कोरोनाले थलियो नरैनापुर

कोरोनाले थलियो नरैनापुर

गरिबी, अशिक्षा, जनचेतना अभावमा जकडिएको बाँकेको नरैनापुर बाढी, आगलागीजस्ता विपदबाट प्रभावित रहँदै आइरहेको थियो, विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाबाट पनि नराम्ररी प्रभावित भयो ।

अहिले नरैनापुर पालिकाले सम्बद्धहरूसँग सहयोग मागिरहेको छ । सहयोग माग्दै जिल्ला प्रशासन कार्यालयलगायत निकायसँग पालिकाले पत्राचार गरेको छ । जिल्लास्थित सरोकारवालाले त सक्दो पहल गरिरहेकै छन् । प्रदेश सरकार र संघीय सरकारको ध्यान भने नरैनापुरतिर पटक्कै नगएको स्थानीयको भनाइ छ । एउटै पालिकामा ठूलो संख्यामा संक्रमित देखिएर अवस्था नियन्त्रणबाहिर जानै लाग्दा पनि सरकारले बेवास्ता गरेको गुनासो छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको बाँकेको नरैनापुरको अवस्था गम्भीर बन्दै गएपछि नरैनापुर गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, बाँकेलाई पत्र, थप स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पठाई नरैनापुरमा कोरोना नियन्त्रणका लागि यथाशक्य पहल गर्न माग गरेको थियो ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले नरैनापुरको स्थिति नियन्त्रणबाहिर जानसक्ने अवस्था आएको भन्दै चिकित्सक र थप सुरक्षा टोलीसहित आवश्यक जनशक्ति परिचालन गर्न माग गरेपछि सेनासहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पालिकामा पठाइएको बताए ।

नरैनापुर गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका संक्रमितहरू राख्न लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन बनाउने तयारी भए पनि आवश्यक पूर्वाधार, बत्तीको व्यवस्था नहुँदा सो तयारी सफल भएन, पालिकामै आइसोलेसन नभएपछि संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पताल, नेपालगञ्जस्थित डेण्टल अस्पताल र कोहलपुर पिपरीस्थित कृषि तालिम केन्द्रमा राखिएको थियो ।

नरैनापुरको क्वारिन्टनमा बसेका ९ सय ७८ जनामध्ये ७ सय ९ जनाको रिपोर्ट नेगेटिभ आएर घर फिर्ता भएका छन् । कालाफाँटामा कार्यरत गुल्मीका प्रहरी जवानसहित १ सय १६ जना संक्रमित भएकोमा एक जनाको मृत्यु भएको छ भने ३ जना उपचारपछि घर फर्केका छन् । अहिले नरैनापुरस्थित बिभिन्न क्वारेन्टाइनमा १ सय ५३ जना छन् ।

पालिकामा १४ वटा क्वारेन्टाइन छन् । भारतको महाराष्ट्र, मुम्बईलगायत स्थानबाट लकडाउनयता नरैनापुरका १५ सय बढी स्थानीय खुला नाकाबाट प्रवेश गरेका थिए । अहिले पनि दिनहुँ प्रवेश गर्नेहरूको संख्या बढी नै छ ।

मापदण्डअनुरूप क्वारेन्टाइन नभएको भन्दै जिल्लास्थित मानव अधिकारवादी संस्थाले ध्यानाकर्षण गराएका छन् । जनचेतना अभावका कारण संक्रमित पुष्टि भइसकेपछि आइसोलेसनमा लैजान खोज्दा स्थानीयबाट अवरोध हुने, संक्रमित भाग्ने समस्या त्यहाँ देखिएको थियो । संक्रमितको संख्यामा भइरहेको बढोत्तरी र स्थानीयबाट भइरहेको असहयोगका कारण अहिले सो पालिकालाई जेठ ११ गतेदेखि अर्काे आदेश जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
हाल सो पालिकामा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । हाल नरैनापुरको अवस्था नियन्त्रणमा छ ।

नरैनापुरलगायत क्षेत्रमा संक्रमण बढेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई गृह मन्त्रालय तानिएको छ भने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङलाई बाँकेमा खटाइएको छ ।

प्रमुख जिल्ला अधिकारीका रूपमा बाँके पठाइएका कुरुवाङले पदभार ग्रहण गरेलगत्तै बाँके जिल्लाभर निषेधाज्ञा लगाएका छन् भने नरैनापुरलगायत पालिकामा रहेका क्वारेन्टाइनको निरीक्षण गरेका छन् । कार्यभार सम्हालेको दोस्रो दिन नरैनापुर पुगेका उनले त्यहाँका क्वारेन्टाइन देखेर जेलको संज्ञा दिएका थिए । प्रजिअ कुरुम्वाङले क्वारेन्टाइन मापदण्डअनुसार नभएको बताए । उनले डुडुवा गाउँपालिकाकोे क्वारेन्टाइन अवलोकनका क्रममा आरटीडी र पीसीआर दुबैमा कोरोना रिपोर्ट पोजेटिभ भएका व्यक्तिलाई एउटै कोठामा राखेको पाइएको बताए । उनले प्रभावकारी लकडाउन, व्यवस्थित क्वारेन्टाइन आफ्नो महŒवपूर्ण प्राथमिकता रहेको बताए ।

टिप्पणीहरू