केपीले आत्मसमीक्षा नगर्दासम्म सहकार्यको सम्भावना देख्दिनँ : प्रचण्ड

केपीले आत्मसमीक्षा नगर्दासम्म सहकार्यको सम्भावना देख्दिनँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग चुनावमा सहकार्य नहुने बताउनु भएको छ । आज बिहान सुर्खेत पुग्नु भएका उहाँले एमाले र उसका अध्यक्षले केही विषयमा आत्मसमीक्षा नगरेसम्म गठबन्धन तथा सहकार्य नहुने उल्लेख गर्नुभएको हो ।

भन्नुभयो, ‘एमालेसँग गठबन्धन र सहकार्यबारे अहिले तत्काल केही सम्भावना देखिएको छैन । हामीले भन्दै आएको संसद विघटनलगायत विषयमा आत्म समीक्षा नगरेसम्म सहकार्यको सम्भावना छैन ।

प्रचण्डले नेकपा एकीकृत समाजवादीसँग भने निर्वाचनमा अलग अलग चुनाव चिन्ह लिएर गए पनि घोषणापत्र साझा बनाएर जाने सहमति भएको उल्लेख गर्नुभयो । उक्त पार्टीसँग एकताको निम्ति संयोजन समिति बन्ने सम्भावना रहेको पनि बताउनुभयो ।

आफू आगामी मङ्सिर ४ को निर्वाचनमा चितवन–३ बाटै लड्ने बताउँदै प्रचण्डले, ‘मैले पहिलेदेखि नै भन्दै आएको छु चितवन–३ बाटै चुनाव लड्ने हो यसमा प्रस्ट हुनुहोला,’उहाँले दोहोर्याएर भन्नुभएको छ ।

सत्ता गठबन्धनभित्र सीट बाँडफाँडबारे सहमति नजिक पुगिसकिएको र आज पनि सोहीबारे थप छलफल हुने उहाँले जानकारी दिनुभयो ।

टिप्पणीहरू