प्रकट हुँदै गरेका प्रदीप गिरीहरुको घाँटीमा प्रहार

प्रकट हुँदै गरेका प्रदीप गिरीहरुको घाँटीमा प्रहार

– लेखनाथ भण्डारी

नेपाली राजनीतिक क्षितिजका विशिष्ट व्यक्तित्व थिए– प्रदीप गिरी । समकालीन सबैलाई थाहा छ, थियो– उनको व्यक्तित्वको उचाइमा हामी कोही पनि छैनौं । तर, हामी कसैले उनको उचाइका अगाडि जीवनपर्यन्त कहिल्यै शीर झुकाएनौं र छेउमा गएर सोधेनौं पनि– ‘प्रिय प्रदीप, हामीले तिमीबाट के सिक्न सक्छौं ? हामीलाई तिमीले के सिकाउन सक्छौ ? हामीले तिम्रो उचाइको व्यक्तित्व किन बनाउन सकेनौं ? कसरी हामी तिम्रो उचाइमा पुग्छौं वा पुग्नै सक्दैनौं कहिल्यै पनि ?’

बाँचुञ्जेल प्रदीप गिरी समकालीन नेपाली राजनीतिक सत्ताका लागि अराजक र अनुशासनहीन भए । उनलाई राजनीतिक सत्ताले कहिल्यै ‘गेम चेञ्जर गोटी’का रूपमा खेल्न र खेलाउन सकेन । सम्भवतः उनको व्यक्तित्वको त्यही उचाइ अन्ततः शोक वक्तव्यहरूमा प्रकट भएर बगेको छ । मानौं, ती शोक वक्तव्यको आँशु श्रद्धा–सम्मान र दुःखका होइनन्, फगत गोहीका आँशु मात्र पो थिए कि ! आफैंलाई प्रश्न गर्नुपर्ने यति अप्रिय टिप्पणी लेख्नुपर्दा यो पंक्तिकार स्वयं दुःखी छ ।

प्रदीप गिरी सत्ताको राजनीतिक भीडमा पहिल्यैदेखि एक्लै थिए र एक्लै गए पनि । सम्भवतः एक वर्षयता उनी असाध्य रोगले थलिएकाले वैचारिक, राजनीतिक संघर्षबाट विमुख भएर शारीरिक स्वास्थ्यका लागि संघर्ष गरिरहेका थिए । यो असाध्य रोगसँगको संघर्ष शुरु हुनुपहिल्यै उनको वैचारिक संघर्षको हामीले कहिल्यै गणना गरेनौं । तपाईंको स्वतन्त्र, निष्फिक्री र चेतनायुक्त वैैचारिकी हामी कहाँ, कसरी लिन वा अपनाउन सक्छौं विद्वत महोदय भनेर सोधखोज गरेनौं तर जब उनी स्वयं ढले, तबमात्र शुरु ग¥यौं– उनको महिमागान र स्वास्थ्यलाभको कामना ।

प्रदीप गिरीको व्यक्तित्व, भूमिकाको बारेमा उनका समकालीन नेताहरूबाट आज–भोलि प्रकट भएका सार्वजनिक अभिव्यक्तिहरू पनि भगवानलाई गलत सिद्ध गर्ने प्रयास मात्र हुन् ।

हामीलाई थाहा नभएको होइन– जीवन मरणशील छ । प्रदीप गिरी पनि अमर छैनन् । तर जब उनलाई अब ‘गेम चेञ्जर गोटी’ का रूपमा गणना गर्नुको औचित्य सकियो, तब मात्र हाम्रो सम्झनामा परेका थिए प्रदीप गिरी । धेरैलाई यस्तो लाग्न सक्छ– ‘अस्पतालको बिस्तरामा थलिएका गिरीलाई पनि त कसले सम्झ्यो र ?’ हो, तर अस्पतालको विस्तरामा थलिएको बेला सम्झनु–नसम्झनु र देहत्यागपछि सम्झनुमा कति नै पो फरक पर्छ र ?’

प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गर्दै विश्वव्यापी दीप प्रज्वलनको क्रम शुरु भएको थियो दुई–तीन दिन पहिलेदेखि मात्र । सामाजिक सञ्जालमा जादूले ट्विट गरे–

नैनं छिन्दन्ति शस्त्राणी नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत : ।।

गीतामा उल्लिखित यो श्लोकझैँ अनुमान गरिहाल्ने सन्दर्भ थियो– प्रदीप गिरीको स्वास्थ्यलाभको कामना ! अनुमान त यस्तो थियो– प्रिय प्रदीप, तिमी स्वस्थ भएर फर्कनुपर्छ । हामीलाई तिम्रो अझै खाँचो छ, समकालीन राजनीतिक मञ्चहरूमा । तर, यसको अर्थ अर्कै पो रहेछ–

मृत्यु उत्सव नै हो जन्म जति हो
महाप्रस्थानको शुभकामना प्रदीप गिरी ।

औपचारिक रूपमा देहावसान घोषणा नगरिएका व्यक्तित्वका सम्बन्धमा ‘यस्तो श्लोक’ सम्प्रेषण गर्न नहुने प्रतिक्रियाका सम्बन्धमा जादूको थप टिप्पणी रहेछ– ‘औपचारिक हुन मृत्युले पनि नजान्दो रहेछ, अमृतमय होस् यो महायात्रा, यत्ति रह्यो कामना ।’ तुलनात्मक रूपमा अलि धेरै लाइक, कमेन्ट, शेयर, फलो, रिट्विट आदि हुने जादूका अन्य पोष्टहरूको तुलनामा यसलाई भने १–२ जनाले मात्र ‘नोटिस’मा लिएको देखिन्छ । आखिर किन यस्तो हुन्छ ? किनकि हामीसँग ‘रेडिमेड’ शोक वक्तव्य छन् । हामी नाम र मिति ‘कट पेष्ट’ गर्छौं र सम्प्रेषण गर्छौं– ती ‘रेडिमेड’ शोक वक्तव्यमा हाम्रा उदात्त हृृदयका भावना, मानवीय दुःख, पीडाका आँशु, सम्झना र समवेदनाका लहरहरू, तिनका व्यक्तित्व र कृतित्वको महिमा र अभाव तथा अपूरणीय क्षतिका कथाहरू ।

भगवान्सँग हामी त्यो प्रार्थना किन गर्छौं, जुन भगवान्ले पनि सुन्दैनन् । यस्तो लाग्छ– प्रदीप गिरीको व्यक्तित्व, भूमिकाको बारेमा उनका समकालीन नेताहरूबाट आज–भोलि प्रकट भएका सार्वजनिक अभिव्यक्तिहरू पनि भगवानलाई गलत सिद्ध गर्ने प्रयास मात्र हुन् । जन्मँदै गरेका प्रदीप गिरीहरूको घाँटी निमोठेर सिंहासन ओगटी बसेकाहरूले महाप्रस्थान गर्दै गरेका प्रदीप गिरीको ‘शीघ्र स्वास्थ्यलाभको कामना’ गर्दै होस् वा उनको महाप्रस्थानबाट उनको अभाव खट्किएको वा अपूरणीय क्षति भएको दस्ताबेज सार्वजनिक गर्नुको के अर्थ रहला र ? उनी त के थिए र ? न आसन, न सिंहासन । सिंहासनबाट हामी झरे पो हुन्छ त अपूरणीय क्षति !

समकालीन नेपाली सामाजिक–साँस्कृतिक, राजनीतिक आकाशमा प्रदीप गिरी औंलामा गन्न सकिने व्यक्तित्व थिए निसन्देह । औंलामा गन्न सकिनेहरूलाई हामीले चिन्ने वा गन्ने भनेको के यस्तै महाप्रस्थानको मार्ग तय गर्दा वा गरिसकेपछि मात्र हो त ? सामाजिक सञ्चार माध्यम र सञ्जालहरू प्रदीप गिरीको नाममा आँशुले छपक्कै भिजेका छन् अहिले । उदार÷प्रजातान्त्रिक समाजवादी चिन्तक गिरी नेपाली भाषा, साहित्य, संस्कृतिका पनि विशिष्ट साधक हुन् । संस्कृति भनेपछि पनि हामी भाषा, साहित्य, कला, चाडपर्व आदि अझै बुझ्न सक्दैनौं । राजनीति त सामाजिक जीवनका यी तत्वमा मिल्नै नहुने वा मिल्नै नसक्ने अघुलित ‘तŒव’का रूपमा बुझ्छौं किनकि यसको प्रयोग, व्यवहार र परिणामले यही सिकाएको छ । तसर्थ पनि भन्नुपर्छ– प्रदीप गिरी नेपाली समाजका बहुआयामिक व्यक्तित्व थिए ।

प्रदीप गिरीका एक समकालीन थिए– सोनाम साथी पनि । उदार प्रजातान्त्रिक समाजवाद र कठोर जनवादी समाजवादका पक्षपाती मानिने यी दुवै विपरीत ध्रुवका आ–आफ्ना शिखरहरू थिए । यी दुवै व्यक्तित्वसँगको व्यक्तिगत सम्बन्धका कारण उदाहरणीय अग्रज आदर्शहरूको गणनामा यो टिप्पणी आधारित छैन । उता पुगेर बेपत्ता भएकाहरूको नाम लिनुपर्दा त सोनाम साथी, निर्मल लामा, किसुनजी, भीमबहादुर, महेन्द्रनारायण आदि धेरै हुन सक्छन् । त्यस्तै यता रहेर पनि बेपत्ता हुनेहरूको नाम लिनुपर्छ कि पर्दैन ? उमेरले डाँडो काटेका, स्वास्थ्यले थलिएका र अपेक्षित योगदान र लाभ प्राप्त भइसकेका तिनका भूमिकाको औंलामा गन्न सकिने स्वनामधन्य साधकहरूको नाम के हामीलाई अहिले पनि थाहा छैन र ? यी साधकहरूको उचाइ ‘रेडिमेड’ शोक वक्तव्यहरूमा कट पेष्ट गरिनुपर्ने नामहरू मात्र हुन् कि तिनको जीवनकामै पनि तिनका प्रति हाम्रो कुनै भूमिका हुन सक्छ ? हुनुपर्छ ? हाम्रा आदर्श, अग्रजहरूलाई शोक वक्तव्य, शोक पुस्तिका, स्मारिकाहरूको दस्तावेजहरूमा मात्र अपूरणीय क्षतिको विवरण नभर्न सके कति राम्रो हुने थियो !

अन्त्यमा, एउटा सार्वजनिक सूचनामा यो पंक्तिकारको आँखा परेको थियो– गत वर्ष ७०/७१ वर्षको उमेरमा निधन भएका सोनाम साथीको सम्झनामा प्रकाशित स्मारिकाको सम्पादकमा अर्का सौन्दर्य साहित्यका वरिष्ठ साधक/राजनीतिक व्यक्तित्व निनु चापागाईंलाई खेताला बनाइएको रहेछ । हो, यस्तै गर्ने हो भने त अब प्रदीप गिरीको स्मरणमा प्रकाशित हुने स्मारिकाको सम्पादकका लागि अर्का वरिष्ठ राजनीतिक व्यक्तित्व रामचन्द्र पौडेल आदि कसैलाई खेताला किन नबनाउने ? के यसरी नै हो त हामीले वरिष्ठ साधक, अग्रज तथा अग्रज व्यक्तित्वहरूको अपुरणीय क्षतिको परिपूर्ति गर्ने ? खे के भनौं र प्रदीप गिरीज्यू ?

महाप्रस्थानको महाशुभकामना !

टिप्पणीहरू