरूले ख्याल ख्यालमै रुञ्चे अनुहार लगाएका छन् । यस्ताका कारण गरिखाने केही व्यापारी ओझेलमा परेका छन् । उनीहरूको लाखौं, करोडौं रकम मात्र नभएर जीवनकै कमाइ पनि गुमेको छ । नी अक्क न बक्क भएका छन् । तोडफोडको टिकटशो धेरै भयो ।

तर, यो तोडफोडका कारण मारमा परेका वास्तवमै पीडितहरुको चाहिँ उद्दार गर्ने कुनै सिर्जनात्मक योजना बालेन साह या महानगरको सम्पूर्ण टिमसँग छ कि छैन ? खुबी त तोडफोडमा होइन, मुश्किल या अप्ठ्यारो अवस्थाबाट, संकट वा समस्याको बेला पार लगाउँदा देखिन्छ । के राजधानीका जनताले धेरै अपेक्षा राखेका बालेनबाट यस्तो कामकुराको निरन्तर आशा गर्न सकिएला ? प्रश्न गर्ने बेला आएको छ ।

बालेनलाई प्रश्न तेस्र्याउन नपाउँदै हेटौंडा उपमहानगरकी मीना लामा र पोखराका मेयर आचार्यले पनि यस्तै सूचना निकालेका छन् । जनादेशबाट प्राप्त अधिकारको प्रयोग गर्नु अत्यन्तै राम्रो कुरा हो । राम्रो कामको नक्कल वा सिको गर्नु त झनै राम्रै हो ।

तर, बालेनको तोडफोडमा देखिएका कमीकमजोरी जस्तैः समयमा जानकारी नहुनु, सटर भाडामा लगाउन डन वा गिरोहको फन्दामा परेका व्यापारी बढी पीडित हुनु, सार्वजनिक जग्गामा भवनलगायत निर्माण गरेर बहाल खानेहरू, बेसमेन्ट पार्किङस्थल नभएर व्यापारका लागि भन्दै भाडा लगाउनेहरूलाई कसरी व्यवहार गर्ने र मर्कामा पर्ने साना गरिखाने व्यापारीलाई राहत दिन केही योजना नहुनु ज्यादै दुःखद विषय हुन सक्छ । हेक्का राख्नुपर्ने कुरा त के हो भने बिगार्न, भत्काउनभन्दा बनाउन, निर्माण गर्न र जोगाउने खुबी भएकाहरू अलिक धेरै समयसम्म टिक्छन् ।

टिप्पणीहरू