साहुकारविरुद्ध प्रतिरोध समूहको बालुवाटारमा मार्चपास

साहुकारविरुद्ध प्रतिरोध समूहको बालुवाटारमा मार्चपास

मीटरब्याज पीडितहरुको न्यायका लागि काठमाडौँको माइतीघर मण्डलादेखि बालुवाटारसम्म मार्चपास गरिने भएको छ । पीडितहरुले माइतीघरमा धर्ना दिन थालेको एक महिना बितिसक्दा पनि माग पूरा नभएपछि प्रतिरोध समूहले भोलि ‘माइतीघर–बालुवाटार मार्च’ गर्न लागेको हो ।

समूहले मार्चमा ऐक्युबद्धता जनाउन सम्पूर्ण किसान–मजदुर, श्रमजीवी वर्ग र न्यायप्रेमी जनसमुदायलाई अपिल गरेको छ । आज जारी विज्ञप्तिमा पीडित मजदुरहरुका माग सम्बोधनार्थ दबाब सिर्जना गर्न सधैं प्रतिबद्ध रहेको उल्लेख छ ।

समूहले भनेको छ,‘मुठ्ठीभर साहुकारहरुविरुद्ध पीडित किसान–मजदुरहरुको प्रतिरोध–संघर्षमा हामी सक्रिय रुपमा भागिदारी जनाइरहेका छौं । यस संघर्षलाई अझ जुझारु बनाउन,संगठित ढंगले देशव्यापी बनाउन र पीडित किसान–मजदुरहरुका तत्कालिन माग सम्बोधनार्थ दबाब सिर्जना गर्न हामी निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउँदछौं ।’

मीटरब्याज पीडितहरु न्यायको माग गर्दै संघर्षमा जुटिरहेको बेला सरकार र सम्बन्धित निकायले बेवास्ता गरेको समूहको ठहर छ । गरिब मजदुरहरुलाई सुनियोजित रुपमा ठग्ने र जमिन हडप्ने साहुकारको विरोधमा यत्रो समयदेखि धर्ना दिँदा पनि उनीहरुको माग सम्बोधन गर्न कसैले पनि चासो नदेखाएको विज्ञप्तिमा उल्लेख छ ।

साक्षरताको कमीको फाइदा उठाएर स्थानीय नेता, बैंक–वित्तीय संस्था र अन्य सरकारी निकायको साँठगाँठमा मीटरब्याजको धन्दा चलेको आरोपसमेत लगाइएको छ ।

‘मुख्यतः तराई क्षेत्रमा मध्यवर्गीय र निम्नवर्गीय परिवारको दैनिक गुजाराका लागि, आधारभूत आवश्यकताका लागि र भैपरी आउने खाँचोपूर्तिका लागि नगद–ऋण लिन स्थानीय सरकारको भर पर्नुपर्ने बाध्यता छ । यही बाध्यताको आडमा अनि साक्षरता कमीको फाइदा उठाएर स्थानीय राजनीतिक नेता, बैंक–वित्तीय संस्था र अन्य सहकारी निकायको साँठगाँठमा मिटरब्याजको धन्दा चलिरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू