गर्भवतीको मृत्युपछि स्वास्थ्यमन्त्रीद्वारा पद त्याग

गर्भवतीको मृत्युपछि स्वास्थ्यमन्त्रीद्वारा पद त्याग

गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले पदबाट राजीनामा दिएकी छन् । प्रसूति वार्डमा ठाउँ अभावका कारण एक अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा हृदयघातका कारण ३४ वर्षीया गर्भवती महिलाको मृत्यु भएपछि उनले नैतिकताका आधारमा पद त्याग गरेकी हुन् ।

डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि पोर्चुगलमा स्वास्थ्यमन्त्री थिइन् । पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु नै डा. टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ साबित भएको बताएका छन् ।

प्रधानमन्त्री कोस्टाले एक विज्ञप्ति निकाल्दै स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकृत गरेको बताएका छन् । उनले उत्कृष्ट कामका लागि टेमिडोलाई धन्यवाद पनि दिएका छन् ।

पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको प्रसूति वार्डमा बेड अभाव भएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोही क्रममा उनको मृत्यु भएको थियो ।

टिप्पणीहरू