जीवन हो धरापमा पर्न सक्छ

जीवन हो धरापमा पर्न सक्छ

बन्दाबन्दी घोषणा हुने निश्चित भएपछि शहरमा भन्दा गाउँमा ठीक होला भनेर चैत ८ गते भरतपुरबाट पहाडतिर लागें । त्यसदिन जनयुद्धकालदेखिकै कार्यकर्ता चेपाङ दाइको घरमा बास भयो । म पुगेकै दिन त्यहीं मकवानपुरका सचिव पनि आएका थिए । स्थानीय नेता पनि आए । हामी बसेको घरबाट लोथर खोलाको नागबेली आकृति मनोरम देखिन्थ्यो । लोथरपारि मकवानपुरका डाँडाहरु थिए । चैतको आधाआधी हुँदा पनि चिसो उस्तै थियो । त्यही बासमा भर्खरै जेलबाट छुटेका साथी, एकजना चिकित्सक र तीन जना पत्रकारसँग भेटघाट भयो । त्यसपछि हामी एक घण्टा तेर्सो बाटो हिँडेर पश्चिमतिरको गाउँमा पुग्यौं ।

बास सर्दै गर्दा पार्टी जिल्ला नेतासमेत रहेका कामरेडले थरक मार्दै भने, ‘यो खोंचमा कालीनाग बस्थ्यो । घनघोर वर्षा हुन्थ्यो । दिउँसो १२ बजेपछि हुरी चल्थ्यो । आजभोलि मान्छे पापी भएर नाग भाग्यो । नागसँगै सबैकुरा हरायो ।’ यस्तो थियो कम्युनिष्ट चेतना । मैले प्रकृतिमाथिको अतिक्रमणको प्रभावका कारण त्यस्तो भएको बताएँ, जसमा भूमण्डलीय प्रभाव पनि थियो ।

साँझ हामी एउटा अजम्बरी गाउँमा पुग्यौं । दोस्रो संविधानसभाको चुनावमा त्यो गाउँबाट एउटा मत पनि खसेको थिएन । त्यो गाउँको पूर्व, पश्चिम र उत्तरतर्फ खोला छन् । स्थानीयले गंगटा, झिंगेमाछा, साना माछा ल्याउँछन् । निउरो, कोइरालो, टाँकी, लट्टे, सिमी तरकारी हुन्छ ।

एक दिन बास बसेको घरका कामरेडले ‘गाईको मासु चल्छ सर ?’ भने । ‘जनयुद्धको समयमा धेरै चल्थ्यो । भारतको जेलमा बस्दा मुस्लिम साथीहरु भएकाले चल्थ्यो । आजभोलि चलेको छैन । तर चलाउन सकिन्छ,’ मैले भनें । गाउँमा गाई काटेका रहेछन् । भुटुवा मजाले खाइयो एक हप्तासम्म । उनीहरु दिनमा चारपटकसम्म मासु खान्थे । मैले एकपटक मात्र खान्थें । मलाई साग बन्थ्यो । एक हप्तापछि राँगो ढाले । एकमुरी मकै किनेर पीठो बनाइयो । सातु जाँतोमा बनाइयो । गाउँको जीवनमा बन्दाबन्दीको प्रभाव थिएन । शहर जान रोकिएको थियो । गाउँमा ढिलो पर्छ होला कोरोनाका नकारात्मक प्रभाव ।

एक दिन साथीको मामाले आफ्नो र आफ्नो परिवेशको कथा सुनाए । ‘ऊ त्यो मैनाटार हो, तलको जम्डाँडा हो । ऊ त्यो चुनिवाङ हो, कान्दा त्यता पर्छ,’ मामाले बेलिबिस्तार लगाए । त्यहीं होला मकवानपुरका सचिवले ‘दाइ, ब्रोसबाङमा अनिकाल परेको छ, पानीको हाहाकार छ, समाचार बनाउन पाए कसैको ध्यान आकृष्ट हुन्थ्यो कि’ बनेका थिए । ज्याला गरेर खाने वर्गमा कोरोना कहर मौलाउँदै थियो ।

दुई हप्तापछि अर्को गाउँ सरें । एकजना विद्यार्थी थाकलटारसम्म लिन आए । बाटोमा जम्डाँडा पथ्र्यो । कमरेडले समरको सम्झना गरे । ‘ऊ त्यो डाँडामा समरले जनसेनालाई प्रशिक्षण गराउनुहुन्थ्यो । जम्प गर्ने अर्थात् पिटी खेल्ने चौर भन्दाभन्दै अहिले त्यसलाई जम्डाँडा भनिँदो रहेछ । केशव रिमाल ‘समर’को नवलपरासीको पर्सावलमा शाही सेनाले राति घर घेरा हालेर हत्या गरेको थियो । हामी अनौठटो सुरुङजस्तो खोलैखोला हुँदै लोथर खोला पुगेका थियौं । साँझ पर्दानपर्दै हामी ओनेवाङ पुगेका थियौं ।

ओनेवाङको यात्रु प्रतीक्षालयमा बसेर ‘गिद्ध इमान्दर छ’ शीर्षकमा कविता लेखें । ज्यामी मजदुरहरु सयौं किमी पैदल हिँडेर घर फर्कने गरेका थिए । दोस्रो विश्वयुद्धमा जापानले बर्मामा आक्रमण गरेपछि नेपाल फर्कने ताँतीजस्तै लाग्थ्यो । सिरियाबाट टर्की हुँदै युरोप हान्निएका सिरियालीको हुलजस्तै देखिन्थ्यो । दोजिया, जुटको बोरामा हाँडाभाँडा बोकेका शरणार्थीको लहर सडकमा असरल्ल थियो । घरवालाहरु भाडावालालाई निकाल्दै थिए । मेयरहरु राहत लिने भए काठमाडौंको नागरिकता देखाऊ भन्दै थिए । कतारले नेपाली मजदुरलाई हेर्छु भन्दै गर्दा काठमाडौंले भने शिकार गर्दै थियो । शिकारी मेयरका भेना प्रमले सडकमा मान्छे सरकारलाई बद्नाम गर्न प्रायोजित भीड भन्दै थिए । काठमाडौं गिद्धभन्दा पनि वैमान लाग्यो । त्यो कविता प्रकाशनार्थ पठाएँ । ‘सिरियाली’ हुनुपर्ने ‘सियाली’ भएछ । सबैले त्यही साभार गरेछन् ।

ओनेवाङको बसाइ दुई–चार दिन भनिएको थियो तर लम्बियो । मैले प्रयोग गरेको फोन प्रहरी निगरानीमा होला भन्ने थाहा थियो । केही दिनयता शंकास्पद गतिविधि भइरहेका थिए । गाउँमा प्रहरी आउँदैछ भन्ने सूचना आयो । कुइनेटोमा गएर बसें । त्यो दिन आएनन् । अर्को दिन पश्चिमको गाउँमा घुमेर फर्के । वैशाख २३ गते फेरि गाउँमा आउने अखबर आयो । रात्रिकालीन लुगा फेरेकै थिइनँ । एउटा हातमा मोबाइलमा बिबिसी सुन्दै थिएँ । लिस्नोबाट चिप्लिएर उत्तानो बजारिएछु । ड्याम्म… आवाजसँगै चिच्याएछु । होसमै थिएँ, मान्छेहरु बोलेको सुनिरहेको थिएँ ।

केही बेरमा शरीर अररो भयो, दुखाइ कम भयो । बेहोस हुँदैछु भन्ने लाग्यो । केही बेरपछि माइलाको आवाज सुनें, ‘सर, तपाईंलाई पसिना आयो, अब केही हुन्न ।’ अब केही हुन्नको अर्थ मर्दैनस् भन्न खोजिएको थियो । त्यसपछि चारजनाले उठाएर गोडा टेकाए । असाध्यै पीडा भयो । मैले ‘दाइ, मलाई किन पीडा थपेको’ भनेछु । उनै माइलाले भने, ‘सर, तपाईंलाई ठीक हुन्छ ।’ लाग्थ्यो, उनी एमडी गरेका फिजिसियन चिकित्सक हुन् । आखिर मेरालागि ल्याप्चेवाला भए पनि डाक्टर उनै थिए । मान्छेहरु बोलेको सुन्न छोडें । एक्लोपन महसुस भयो, डर लाग्यो । विद्यार्थी भाइ थिए । ‘भाइ मलाई एक्लै नछोड’ भनेछु । ‘अंकल म यहीं छु, तपाईंलाई छोड्दिनँ’ उनले भने । भाइलाई फोन गरेछन् । प्रधानकान्छा आएर ‘तपाईंको भाइलाई खबर भयो, आउँदै हुनुहुन्छ’ भने । हलोको हरिसमा तन्नाको स्टेचर बनाएर ओरालो लागे । एक घण्टामा कालीखोला पु¥याएछन् । बाटोमा हल्लिँदै, थर्किंदै गर्दा दुख्नुपर्नेमा केही आराम भयो । सायद शरीरमा रक्तसञ्चार भयो होला । बिहान १० बजेतिर चिकित्सकसहित आकस्मिक बाहनसम्म पुगियो । गाउँलेहरु फर्किए ।

चिकित्सकहरुले ‘पेन किलर’ लगाइदिए । शरीर छामे, ज्वरो, रक्तचाप हेरे । गोडा, औंला चलाए । त्यसपछि ‘स्पाइनल इन्जुरी छैन’ खुशी हुँदै भनेका थिए । ‘भरतपुरमा विकास र समृद्धिका त्यस्ता कुरा हुन्छन् । नगरपालिकाभित्रकै गाउँ यस्तो छ, तपाईंलाई यहाँसम्म ल्याएको दृश्य हेरेर रुन मन लाग्यो,’ चिकित्सक भन्दै थिए । मैले चिकित्सक बोलाएर उपचार गरौं कि भन्ने पनि सोचेको थिएँ । पुरानो स्वास्थ्य समस्या पनि भएकाले अपांग भइन्छ कि जस्तो लाग्यो । मैले भाइबाहेक मेरा आफन्त र पार्टी कसैलाई खबर नगर, काम सकेर भनौंला भनेको थिएँ । ‘माओभन्दा जान्ने भएर’ भनेछन् । पँधेराको गफझैं फैलियो । गोन्जालोले ‘जीवन हो, धरापमा पर्न सक्छ’ भनेका थिए । अरु केही रहस्यमय सूचना पनि आएका छन् । म मानसिक रुपमा सधैं तयार थिएँ । धराप छल्दै हिँडिएको थियो । पुरानो मेडिकल कलेजको आकस्मिक कक्ष नै कब्जा गरेर गिरफ्तार गरे । संघर्षको मोर्चा बदलियो ।

टिप्पणीहरू