अध्यक्ष ओलीप्रति नै हो त उपाध्यक्षको यो आक्रोश ?

अध्यक्ष ओलीप्रति नै हो त उपाध्यक्षको यो आक्रोश ?

केपी ओलीले ‘विरोधीमुक्त’ पार्टी निर्माणको अभ्यास त गर्नुभयो । तर, एकजना उपाध्यक्षले गत शनिबार ओलीको अत्याचारबारे घुमाउरो पारामा बयान गरिदिए । कार्यकर्तासामु जोशका साथ नारा नै लगाए, व्यक्तिपूजा मूर्दावाद !

उपत्यका विशेष जिल्ला कमिटीअन्तर्गतका विभिन्न पेशाकर्मीलाई पार्टी संगठित सदस्यको शपथपछि उपाध्यक्ष युवराज ज्ञवालीले माक्र्सवाद, माक्र्सवादी आचरण र संगठन प्रणालीका प्रसंग झिक्दै ओली त्यसविपरितको शैलीमा पेश हुनुभएको बताएका हुन् । बागबजारस्थित होटल हार्दिकमा आयोजित कार्यक्रममा ३ सय ४४ जना नयाँ संगठित सदस्यहरूको शपथ भएको थियो । ज्ञवालीले ‘कम्युनिष्ट पार्टीमा सदस्य भएपछि व्यक्तिगत विचार हुँदैन’ भन्दै घुमाउरो पाराले ओलीशैलीको आलोचना गरे । उनले भने, ‘व्यक्तिसँग पार्टीको विचार हुनुपर्छ । नमिलेको कुरा छ भने पार्टीभित्र खुलस्त राख्न पाइन्छ ।

तर, बाहिर पार्टीले जे भनेको छ, त्यो मान्नुपर्छ ।’ ज्ञवालीले कम्युनिष्ट पार्टी कमिटी प्रणालीमा आधारित हुने भन्दै पार्टी विधि, र नीतिप्रधान हुने बताए । ‘कम्युनिष्ट पार्टी व्यक्तिप्रधान हुँदैन । कुनै पनि व्यक्ति पूजा गर्ने संस्कृति कम्युनिष्ट पार्टीमा हुँदैन’ भन्दै उनले ‘व्यक्तिपूजा मूर्दावाद’ भन्ने नारासमेत लगाए । उनले कार्ल माक्र्सले बनाएको कम्युनिष्ट घोषणापत्र वैचारिक कुरा भएको बताउँदै थपे, ‘यो वैज्ञानिक छ । त्यसको सान्दर्भिकता आज पनि छ । यदि समाजवादमा जाने, समाज बदल्ने हो भने पहिला आफूलाई बदल्नुपर्छ । माक्र्सले हेगेलको कुरालाई खण्डन गर्नुपर्ने बेलामा लेखेको दस्तावेजमा त्यही कुरा छ ।’ यसरी पहिला आफू बदलिनुपर्छ भनेको कुरा पनि ओलीतर्फ इंगित रहेको चर्चा त्यहाँ चलेको थियो ।

कार्यक्रममा वकिल, डाक्टर, इञ्जिनियरसहितका नयाँ पार्टी सदस्यको शपथ भयो । कृषि मन्त्रालयका एकजना सहसचिव, कुमारी बैंकका डिजिएमसहित ३०–३५ जना वकिल, नेपाल एयरलाइन्समा कार्यरत करिव ८० कर्मचारी, स्वास्थ्यकर्मी, पर्यटन व्यवसायीहरू थिए ।

तर, एमालेभित्र ओलीभक्तिमार्फत लाभ लिनेहरूको लर्को घटेको छैन । ओलीपक्षीय पत्रकारले चलाएको एक अनलाइनमा मिलन धरेलको नाममा एक लेख प्रकाशित छ, जसमा चुनावमा एमाले एक्लै लडेर बहुमत आउँछ भनिएको छ । उनी ओलीको कार्यकालमा राष्ट्रिय बाल अधिकार परिषद्को कार्यकारी निर्देशक थिए । सरकारले उक्त पद नै खारेज गरेपछि बाहिरिएका उनी अहिले विदेश विभाग सदस्य र प्रेमकुमार पराजुली अध्यक्ष रहेको उपत्यका विशेष प्रदेश कमिटीका सदस्य छन् । यस्तै ओलीभक्तिका भावहरू लेख्न व्यस्त छन्, अर्थशास्त्रका प्राध्यापक डा.दिलनाथ दंगाल । प्राध्यापकको अधिवेशनमा अध्यक्ष नबनाइएपछि ओलीसँग रुष्ट थिए । अहिले ओलीको पालामा रेमिट्यान्स र राजस्व असुली बढेको निबन्ध लेख्न थालेका छन् ।

एमाले कार्यकर्ताहरू चर्चा गर्छन्, ‘जनताबीचमा लोकप्रियता बढाउनु थियो भने नागरिकता विधेयकमा एउटा पोजिसन लिनुपथ्र्यो, त्यो लिइएन ।’ ओलीले संसदीय दलमा नेताको नाताले नागरिकता विधेयकको विरोधमा बोलेर होहल्ला गरेको भए जनतामा जान सजिलो हुने उनीहरूको ठम्याई छ । तर, उहाँलाई झापामा वाटर फाउण्टेनको उद्घाटन गर्न हतार भयो । त्यहाँ पुगेर ‘राष्ट्रपतिको पत्र चारजना मसलेले खोल्न दिएनन्’ भन्ने आरोप लगाउनुभयो । उता, कर्मचारीका नेता पुण्य ढकालले लामो प्रयासपछि पनि ओलीसँग भेट पाएनन् र सपत्नी अमेरिका गए ।

चुनावमा पनि त्यही किसिमले जाने तयारी भइरहेको छ । चुनावका लागि घोषणापत्र मस्यौदा समितिमा आफैँ हर्ताकर्ता भएपछि अब केन्द्रीय कमिटीको बैठकले टिकट वितरणको सबै अधिकार उहाँलाई दिने भएको छ । एमाले कार्यकर्ताहरू भन्दैछन्, ‘पश्चिम बंगालमा ३५ वर्ष शासन गरेको कम्युनिष्ट कसरी सत्ताबाट झरे भन्ने कुरा नबुझ्दा एमाले त्यही हालतमा पुग्न सक्छ ।’

टिप्पणीहरू