सुन काण्डमा सँलग्न गृहमन्त्रीका अङ्गरक्षक थुनिए

सुन काण्डमा सँलग्न गृहमन्त्रीका अङ्गरक्षक थुनिए

गृहमन्त्री बालकृष्ण खाँणको सवारी हुँदा अगुवा गाडीमा रहने अङ्गरक्षक नै सुन काण्डमा सामेल भएपछि समातिएर हेडक्वार्टर सङ्गैको एक नम्बर गणमा थुनिएका छन् । वरिष्ठ सई टंक कार्की मन्त्री खाँणको सवारीमा अघिपछि हिँड्ने सुरक्षाकर्मीको अगुवा र पछुवा सवारी साधनको समूहमा कार्यरत छन् । उनै कार्की सुन काण्डमा मुछिएपछि अहिले प्रहरी प्रधान कार्यालयले त्यहाँबाट थुतेर छानबिन गर्न थालेको छ ।

‘सुन काण्डवाला सईमाथि छानबिन भइरहेको छ,’ अनुसन्धानमा संलग्न एक जना अधिकारीले भने । गृहमन्त्रीका पीएसओ कार्की सुन काण्डमा संलग्न भएको समाचार बाहिरिएपछि पिए नरेन्द्र केसीले कार्कीलाई मन्त्रीको पीएसओ नरहेको जानकारी गराउन प्रहरी प्रधान कार्यालयलाई ठूलै दबाब दिएको प्रहरी अधिकारीहरु बताउँछन् । केसीले कार्की मन्त्रीको पिएसओ होइन भनेर जानकारी गराउन निकै दबाब दिएको सन्दर्भ उल्लेख गर्दै ती प्रहरी अधिकृतले भने, ‘उसलाई असर पर्यो भन्दैमा संगठनले ढाँट्न मिल्छ र ?’

यसबीच प्रहरी प्रधान कार्यालयले भदौ ७ गते विज्ञप्ति समेत जारी गरेको थियो । उक्त विज्ञप्तीमा निज कार्की मन्त्रीको पिएसओ रहेको उल्लेख छ । तर उनीमाथि कारवाहीको लागि छानबिन थालिएको प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

को हुन् कार्की ?

मन्त्री खाँणको पीएसओ रहेका वरिष्ठ सई कार्की मन्त्रीको अघि पछि हिँड्ने सुरक्षा समूहका सदस्य हुन् । यसअघि खाँण रक्षामन्त्री हुँदा पनि उनी सोही समूहमा थिए । गृहमन्त्रीमा नियुक्त भएपछि अगुवा गाडीमा हिँड्न थालेका हुन् ।

यस्तो छ कार्कीको सुन काण्ड

गत असार ९ गते हिमालय एअरलाइन्सको दुबई उडानबाट छ जनाले अर्काको सुन बोकेर आएका थिए । ती सबै भिजिट भीसामा काम गर्न गएका हुन् । काम गर्न नपाएपछि सुन बोकाएर अरुले भरिया बनाई काठमाडौं पठाएको अनुसन्धानबाट खुलेको छ ।

उता काम गर्न गएकाले भाडाको लोभमा सुन बोकेको बयान दिएका छन् । नेपाल टेक्नासाथ छ जनामध्ये एक जनाले सुन लिएर अन्तै हिँडेपछि कुरो बाहिरिएको बताइन्छ । अहिले एसएसपी जीवन श्रेष्ठको नेतृत्वमा उनीहरु सबैमाथि अनुसन्धान भइरहेको छ । उक्त सुन त्यसरी मगाउने काण्डको प्रपञ्च मिलाउने उनै टंक कार्की रहेको यथार्थ पनि खुल्दै गएको छ ।

उताबाट सुन पठाउनेले काठमाडौं पुगेपछि ५० ग्राम सुन हराएको गुनासो गरे । सुन पठाउने आकाश ठकुरी थिए । ५० ग्राम सुनसहित भागेकालाई ठीक पार्ने प्रपञ्च कार्कीले मिलाएका हुन् । त्यसरी सुन लिएर भाग्ने को थिए भन्नेबारे अरु पाँच जना र आकाशले कार्कीलाई बताएपछि त्यो सुन जम्मा पार्न उनी ज्यान फालेर दौडिएका हुन् ।

५० ग्राम सुन नबुझाउनेलाई पक्रेर कार्कीलगायतको समूहले गौशाला वृत्तमा लगी ११ दिन थुन्यो । ती व्यक्तिले आफूसँग भएको चार लाख र चेक लुटिएको आरोप लगाएका छन् । ती सबै काम उनै कार्कीको योजना र संलग्नतामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अहिले कार्कीमाथि छानबिन गरिएको बताउँदै एक जना प्रहरी अधिकृतले भने, ‘ हेडक्वार्टरमा रहेको निरीक्षणालयका एसएसपी जीवन श्रेष्ठले छानबिन गर्नुभएको छ ।’

त्यो दिन ५० ग्राम सुन बोकेर सरासर विमानस्थलबाट बाहिर गएका व्यक्ति एअरपोर्टबाट सुकेधारा पुगेका थिए । त्यसपछि उनलाई सिभिल ड्रेसका प्रहरीले पक्रेको बताइन्छ । प्रहरीले पक्रेर ११ दिनसम्म थुनेपछि किन त्यसरी थुनियो भन्ने बारेमा प्रहरी अनुसन्धान केन्द्रित भएको बताइन्छ । डीएसपी कार्यरत रहेको वृत्तमा भएको उक्त घटनामा धेरै जना आशंकाको घेरामा तानिएका छन् ।

प्रहरीले पीडित भनिएकालाई पनि बोलाएर बयान लिन थालेको छ । आफू संलग्न भएको समाचार बाहिरिएपछि मन्त्रीका पिएसओ सबैलाई छुटाउने नयाँ प्रपञ्चमा लागेको स्रोतको दाबी छ । यसबीच प्रहरीले अनुसन्धानमा सम्भव भएसम्मका ठाउँका सिसिटिभी फुटेजसमेत हेरेको बताइन्छ ।

टिप्पणीहरू