कांग्रेस नेता ‘आलु’, कम्युनिष्ट नेता ‘काँचो पिँडालु’

कांग्रेस नेता ‘आलु’, कम्युनिष्ट नेता ‘काँचो पिँडालु’

– दीपक खनाल

ती प्रदीप दाइ, जस्तोसुकै व्यक्तिलाई बाँचुञ्जेल बाइ बाइ र निधनपछि हाइ हाइ गर्ने नेपाली संस्कार नै हो । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पनि निधनपछि हाइ हाइ नै भयो । प्रजातान्त्रिक धारलाई राजनीतिक थलो बनाए पनि उहाँले जति माक्र्सवादको अध्ययन र व्याख्या कमै कम्युनिष्ट नेताले गरेका होलान् । पत्रकारिताको शुरुवाती चरण (०५४) को कुरा हो ।

शान्ति समाजद्वारा नेपाल बार एशोसिएसनको सभाहलमा आयोजित कार्यक्रममा समाचार संकलन गर्न जाँदा पहिलोचोटि देखेको थिएँ । त्यहाँ पहिलोचोटि भाषण सुन्दा खूबै घत लागेको थियो । म विश्वदीप साप्ताहिकमा रहँदा उहाँ त्यसको सल्लाहकार हुनुहुन्थ्यो । स्तम्भ लेख्नुहुन्थ्यो । त्यही बेला भेट भएझैँ लाग्छ । कता कता उहाँसँग भेट हुँदा एउटा प्रश्न गरेको जस्तो धुरमुर धुरमुर सम्झना आउँछ ।

कांग्रेस फुटेपछि देउवा कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो । त्यो बेला ‘यस्तो विद्वान् भएर पनि किन राजालाई प्रजातन्त्र बुझाउने देउवा कांग्रेसमा बस्नुभएको’ भनेर प्रश्न गर्दा उहाँले ‘कतै न कतै रहन त प¥यो नि !’, भनेको झिनो सम्झना आउँछ । जे होस् यतिबेला प्रजातन्त्रवादी नेता प्रदीप गिरीलाई सम्झनुको खास उद्देश्य समग्रमा कांग्रेस र कम्युनिष्ट नेताले मिडिया र जनतासित गर्ने व्यवहारबारे उल्लेख गर्न खोज्नु हो ।

पिए कि चम्चे ? सल्लाहकार कि हल्लाकार ?

प्रायः मानिसहरू (पत्रकारसमेत) भन्छन् : कम्युनिष्ट नेताहरू कांग्रेसका भन्दा चाम्रा । धेरै रहस्यवादी । सुपर स्टार, ओभर स्मार्ट । सिंगो पार्टीलाई भन्दा गुटलाई माया गर्ने, मान्ने । कांग्रेसका नेताहरू आलु, कम्युनिष्टका नेताहरू काँचो पिँडालु । आलु जता पनि मिल्छ, जेसित पनि पाक्छ । आलुसँग नमिल्ने कुनै तरकारी छैन । उस्तै परे पिँडालुसँगै मिल्दिन्छ तर पिँडालु आफूलाई मनपर्ने चीज मस्यौराबाहेक अरुसँग मिल्दैन, पकाउने तरिका मिलेन भने कोक्याउँछ ।

कांग्रेसका अधिकांश नेता सजिला, व्यावहारिक, कम्युनिष्टका नेता असजिला, अव्यावहारिक । कम्युनिष्टमा पनि माओवादी नेताहरू धेरै अडमिल्दा ।

आफ्नो पार्टीको पनि गुटबाहेक अरूसित नमिल्ने कम्युनिष्ट नेता, कार्यकर्ताजस्तै । समाचारको पुष्ट्याइँ गर्न वा कुनै काम विशेषबारे भन्न जनताले हजारौँ चोटी फोन गर्दा कम्युनिष्ट नेताले प्रायः नउठाउने । नचिनेको मोबाइल फोन त नउठाउनेले ल्याण्डफोनलाई त बाल मतलब नै नदिने । कांग्रेस, राप्रपाका नेतालाई ग¥यो भने ल्याण्डफोनबाट पनि जवाफ दिने । जो आफूलाई जनताको खाँटी सेवक र मुक्तिकर्ता भन्छ, उही (धेरैजसो कम्युनिष्ट नेता) लाई राजा, युवराजलाई झैँ मान्नुपर्ने ।

बोल्न, कुरा गर्न पनि गजक्क पल्टने । अनेक सोधीखोजी गरी नानाभाँती विधि, प्रक्रिया पु¥याउन पर्ने । आफ्नो मान्छे हो, होइन, नानाकुटी गर्ने, कांग्रेसका नेतालाई चाहिँ यस्तो कुरामा मतलव नै छैन । जो जसले भेट्न, कुरा गर्न खोजे पनि तयार । कतिपटक कांग्रेसका महामन्त्री गगन थापा, नेताहरू प्रदीप पौडेल, बद्री पाण्डे, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, प्रकाशशरण महत आदिसँग सजिलै कुरा गरिएको छ भन्नासाथ । गगन, प्रदीपसँग त जहाँ भेट्यो त्यहीँ बाटोमा उभिई उभिई कुराकानी गरिएको छ ।

त्यसैले भन्न मन लाग्छ, कांग्रेसका अधिकांश नेता सजिला, व्यावहारिक, कम्युनिष्टका नेता असजिला, अव्यावहारिक । कम्युनिष्टमा पनि माओवादी नेताहरू धेरै अडमिल्दा । समय व्यवस्थापन गर्नै नजान्ने । लामो समय भूमिगत भएर भर्खरै सार्वजनिक भएकाले होला, एकातिर सुरक्षाको डर अर्काेतिर मिडियासँग डिल गर्न सकिन्न कि भन्ने त्राशले होला शुरु शुरुमा त तिनले समय नै नदिने । आफ्ना मुद्दा भनेर जनतामा पु¥याउन पनि डराउने । कांग्रेस नेतालाई चाहिँ त्यति गाह्रो नपर्ने ।

भित्र आफ्नै गुण, चरित्र, स्वभाव होला, कांग्रेस नेता, मन्त्री बाहिर त्यो नदेखाउने । राष्ट्रिय समाचार समितिमा काम गर्दाको कुरा हो । नेपाल बन्द थियो । कांग्रेस नेता प्रकाशशरण मन्त्री हुनुहुन्थ्यो । समय नै नमिलाई बन्दको अवस्था बुझ्न सिंहदरबारस्थित उहाँको कार्यकक्षमा जाँदा पनि रिसाउनुभएन । मलगायत केही साथीलाई कालो चिया खुवाएर पठाउनुभयो । माओवादीका अधिकांश नेता मन्त्री हुँदा भने (हिसिला यमीबाहेक) तिनको कार्यकक्ष नै देख्न पाइएन । बाहिर चेम्बरमै समय बिताएर फर्कन परेको छ । अस्ति भर्खर गोकुल बाँस्कोटा मन्त्री हुँदा त्यस्तै हालत थियो ।

यस्ता उदाहरण धेरै छन् । एकताका आफैँ सम्पादकत्वमा मूल्यबोध मासिक निकालिन्थ्यो । सायद संविधानसभाको विषयमा हुनुपर्छ, एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालको अन्तरवार्ता राख्ने कुरा भयो । मोबाइल थिएन । डिल्लीबजारको चारखालनिर पत्रिकाको अफिस थियो । त्यहीँ नजिकै सार्वजनिक फोन (कक्युनिकेशन सेन्टर) थियो । सायद २ रुपैयाँमा फोन गर्न पाइन्थ्यो । बल्खु पार्टी कार्यालयमा फोन गरेँ, शर्मा थर (यादव हुनुपर्छ) का व्यक्ति हुनुहुन्थ्यो । उहाँले उठाउनुभयो तर समय मिलाउन मान्दै मान्नुभएन । बल्खुमै आएर समय लिनुपर्छ भन्नुभयो । त्यो कुरा माधवकुमार नेपाललाई थाहा भयो कि भएन राम जाने ।

जन्मभूमि साप्ताहिकमा काम गर्दा त्यस्तै भएको छ एकपटक । सिपी मैनालीको अन्तर्वार्ता लिन तीनचोटी धाएर समय मिलाउनुपरेको थियो । नारायणकाजी श्रेष्ठको दुईपटक लिखित अन्तर्वार्ता लिएको छु उहाँ भूमिगत नै हुँदा । यसका लागि चाहिँ मेरा मित्र दामोदर तिमल्सिनाको ठूलो सहयोग रह्यो । बरु उहाँ सार्वजनिक भएपछि चाहिँ चम्चाहरूले कहिल्यै समय मिलाइदिएनन् ।

कतिपय कम्युनिष्ट (बढी माओवादी) नेताका फोन रेस्पोन्स नै नहुने । पिएको पनि पिएले उठाउने । खास पिएसँग त कुरा गर्नै नपाइने, नेताकहाँ कसरी पुग्ने कुरा ? एकपटक माओवादी नेता वर्षमान पुनलाई धेरैचोटि फोन गरेँ । पिएले उठाउने, नदिने या नभन्दिने । कहिलेकाहीँ पिएको पनि पिएले भन्दिने अनेक भाँजो हालेर, उहाँ त व्यस्त हुनुहुन्छ भनेर ।

अगाडि सामूहिक रूपमा भेट्दाचाहिँ वर्षमानले भन्ने फेरि, म तपाईंलाई चिनिहाल्छु नि । नौटंकी । तथापि कुनै कुनै कम्युनिष्ट नेता भने घ्यू जस्ता । विष्णुबहादुर मानन्धर सरल कम्युनिष्ट नेता । उहाँले धेरैचोटी सहजै रेस्पोन्स गरेर समय दिनुभएको छ । मैतीदेवीस्थित घरमै बोलाएर अन्तरर्वार्ता दिनुभएको छ । माओवादी नेता कृष्णबहादुर महरा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि सहज रूपमा अन्तर्वार्ता दिनुभएको छ ।

०६१/६२ ताका जनपहल साप्ताहिकको प्रधानसम्पादक थिएँ । त्यो पत्रिका हेटौँडाबाट निस्कन्थ्यो । म, उत्तम पोखरेल, चन्द्र गिरी र शिव खकुरेलको टीमले त्यो पत्रिका त्यहाँबाट निकाल्थ्यो । त्यसलाई माथिबाट गाइड गर्नुहुन्थ्यो माओवादी नेता विकेश श्रेष्ठ (कुशल प्रधान) ले । भर्खर एमए सकेर पार्टीमै होलटाइमर हुन हेटौँडा झरेको । काठमाडौँमा पत्रकारिता गर्दाको अनुभव त्यहाँ लगेर पोख्दा पत्रिका राम्रै भएछ । राम्रै पिकअप लियो । अनि काठमाडौँमै चलाउने कुरा भएर आइयो । राम्रै चल्यो ।

१८ हजार पत्रिका त मैतीदेवी पिपलबोटस्थित ज्ञानु दाइको प्रेसमा यो आँखाका अगाडि नै छापेको । प्रेस काउन्सिल नेपालअन्तर्गत वितरण सम्परीक्षण समितिको मूल्यांकनमा पहिलोचोटी नै राष्ट्रिय ख वर्गमा परेको । पत्रिका चर्चित हुँदै गएपछि जनादेश निकाल्ने मानिसहरू ईष्र्याको आगोमा जल्न थालेछन् । औडाहा भएछ ।

अन्ततः जनपहल चलाएको विषयलाई त्यो बेलाको बालाजु विस्तारित बैठकमा मुद्दा नै बनाएछन् : हेडक्वार्टरले समानान्तर पत्रिका चलायो भनेर । त्यही बैठकपछि जनपहल बन्द नै गर्नपर्ने अवस्था आयो । र, प्रचण्डको सल्लाहमा चन्द्रजी र केही साथीबाहेक म, शिव र सुरेशकुमार यादव जनदिशा दैनिकमा समाहित हुने निर्णय भयो । म जनदिशाको सहसम्पादकमा रहेँ, गोविन्द आचार्य त्यसको प्रधानसम्पादक हुनुहुन्थ्यो । यो प्रसंग किन सम्झेको भने, त्यतिबेला पनि माओवादी नेतालाई भेट्न र उनीहरूको कार्यक्रम थाहा पाउन हम्मे हम्मे नै पर्ने । यही बेला डा.बाबुराम भट्टराईको अन्तर्वार्ता लिन बौद्ध पुगियो । त्यतिबेला उहाँ र प्रचण्ड एकै ठाउँमा बस्नुहुन्थ्यो ।

अन्तरवार्ता लिने क्रममा बाबुरामको कुरा सुनेर छक्क परेँ । बीचका चम्चे र सल्लाहकारहरूले कसरी नेताको बद्नाम गर्दारहेछन् भन्ने प्रष्ट भयो । उहाँले तपार्इँहरू किन बोलाएको कार्यक्रम, बैठकमा आउनुहुन्न भन्नुभयो । मैले हामीलाई थाहै हुँदैन, कसरी आउनु भनेँ । उहाँले एकजना चर्चित आफूलाई अब्बल दर्जाकै पत्रकार ठान्नेको नाम लिएर भन्नुभयो, मैले खबर गर्ने जिम्मा उहाँलाई दिएको थिएँ नि, थाहा दिँदैनन् ?

अरुलाई काखा आफ्नैलाई पाखा

पहिला पहिला कम्युनिष्टहरू वर्गीय मुक्तिका कुरा खूब गर्थे । यो त उनीहरूको मूल नारा नै हो । तर, अहिले हरायो । त्यत्रो वर्ष जनयुद्ध लडेको माओवादीमा त हरायो, अरुको के कुरा गर्ने ? कांग्रेसीहरू जो आफूलाई खाँटी प्रजातान्त्रिक ठान्छन्, उनीहरू हर क्षेत्रमा आफ्नालाई स्थापित गराउन माहिर छन् । दरबारियाका त कुरै नगरौँ । उनीहरू पुगिसरी आएका भइहाले । कांग्रेसीमा पनि भित्र भित्र लडाइँ होला ।

आपसमा कुरा नमिल्दो हो तर राजनीति मात्र हैन, पत्रकारिता, साहित्य, कलाकारिता, प्राध्यापन, विभिन्न पेशा, व्यावसाय आदि क्षेत्रमा आफ्नालाई मौका दिएर स्थापित गराउन गजबको कलायुक्त नाटक रच्छन् । उनीहरूको यस्तो सूक्ष्म कूटनीति कमैलाई मात्र थाहा हुन्छ । यतिसम्म कि कुनै पुरस्कार, सम्मान, पद्वी, तक्मा आदि सकेसम्म आफ्नै ठूलादेखि साना साहित्यकारलाई जसरी पनि दिलाउँछन् । विभिन्न पुस्तक, विश्वविद्यालयका पाठ्यक्रममा लेख, रचना राख्ने क्रममा समेत यिनीहरूको गहिरो राजनीति हुँदोरहेछ ।

आफ्नो पक्षका सामग्री राम्रा, गुणस्तरीय नभए पनि छानेर राख्दा रहेछन् । गैरकम्युनिष्ट भए फालिदिँदारहेछन् । अझ त्यो त परको कुरा भयो, सरकारी मिडियामा समेत समाचार, फिचर, लेख, रचनामा कांग्रेसीहरू आफ्नालाई नै बढी ठाउँ दिन खोज्छन् । मैले राष्ट्रिय समाचार समिति (रासस) मा काम गर्दाताका त कम्युनिष्ट नेता र स्ट्रिञ्जरका समाचार देखेपछि पसिना चुहिन्थ्यो कांग्रेसीहरूको, अनि ती कम्युनिष्टका कतिपय समाचार र सामग्री कच्याककुचुक पारेर टोकरीमा फालिदिन्थे । कम्युनिष्टहरू भने ठीक उल्टा छन् ।

आफ्नो पक्षकोलाई साहित्यलगायत विभिन्न क्षेत्रमा स्थापित गराउने कलायुक्त यस्ता नाटक गर्र्नै जान्दैनन् नै, बरु आफ्नाकै खुट्टा काट्न्, गला रेट्नचाहिँ नम्बर वान छन् । प्रोत्साहन गर्नुपर्ने ठाउँमा हतोत्साहित गर्छन् । पाएको सम्मानको सूचीबाटै नाम काट्छन् । विनाश काले विपरीत बुद्धि : माहुरीझैँ आफैँ टोकाटोक गरेर सकिन्छन् ।

अन्त्यमा, फेरि संघीय चुनाव आउँदैछ । सबै कम्युनिष्ट नेता, कार्यकर्ताले पत्रकार र जनतासँग कांग्रेसका नेताजत्तिकै व्यावहारिक बन्न सिके उनीहरूलाई नै फाइदा होला, नत्र मिडियासित टाढिने र जनतासँग पर हुन खोज्ने बानीले उनीहरूलाई नै बेफाइदा होला नि ? अनि प्रदीप गिरी नै बन्न नसके पनि कम्तीमा प्रदीप गिरीजति त बन्न पर्ने हो कि कम्युनिष्ट नेताहरू ? भोलिका लागि मलामी त बनाइराख्न प¥यो नि ?

टिप्पणीहरू