त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ‘सुरक्षा थ्रेट’

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ‘सुरक्षा थ्रेट’

विश्वविद्यालयका विद्यार्थीहरुबाटै असुरक्षित महशुस गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले निजी सुरक्षाकर्मीको माग गरेका छन् ।

कार्यालय र सार्वजनिक कार्यक्रममा असुरक्षा बढेको बताउँदै उपकुलपति बास्कोटाले आफूसहित शिक्षाध्यक्ष र रजिष्ट्रारका लागि दुई–दुई वटा निजी सुरक्षा अधिकृतको माग गरेका हुन् ।

गृह मन्त्रालयलाई अनुरोध गर्दै उनले शान्तिपूर्ण रुपमा काम कारबाहीको वातावरण मिलाइदिन आग्रह गरेका छन् । विभिन्न विद्यार्थी संघ संगठनले तालाबन्दी गर्ने, उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कुर्सी तथा टेबल जलाउने, बारम्बार कार्यकक्ष तोडफोड गर्ने, कर्मचारीहरुलाई मानसिक तनाव दिनेलगायत अमानवीय कार्य हुँदै आएको परिपत्रमा उल्लेख छ ।

त्यस्तै, दिनहुँ फोन गरेर धम्काउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसेर आक्रमण शैलीमा प्रस्तुत हुने, प्रचलित कानूनले निषेध गरेका शब्दहरु उल्लेख गरी म्यासेज गर्ने, कार्यालय प्रवेश निषेधजस्ता कार्य गर्ने र सोलाई निरन्तर दिँदै आएका कारणले पदाधिकारीहरुले गम्भिर रुपमा असुरक्षित महशुस गरेको पत्रमा लेखिएको छ ।

भौतिक रुपमा आक्रमण गर्ने सम्भावना बढेकाले तत्काल सुरक्षाकर्मीको बन्दोबस्त गरिदिन उपकुलपति बास्कोटाले गृह मन्त्रालयसँग जोडदार माग गरेका हुन् ।

टिप्पणीहरू