अशोकको चकलेट र गाडीमा अर्थमन्त्री

अशोकको चकलेट र गाडीमा अर्थमन्त्री

सरकारको मन कमलो भैदिदा ती गाडी जफत भएनन्, मामुली जरिवाना तिरेर छुट्न पाए !

अर्थमन्त्री युवराज खतिवडाले बजेट तयारीदेखि नै गोपनीयतालाई उच्च प्राथमिकता दिएको बताएका थिए । तर बजेट घोषणाअघि झण्डै साँढे दुई सयवटा विद्युतीय गाडी एकाएक भन्सारबाट छुटाइयो । त्यसरी बजेट अगावै चुहाइएको नयाँ भन्सार शुल्कसम्बन्धी सूचनाबाट ५५ करोड रूपैयाँ राजश्व झ्वाम् भयो ।

हुनतः भन्सारको नियममा एजेन्सीबाहेकले सवारी साधन पैठारी गरेमा जफत गर्ने व्यवस्था छ । महँगा भनिएका अरु कतिपय गाडी अधिकांश एजेन्सीमार्फत् पैठारी गरिएको थिएन । गाडी ल्याएकाहरूले पटक पटक क्याबिनेटमा निर्णय गराएर छुटाउने प्रयास पनि गरे । तर नसकेपछि महिनौंदेखि वीरगञ्ज भन्सारको यार्डमा रोकिए ।

भन्सार नियममा त्यसरी एजेन्सी बाहेकले पैठारी गरेको सवारी साधन सबैभन्दा पहिले भन्सारले नै जफत गर्नुपर्छ । ती गाडीको हकमा महिनौंसम्म जफतको प्रयास नै भएन ।

विशेष परिस्थितिमा जफत नगरी भित्र्याउन दिने हो भने ३० प्रतिशत थप भन्सार तिर्नुपर्ने व्यवस्था छ । तर सरकारको मन कमलो भैदिदा ती गाडी जफत भएनन्, मामुली जरिवाना तिरेर छुट्न पाए ! उता बजेट भाषणअघिका एकाध दिनभित्र २ सय ४५ वटा विद्युतीय गाडी छुटे । यता मन्त्रीज्यूले पनि भोलिपल्टदेखि आयात हुने विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र ४० देखि ८० प्रतिशत थप अन्तःशुल्क लगाइदिए ।

मन्त्रीले कतिपय कृषि बीऊ,विजन र बच्चाको दूध आयातमा कर लगाइदिएका छन् । विदेशबाट आयातित चकलेटमा यसअघि भन्सारदर ४० प्रतिशत थियो । नेपालमा महँगा विदेशी चकलेटमध्ये ८० प्रतिशत भन्दा बढी विशाल ग्रुपले पैठारी गर्छ । अशोक अग्रवालको त्यो ग्रुपले जोनी वाकर ब्राण्डका महँगा रक्सीसमेत पैठारी गर्छ । उक्त ग्रुपसँग विशेष हिमचिम भएर हो वा अर्थमन्त्रीलाई मीठो लागेर हो चकलेटको भन्सारदर एकाएक ३० प्रतिशतमा झरेको छ ।

अशोक अग्रवाल तिनै व्यक्ति हुन् जो हिजो दिउँसो कमलादीस्थित गनगौर बुटिक होटलमा जुवा खेलिरहेको बेला अन्य व्यापारीसहित पक्राउ परेका छन् । अशोक मात्र एक यस्ता व्यापारी हुन् जसलाई नेकपाको सरकारले  नियम मिलाएर गुन लगाउँदै आएको छ ।

टिप्पणीहरू