सेनामा अकुत कमाउनेहरू

सेनामा अकुत कमाउनेहरू

नेपाली सेनाको सेवामा प्रवेश गर्दै अकुत पुस्तैनी सम्पत्ति हुनेहरू पनि छन् । तर, सेवा प्रवेशमा सामान्य आर्थिक हैसियत भएकाहरूको एकाध वर्षमै देखिएको धन सम्पत्ति, पुँजी र विलासी जीवनले सेनामा पनि अकुत कमाउनेहरूको शंका गर्न थालिएको छ । यसरी सेनामा ‘सियो बनेर पस्ने र फाली बनेर निस्कने’ प्रवृत्ति अपनाउँदै ठूलो पदमा पुगेपछि अकुत कमाउन सजिलो बाटो रोज्नेहरूको संख्या कम छैन ।

कृष्ण जीसी यतिखेर सबैभन्दा बढी कमाउने अधिकृतको रूपमा सेनाभित्र परिचित छन् । उनको ठिमीतिर तीन रोपनीको बङ्ग्लो रहेको बताइन्छ । स्रोतका अनुसार– ‘अन्यत्र जोडिएका घर जग्गाको विवरण नै अथाह छ । नेताहरूसँग बाक्लै उठबस गर्न थालेका जीसीले डेढ दुई करोडको गाडी चढ्ने हैसियत बनाइसकेका छन् ।’ उनी लामो समयसम्म सेनाको सम्भार र खाद्य परिवहनमा थिए ।

अहिले १८ नं. बाहिनीमा रहेका कृष्ण सापकोटा अर्का अकुत कमाउनेमध्येमा पर्छन् । पहिले राष्ट्रिय निकुञ्जमा थिए । तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले निकै पुल्पुलाएका सापकोटाले नेशनल डिफेन्स कोर्सको अवसरसमेत पाइसकेका छन् ।

कारबाहीको क्रममा रहेका प्रयोगजंग राणालाई पनि सेनाभित्र नवधनाढ्यको रूपमा लिइन्छ । त्यसैगरी देशान्तरका प्रकाशक बन्धु थापाका सौतेनी भाइ जीवन थापाले आर्मी कलेजमा रहँदा झण्डै सात करोड कमाएपछि अहिले मण्डिखाटारमा पाँच करोडको बङ्ग्लो खरिद गरेका छन् । थापाले भारतीय सिंह परिवारकी एउटी चेलीसँग सम्बन्ध गाँसेका छन् ।

थापालाई अभिलेख फरक पारेर दुई वर्ष भन्दाबढी जागिर खाएको तथ्य फेला पारेपछि बढी अवधिको सम्पूर्ण तलब, भत्ता र सुविधा तिराइएको थियो । यसअघि महिनाको तेह्र लाख तलब हुने र झण्डै तीन वर्षको अव्जर्भरमा समेत जान रुची नदेखाएर उनी यहिँ बसेका थिए । यसबाट पनि उनले यहिँ बसेर कति कमाए होलान् सहजै अनुमान गर्न सकिने स्रोतको दाबी छ ।

टिप्पणीहरू