ज्योतिको धोती न टोपी

ज्योतिको धोती न टोपी

आन्तरिक रुपमा बढ्दै गएको सुशासनको अभावले एक महिनादेखि ज्योति विकास बैंकमा सीईओ खाली छ । अपारदर्शी कामकारबाहीप्रति असहमति जनाउँदै दिएको राजिनामापश्चात् सञ्चालक समितिमा पनि एकजना विज्ञ सञ्चालकको पद खाली छ । उत्कृष्ट कार्य गरेको भन्दै गत साउनदेखि तलब, भत्ता र सुविधा बढाइएका सीईओलाई नौ महिना नपुग्दै हठात् निश्कासन गरेपछि बैंकको निर्णयसमेत शंकाको घेरामा परेको हो ।

धेरै तलब, भत्ता र सुविधा लिने बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको तलब रकम सँधै शंकाको घेरामा पर्ने गरेको छ । विशेषगरी अध्यक्षको ठाडो प्रस्ताव र आग्रहमा नियुक्त गरिने सीईओ र कायम मुकायमको तलब तथा सुविधालाई लिएर केन्द्रीय बैंकमा पनि चर्चा हुने गरेको छ । प्रत्यक्ष रुपमा सीईओले बुझेपनि उक्त रकम बाँडिचुँडी हुने आरोपसमेत लाग्दै आएको छ । अहिले ज्योतिको कायम मुकायम सीईओको तलब भत्तामा समेत उक्त आशंका गरिएको हो ।

बैंकले यसअघिका कायम मुकायम सीईओको तलब तोकेपनि भत्ता र सुविधाको किटानी गरेको थिएन । तर, योग्यतामै प्रश्नचिन्ह उठेको र वरियतामा पनि तेस्रो नम्बरमा रहेका व्यक्तिलाई यसअघिका सीईओ सरह सबै सुविधा पाउनेगरी गरिएको निर्णयलाई सञ्चालक समिति र विशेषगरी अध्यक्षसँग जोडेर हेरिएको छ ।

बैशाख १० गतेको सञ्चालक समितिको बैठकमा सीईओ हटाउने र वरियतामा  दोस्रो नम्बरकालाई पन्छाएर तेस्रो नम्बरका अधिकृतलाई सीईओ बनाउने ठाडो प्रस्ताव अध्यक्षले राखेका थिए । सीईओको सम्पूर्ण तलब, भत्ता र सुविधा प्रदान गर्ने प्रस्तावमाथि आशंका गर्दै एकजना सञ्चालकले निर्णय पुस्तिकामा असहमतिका बुँदा (Note Of Decent) दर्ज गरेका छन् ।

टिप्पणीहरू