क्यान्सरपीडितलाई सहयोगको याचना

क्यान्सर रोगबाट पीडित नेपालगञ्ज उपमहानगरपालिका–१० का विशाल पौडेलका परिवारले उपचार सहयोगका लागि याचना गरेका छन् ।

विशाल अहिले अष्ट्रेलियामा क्यान्सरसँग लडिरहेका छन् । उनको उपचारमा साढे १ करोड खर्च लाग्ने देखिएको पीडितका बुबा कमलेशकुमार पौडेलले बताए । केही समयअघि क्यान्सरबाट पीडित पौडेलको भारतमा उपचार गरिने पौडेलले जानकारी दिए ।

अध्ययन गर्न गएका २५ वर्षीय पौडेललाई क्यान्सर भएको जानकारी पाएपछि जेठ १० गतेदेखि भृकुटीनगर टोल विकास समिति नेपालगञ्जले पदमबहादुर खड्काको संयोजकत्वमा विशाल बचाउ अभियान समिति गठन गरी सहयोग संकलन अभियान शुरु गरेको थियो ।

उपचारमा सहयोग पुग्ने उद्देश्यले पौडेलको जीवन रक्षाका लागि सहयोग संकलन गरिएको विशाल बचाउ अभियान समितिका संयोजक पदमबहादुर खड्काले बताए । खड्काका अनुसार पौडेलको सहयोगार्थ भृकुटीनगर टोल विकास समितिले संकलन गरेको ३ लाख २३ हजार, ५ सय ४० रुपैयाँ शनिबार एक कार्यक्रमबीच विशालका बुबा कमलेशलाई हस्तान्तरण गरिएको छ ।

विशाल क्यान्सरबाट पीडित भएको सूचना पाउनासाथ भृकुटीनगर टोल विकास समितिले थालेको सहयोग संकलन अभियानअन्तर्गत संकलन भएको रकम समितिकी अध्यक्ष सरलाकुमारी बिष्ट र विशाल बचाउ अभियानका संयोजक पदमबहादुर खड्काले पीडितका बुबा कमलेशलाई हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा समितिकी अध्यक्ष सरलाकुमारी बिष्टले टोलवासीको एकताका कारण सहयोग गर्न सकिएको बताउँदै पीडितलाई उच्च मनोबलसाथ रहन अनुरोध गरिन् ।

समितिले गरेको सानो सहयोगले परिवारलाई सान्त्वना मिल्ने उद्देश्यले आफूहरू हरपल साथमा रहेको उनले बताइन् । कार्यक्रममा पीडित विशाल पौडेलका बुबा कमलेशले छोराको अवस्थाबारे जानकारी गराउँदै यस्तो विषम परिस्थितिमा समेत सहयोग गरेकोमा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सहयोग गरिएको रकम समितिले घरदैलो अभियान गरी विभिन्न घर तथा व्यक्तिबाट संकलन गरेको थियो । समिति र पौडेलका परिवारले सहयोगका लागि आह्वान गर्दै जीवन रक्षाका लागि अपिल गरेका छन् ।

टिप्पणीहरू