तक्मामा फेरि रातारात काम तमाम

तक्मामा फेरि रातारात काम तमाम

हरेक कुरामा रेकर्ड तोड्न माहिर प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि अर्काे रेकर्ड ब्रेक गर्दै हुनुहुन्छ । यसपटक संविधान दिवसको दिन पारेर रेकर्ड राख्न खोजिएको हो, तक्मा । अघिल्लो वर्ष ओली सरकारले ९ सयभन्दा बढीलाई थपीथपी बाँडेको तक्मा यसपटक ११ सयभन्दा बढीलाई दिन लागिएको छ । पदक तथा मानपदवी पाउन न्यूनतम योग्यता के हुनुपर्ला ? मापदण्डले भन्छ, राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएको हुनुपर्ने ।

तर, पञ्चायत र शाहीकालीन शैलीलाई समेत माथ खुवाउने गरी आगामी ३ असोज (संविधान दिवस) का दिन तक्माका लागि नाम सिफारिस भएकामा प्रधानमन्त्रीदेखि मन्त्रीको सचिवालयमा बसेकाहरूको बोलवाला रहेको विवरण गृह स्रोतले जनआस्थालाई उपलब्ध गराएको छ । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्वकीय सचिव, उपसचिवदेखि परराष्ट्रमन्त्री र स्वास्थ्य मन्त्रीका पिएसम्म छन् ।

प्रधानमन्त्री कार्यालयबाट स्वकीय सचिव वीरेन्द्रबहादुर थापासहित उपसचिव तेजराज भण्डारीको नाम गृहमा पुगेको छ । यस्तै, परराष्ट्रका दुवसु क्षत्री राजदूत बनेर भर्खरै जापानतिर प्रस्थान गरेकोमा उनैका भाइ तथा मन्त्रीका पिए कृसु क्षेत्रीको नाम साहित्यिक कोटाबाट सिफारिस भएको छ । स्वास्थ्यमन्त्रीको निजी सचिवमा कार्यरत भक्त खड्कादेखि सहसचिव मदन भुजेलसम्मले आफ्नो नाम आफैँले तक्माका लागि सिफारिस गरेर पठाएका छन् ।

यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारसहित ५ जना कांग्रेसनिकट पत्रकारको नामसमेत अघि बढेको छ । निजामती कर्मचारीमा सहसचिव शंकर केसीदेखि ऊर्जाका उपसचिव मुकेश पाठक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठका खास मान्छे रवीन्द्रजंग थापाको नाम पनि गृहमा पुगेको छ ।

असार मसान्तसम्म विभूषण समितिमा समाजसेवी २० जना, १० जना बैंकरको नाम सिफारिस भएको छ । पछिल्लो समय तक्मा तथा विभूषण पाउनेभन्दा नपाउनेको इज्जत छ । विभिन्न काण्डमा परेकाले समेत तक्मा तथा विभूषण पाउन थालेसँगै ०६७ सालयता झण्डै ३ सयले बहिष्कार गरेका छन् । सबैभन्दा बढी ०६७ सालमा ६९ जनाले बहिष्कार गरेका थिए ।

टिप्पणीहरू