गुनासै गुनासो

गुनासै गुनासो

नागरिकता विधेयकमा आफूले पठाएको सुझावलाई सरकारले नमानेपछि राष्ट्रपति दुःखी बन्नुभएको छ । उहाँले आफ्नो दुःखेसो पनि पोख्नुभएको छ ।

कहिले कांग्रेस त कहिले नेताहरूलाई बोलाएर दुःख पोखिरहनुभएको छ । शीतलनिवासको गुनासो छ, सरकारले राष्ट्रपतिको मर्यादा ख्यालै राखेन । सुझाव दिँदा पनि छलफलसमेत गरेन । यस्तो पनि हुन्छ ?

गठबन्धनका दलहरूले राष्ट्रपतिको मर्यादा नराखेकोमा राष्ट्रपति कार्यालयको गुनासो छ । तर राष्ट्रपति आफैले पनि राष्ट्रपति पदको मर्यादा नराखेकोमा गठबन्धन दलहरूको पनि गुनासो रहेछ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा विधेयक र अध्यादेशहरू पास गर्ने बेला राष्ट्रपतिले जे र जसरी भूमिका निर्वाह गर्नुभयो, के त्यो राष्ट्रपतिको मर्यादा अनुकूल थियो ?

यता प्रधानमन्त्रीले पत्र नै पठाएको हुँदैन उता विधेयकमा छाप लागिसक्नु, यता प्रधानमन्त्री राति काम गरिरहनु उता राति पनि राष्ट्रपति कार्यालय खुलै रहनु, अरुले पठाएको विधेयक महिनौं रोकिनु, केपी ओली सरकारले पठाएको विधेयक पुग्नेबित्तिकै छाप लागिहाल्नु ।

के यी कार्यहरूले राष्ट्रपतिको मर्यादा कायम गरेको थियो ? अब राष्ट्रपति आफैले राष्ट्रपति पदको मर्यादा राख्दैन भने अरुले नराखेकोमा के गुनासो गर्नु ? हरि ओम !

टिप्पणीहरू