मन्त्रीले अरु काम गर्न नसकेर यता हात हाल्दा रहेछन्

मन्त्रीले अरु काम गर्न नसकेर यता हात हाल्दा रहेछन्

३२ वर्ष निजामती सेवामा रहेका केदार न्यौपाने अघिल्लो वर्षदेखि निवृत्त जीवन बिताइरहेका छन् । ०४७ सालदेखि सेवा शुरु गरेका उनी ०५३ मा उपसचिवमा बढुवा भए । ०६६ सालमा सहसचिव बनेर सोलुखुम्बु र काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी चलाए । ०७४ मा सचिव बढुवा भए र केपी ओलीको कार्यकालभरि खेदाइ खाए । गृहका क्याडर उनी लामो समय प्रदेश–१ को प्रमुख सचिव हुँदै काठमाडौँ महानगर, भूमिसुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय र अन्तिममा युवा तथा खेलकुद मन्त्रालय । अवकाशलगत्तै राप्रपा रोजेर राजनीतिमा होमिएका छन् । सर्वोच्चमा रिट हालिरहने वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने उनका साख्खै दाजु हुन् ।

– हरि गजुरेल

ब्युरोक्रेसीलाई राजनीतिकर्मीले किन घुमाउँदा रहेछन् ?

– अन्य देशका राजनीतिज्ञले राजनीति र राज्यसंयन्त्रलाई सहयोगीको रूपमा बुझेका छन् । तर हाम्रोमा चाहिँ राजनीति गर्नेहरूले ब्युरोक्रेसीलाई प्रतिस्पर्धी ठान्दछन् । यी हामीभन्दा बढी पढेका, जानेका छन् । देश विदेश घुमेका छन् भन्दै सहयोग लिनेभन्दा पाखा पु¥याउने र साइड लगाउने गर्दछन् । राजनीतिकर्मीमा संकीर्णता छ । उनीहरू देश समृद्ध बनाउने भन्दा आफ्नो दुनो सोझ्याउनमा केन्द्रित छन् । त्यही कारण राजनीति र प्रशासनबीच तालमेल मिलेको छैन ।

ब्युरोक्रेसी जसलाई हामी स्थायी सरकार भन्दैछौँ । त्यसले राजनीतिकर्मीलाई किन ठेगानमा राख्न नसकेको होला ?

– देखिने सरकार भनेको निर्वाचित सरकार हो । नदेखिने सरकार हामीजस्ता लोकसेवा पास गरेर आएका कर्मचारी हौं । जनप्रतिनिधिहरू पाँच÷पाँच वर्षमा परिवर्तन हुन्छन् । लोकसेवा भिडेर आएकाहरूले लामो समय काम गर्छन् । हाम्रो देशमा कुनै पनि नेताले तपार्इंहरू स्थायी सरकार हो, धेरै बुझ्नुभएको छ । राम्रो गर्नुहोस् भनेर उत्साह भरेको वा प्रोत्साहन गरेको मैलेचाहिँ देखेको वा सुनेको छैन । स्वार्थ पूर्ति गर्नका लागि नेताले एस म्यान, लम्पसारवादी, क्वालिटी कम भएको कर्मचारी छान्छ तर अन्य देशमा नैतिकवान, अनुभवी, पढे लेखा कर्मचारीलाई रोजिन्छ ।

अहिले आएर हामीकहाँ सबैभन्दा कमजोर, नैतिकहीन, आफ्नो लजिक दिन नसक्ने, तर्कले जित्न नसक्ने, टाउको हल्लाउने मान्छेलाई सचिवदेखि मुख्यसचिव बनाउन थालियो । पहिला क्याडरलाई सचिव बनाइन्थ्यो । उसले राम्रोसँग सेवा प्रवाह गथ्र्याे । अहिले त जुन विषयमा केही ज्ञान छैन । त्यस्ता मान्छेलाई लगेर सचिव बनाउन थालिएको छ । जसलाई सचिव हो कि मन्त्रीको निजी सचिव हो छुट्ट्याउन गाह्रो छ ।

अहिले गणतन्त्रभन्दा गनतन्त्र (पैसाको खेल) हावी भयो । बिचौलियाको बोलबोल भयो । ३०÷४० वर्षअघि बिचौलिया, मिडिल म्यान, सेटिङ भन्ने शब्द प्रचलनमा थिएन । त्यतिखेर कुनै निर्णय गर्दा देशलाई राम्रो हुन्छ वा हुन्न हेरिन्थ्यो ।

नेतृत्वले भनेको नमान्दा, दायाँ–बायाँ गर्न नजान्दा एउटा प्रशासकले कति दुःख पाउँदो रहेछ ?

– दुःख त मज्जाले पाउँछ । तर तत्काल दुःख पाए पनि दीर्घकालका लागि फाइदा हुन्छ । तत्काल बढुवा नगरिएला वा तारन्तार सरुवा गरिएला तर दीर्घकालसम्म शीर ठाडो पारेर हिँड्न सकिन्छ । कतिपय हामीसँगै काम गरेका वा हामीभन्दा अघि अवकाश भएका साथीहरू मरे वा जिउँदो छन्समेत पत्तो छैन ।

सत्ता ब्युरोक्रेटले अवकाशलगत्तै छानीछानी संवैधानिक निकायमा नियुक्ति पाएको देखिन्छ । हैन र !

– कर्मचारीले नचाहिँदो काम गर्नुको एउटा कारण त्यो पनि हो । ३० वर्ष जागिर खाइसकेपछि छ वर्षका लागि के लोभ गर्ने ? संवैधानिक निकायमा नियुक्ति खाएर केही समयको लाभ त होला तर ती जीवनमा खुशी छैनन् ।

हरेक दिनजसो अख्तियारले कुनै न कुनै राष्ट्रसेवकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिरहेको छ । यो रसातलबाट ब्युरोक्रेसीलाई कसरी उठाउने ?

– नेता खान्छ मात्र, खाने ठाउँमा सही (हस्ताक्षर) गर्दैन । त्यसैले अहिले कतिपय कर्मचारी साथीविरुद्ध मुद्दा छ । हाम्रोमा सही नगरी खाने पात्र धेरै छन् । तर, न्याय प्रशासनले त्यसरी खानेलाई चिन्दैन । कर्मचारीलाई कुन बाध्यता, विवशता वा परिबन्दमा पारेर सही गराएको हुन्छ त्यो पनि बुझ्दैन कानुनले ।

अहिले जनताले कर्मचारी भन्दा बढी छिछि र दुरदुर नेतालाई गरेका छन् । यी सबै धन्दाको मुख्य डिजाइनर नेता नै हुन् चाहे गिरिबन्धु टी इस्टेट होस् वा बालुवाटार जग्गा प्रकरण, ओम्नी, यति, सुडान, सेक्युरिटी प्रेस काण्डका डिजाइनर तिनै हुन् । नेताहरू लोभलालचमा परे अनि त्यसैलाई कागजी रुप दिने त कर्मचारी हुन् ।

भर्खरै सामाजिक सञ्जालमा यहाँले लेख्नुभयो नि, सोमलाल सुवेदी र लीलामणि पौडेलपछि मुख्यसचिव पद छ कि खारेज भयो भनेर । कुन सन्दर्भमा उठान गर्न खोज्नुभएको हो ?

– उहिलेका मुख्यसचिवहरू चिनिन्थे । तिनले बोलेको सुनिन्थ्यो । उनीहरूका राम्रा कामको अनुसरण गरिन्थ्यो तर दुई÷तीन जना मुख्य सचिवका कुरा सुनिँदैनन् । पछिल्ला कारण ती एस म्यान भए । मुख्यसचिव भनेको कर्मचारीको नेता हो । नेताले नेतृत्व दिनुपर्छ । पेन्सनको मुखमा पुगेको मान्छेले नेतासँग क्षणिक लाभका लागि नचाहिँदो कुरा गर्न उचित हुँदैन । राजाको शासनकालमा मुख्यसचिवसँग प्रधानमन्त्रीदेखि मन्त्रीहरू डराउँथे । नचाहिने काम गर्न दिँदैन भनेर तर्सन्थे ।

०६३ को परिवर्तनपछि जताततै राजनीति छि¥यो । स्कुलको व्यवस्थापन समितिदेखि स–साना उपभोक्ता समितिमा समेत राजनीति छि¥यो तर उत्पादन बढेन । भएका उद्योग निजीकरणका नाममा बेच्यौँ । खाद्यान्नमा भारत र चीनजस्ता छिमेकीको भर पर्न थाल्यौँ । हाम्रा जग्गा जमिन बाँझो राखेर यहाँका युवालाई विदेशतिर श्रम गर्नका लागि खेद्यौं । पछिल्लो समय त निजामती सेवा र मुख्यसचिवको हैसियतै रहेन । पहिलाका कुलशेखर शर्मा, यदुनाथ खनाल, भेषबहादुर थापा, विमल कोइरालासम्मलाई आदर्श मानिन्छ ।

मुख्यसचिवहरू प्रधानमन्त्री र मन्त्रीको एस म्यान बन्नुको कारण राजदूतको लोभ पो हो कि ?

– मुख्यसचिवपछि राजदूत भएका वा मन्त्रीबाट हटेर राजदूत खाएकाहरू पनि देखिएका छन् । उनीहरू यही समाजमा छन् । तर, खुशी छैनन् । हामीले गरेका कामले हामीलाई पिरोल्नु भएन । हाम्रोमा धेरै त कलेजको अनुहार नै नदेखेकाहरू पनि हाकिम छन् । धेरै साथी सेवाको सानो तहबाट प्रवेश गरे । पदको हैसियत बढाउँदै लगे तर अरु हैसियत बढाउन सकेनन् ।

अहिले हाम्रो लोकसेवाको छनौट पद्धतिमै मुख्य सुधार गर्नुपर्छ कि जस्तो लाग्छ । राम्रो स्कुल वा कलेजमा पढेका मान्छेको लोकसेवाप्रति रुचि छैन । एक त निजामती सेवातिर मान्छेलाई खासै आकर्षण पनि छैन । अर्काे, पाठ्यक्रम पनि सुधार्नु जरुरी छ । विदेशको विश्वविद्यालयमा पढेर नेपालको लोकसेवा कसले भिडेको छ ?

ओली प्रधानमन्त्री हुँदा सबै सचिवसँग कासमूमा सही गरियो । मसी सुक्न नपाउँदै तिनैलाई फुटबल बनाइयो । तपाईं आफैंले भोगेको होइन र !

– यो त एक प्रकारको नाटक हो । समय समयमा नाटक मञ्चन हुन्छ । त्यतिखेरै हामीलाई यो पार लाग्दैन भन्ने लागेको थियो ।

प्रशासन क्षेत्रमा बिचौलिया हावी भए भनिन्छ । यस्तो देख्नु वा भोग्नुभयो ?

– प्रशासन क्षेत्रलाई सुधार्ने होइन, हुँडल्नुपर्छ भन्ने सोच छ नेताहरूमा । ०८, १५, ३२, ०४८ सालसम्म प्रशासन सुधारका कुरा आउँथ्यो, त्यसयता त एजेण्डाबाटै हटिसक्यो । अब गिजोल्ने ठाउँ छैन । पोलिसी नेताले बनाउने र कार्यान्वयन कर्मचारीले गर्नुपर्ने हो तर अहिले पोलिसी बनाउनेदेखि कार्यान्वयन गर्नेसम्म बिचौलिया छन् । संघीयता हाम्रो डिमाण्डअनुसार आयो वा कसैले लाद्यो ? त्यसलाई संस्थागत गर्ने कुरामा दूरदृष्टिता खै !

सरुवामा व्यापक बेथिति छ नि हैन ?

– पहिला सरुवामा मन्त्रीको रुचि हुन्नथ्यो । सचिव सरुवा गर्नुपरे मुख्यसचिवले प्रस्ताव लैजान्थे । सहसचिव मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवले फेर्थेे । कर्मचारी प्रशासनमा मन्त्रीको टच नै थिएन । अहिले त सबैभन्दा बढी काम नै सरुवाको हुन थाल्यो । कि त मन्त्रीले अरु काम गर्न नसकेर हो वा त्यसैमा बढी फाइदा देखेर हो । अहिले सरुवाको उद्योग नै चलेको छ । पहिले मन्त्रीको एक जना मात्र पिए हुन्थ्यो, अहिलेको जस्तो भेडीगोठ थिएन ।

मन्त्रीको भेडीगोठ सबै बिचौलियाको काम गर्नका लागि हो ? होइन भने प्रधानमन्त्रीको सल्लाहकार मुख्यसचिव, मन्त्रीको सल्लाहकार सचिव होइन ? तर, उनीहरूको सल्लाह नै लिँदैनन् । भेडिगोठ (सल्लाहकार)को कामचाहिँ मन्त्री र सचिवको दूरी टाढा पारिदिने रहेछ ।

जीवनको दोस्रो इनिङ पुग्दा राप्रपामा प्रवेश गर्नुभयो । दक्षिणपन्थी पार्टीमा त्यस्तो चार्म के देख्नुभयो र ?

– ३२ वर्ष कांग्रेस, एमाले र केही समय माओवादीसँग रहेर काम गरेँ । तिनको भनाइ र गराइ फरक, बोली र व्यवहार पाखण्डपूर्ण रहेछ । हाम्रो राजनीतिक व्यवस्था धर्मसँग मिल्नुपर्छ । राप्रपा राष्ट्रवादी छवि भएको पुरानो दल हो । अध्यक्षले बोलाएर प्रस्ताव राखेपछि रोकिन नसकेको हुँ । केही गरौँ भनेरै राजनीतिमा आएको हुँ । रमाइलो गर्न र सात पुस्ताका लागि कमाउन यता प्रवेश गरेको होइन । हाम्रो देशमा राजाले बिगारेको केही पनि थिएन ।

राजा, धर्म, संघीयताको एजेण्डा हामी नेपालीको आफ्नो एजेण्डा हो । त्यो एजेण्डा मन परेर मात्र त्यता गएको हुँ । फोस्रो राजनीतिले केही गर्दैन । देश चलाउने व्यवस्थापकले हो । अहिलेको समयमा आकाश र पाताल जोड्न माक्र्स लेनिन, समाजवाद केही चाहिँदैन । हामीलाई सर्भिस डेलिभरी गर्ने राम्रो संयन्त्र चाहिन्छ र त्यो सञ्चालन गर्ने राम्रो व्यवस्थापक भए मुलुक अघि बढ्छ ।

राप्रपाभित्र दिनचर्या कसरी व्यतित भइरहेको छ ?

– यो मास बेस्ड पार्टी हो, क्याडर बेस पार्टी होइन । अहिले केन्द्रीय सदस्य र स्थानीय तह परिचालन विभागको सचिव छु ।

स्थानीय तहमा राप्रपाले पाएको मतबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

– जनताले लामो अवधिदेखि कांग्रेस र कम्युनिष्टको एकलौटी देखिरहेको अवस्थामा राप्रपा वैकल्पिक शक्ति हुन सक्छ । यसले कांग्रेस र कम्युनिष्टको भन्दा राम्रोसँग राज्य सञ्चालन गर्न सक्छ भनेर आशा पलाएको छ ।

विभाजित राप्रपा एक बनाउने कुरा कहाँ पुग्यो ?

– विस्तारै समयले ल्याउने कुरा हो ।

टिप्पणीहरू