वामदेवको बाटो छेकिदिनुभयो बाबुरामले

वामदेवको बाटो छेकिदिनुभयो बाबुरामले

नेता वामदेव गौतमको झण्डैझण्डै बिचल्ली हुँदै थियो । तर, उहाँले बाटो अलिक फरक बनाउन थाल्नुभएको छ । एक हप्ताअघिसम्म माओवादीको चुनाव चिह्नमा प्यूठानबाट प्रत्यक्षतर्फ लड्ने चाहना थियो ।

त्यो चाहनालाई प्रचण्डले सजिलोसँग पूरा नगरिदिने र जनमोर्चाले पनि साथ नदिने बुझेपछि उहाँ फेरि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको संवादमा जोडिनुभएको छ । अबको केही दिनमा वामदेवको पार्टी एकीकृत समाजवादीसँग मिल्यो वा उहाँले सोही दलको चुनाव चिह्न रोज्नुभयो भने अचम्म मान्नुपर्ने छैन ।

यसअघि रोचक घटना भयो, निर्वाचन आयोगमा । उहाँले साउन ३१ गते माओवादीको चुनाव चिह्नमा भाग लिने निर्णय पेश गर्नुभयो । खासमा त्यो निर्णय आयोगलाई चाहिँदैन थियो । किनभने, कुन दलले कसको चुनाव चिह्न लिने वा नलिने भन्ने कुरा आन्तरिक विषय हो । तर, त्यही बेला डा.बाबुराम भट्टराईलाई आफ्नो चुनाव चिह्नमा सामेल गर्ने निर्णयसहित दफा ४९ बमोजिम माओवादी केन्द्रको दल दर्तासम्बन्धी सूचना आयोगमा पुग्यो । वामदेवले ‘मलाई पनि त्यही सहमतिभित्र पार्नुपर्छ, नत्र धोका हुन्छ’ भन्नुभयो ।

त्यसपछि आयोगले उहाँलाई निर्वाचन प्रयोजनका लागि ‘दल दर्ता गरिहाल्नुस्’ भन्यो । डा.बाबुरामहरूले माओवादीसँग मिलेर संयुक्त डकुमेण्ट पेश गर्नुभएको थियो । वामदेवले ‘म पनि त्यही गर्छु’ भन्नुभयो, तर माओवादीबाट संयुक्त डकुमेण्ट गएन । खासमा उहाँलाई माओवादीतिरबाट ‘बाल’ मतलव गरिएन । प्रचण्ड र डा.बाबुरामहरू समानुपातिकसम्म एउटै चुनाव चिह्नमा जाने गरी आयोग पुग्नुभएको हो ।

वामदेवको दल त्यसबाट फुत्कियो । किनभने, वामदेवका हकमा पनि त्यसअनुसार निर्णय गर्न पाइँदैन भनेर बाबुरामका मान्छेहरू धर्ना बसे । उनीहरू तीन दल नहोस् भन्नेमा थिए । अब माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीलाई निर्वाचन आयोगले आजभोलिमा दर्ता भएको प्रमाणपत्र दिँदैछ, तर वामदेवले त्यो हैसियत पाउँदै हुनुहुन्न । त्यसैले वामदेवलाई प्रचण्डले टिकट नदिए त्यो चिह्न उहाँले पाउनुहुन्न ।

यसपछि वामदेव प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेट्न पुग्नुभयो र भन्नुभयो, ‘लौ न, उपाय सिकाइदिनुस् !’ थपलियाको सुझाव रह्यो, ‘चिह्न दिने र लिने निर्णय भयो । अब दफा ४९ बमोजिम गएको भए हुन्थ्यो ।’ तर, त्योअनुसार बाबुराममात्रै जानुभयो । कानुनतः त्यो पक्ष बलियो भयो । तर, वामदेवको स्थिति कमजोर रह्यो ।

वामदेवले धेरै सीटमा आशा गर्नुभएको छैन । आफूले एक सीटमात्रै जिते पनि पुग्छ । तर, अस्ति सोमबार साँझ माधव नेपालसँग कुरा हुँदा वामदेवलाई उहाँले आफ्नो पार्टीमा आउन भन्नुभएको छ । ‘राष्ट्रियसभाको सदस्य हुँदाहुँदै प्रत्यक्ष निर्वाचनमा जाँदा विरोधीहरूले कुरा काट्छन्’, माधवले भन्नुभयो, ‘प्रधानमन्त्री बन्ने नै हुने भयो भने बरु त्यसबेला सोचौँला, राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री बनाउन सकिने व्यवस्था गर्न सकिए गरौँला, नसकिए हाम्रै पार्टीबाट प्रत्यक्षमा एउटा सीट खालि गरिदिउँला ।’ वामदेवले ‘त्यही त, के गर्ने–के गर्ने !’ मात्रै भन्नुभयो ।

टिप्पणीहरू