छोराको मन छरपस्ट

छोराको मन छरपस्ट

‘कान्तिपुरसहितका अरु मिडियाले त्यहाँको स्थलगत भ्रमण (रिपोर्टिङ) किन गरेनन् ?’

अरु मोटाएको र हात्ती दुब्लाएको उत्तिकै देखिनुपर्ने हो । तर, हात्ती आकारको खोक्रो अस्तित्व यतिबेला छताछुल्ल भइदियो ।

कुरा कान्तिपुरको हो ।

कान्तिपुर मिडिया गु्रपका मालिक कैलाश, स्वस्तिका सिरोहियाका एक्ला सन्तान सम्भव स्वाँर सिरोहियाले अस्ति मे ३१ तारिख, अपराह्न ४ बजेर ३८ मीनेटमा एउटा स्ट्याटस पोस्ट गरे ।

आफ्नो मामाघर क्षेत्र नेपालगञ्जको भद्रगोलमा आधारित भएर लेखे, ‘कान्तिपुरसहितका अरु मिडियाले त्यहाँको स्थलगत भ्रमण (रिपोर्टिङ) किन गरेनन् ?’

उनको आशय थियो, मानिसको मृत्यु कोरोनाका कारणले होइन, लकडाउनका कारण भइरहेको छ । यो शुरुवात हो । नैरनापुर क्वारेन्टाइन अव्यवस्थित भएका कारण त्यहाँबाट अप्रिय समाचार आएका छन् ।

उनले दावी गरेका छन्, ‘यो त शुरुवातमात्रै हो ।’

श्रमजीवीका दुःख

कान्तिपुर मिडिया गु्रप, अर्थात् सञ्चारका उपलब्ध सबै साधन सञ्चालन गर्ने देशको ठूलो मिडिया उद्योग । ऊसँग दुई भाषाका दैनिक, दुई प्रकारका साप्ताहिक, महिलामा आधारित मासिक प्रकाशनसँगै रेडियो, टेलिभिजन र अनलाइन न्युज पोर्टल पनि छन् ।

तर, कोरोनाका कारणले फ्रण्टलाइनमा रिपोर्टिङ गर्ने पत्रकारहरु स्वास्थ्य र सुरक्षाकर्मीपछि सबभन्दा बढी जोखिममा छन् ।

देशको सबभन्दा ठूलो मिडिया गु्रपले भने यस्तो अवस्थामा त्यस्ता सञ्चारकर्मीको सहज जीवनयापन र पेशागत सहजताका लागि राहत दिनु सट्टा काम गरिरहेका, काममा आउँछु भनिरहेका पत्रकारलाई ‘पर्दैन–पर्दैन, घरै बस’ भनेर पन्छाइरहेको छ ।

त्यहाँका झण्डै ४२ देखि ४४ जना पत्रकारको जागिर जाने अवस्था छ । तीन महिनादेखि तलब नपाएका केही पत्रकारका खातामा भने मध्यजेठमा केही हजार रुपैयाँ हालेर कम्पनी पन्छिएको छ ।

यसैबारे नेपाल पत्रकार महासंघले सोमबार उपलब्ध केन्द्रीय पदाधिकारीको बैठकमा छलफल   गर्‍यो, मिडिया मालिकहरु कसरी मोटाए ? ती मोटाएका मालिकहरुले पत्रकारहरुलाई कुन अवस्थामा पुर्‍याए ?

अचम्म के छ भने, १५ गते जारी भएको आर्थिक वर्ष २०७७/०७८ को बजेटले श्रमजीवी पत्रकारभन्दा तिनै मिडिया मालिकका हकमा बढी सुविधा दिएको छ ।

देशका ठूला मिडिया हाउसलाई नवीकरण दस्तुर र करमा छूट दिइएको छ । बदलामा ती मिडियामा काम गर्ने पत्रकारले दुःख खेपिरहेका छन् ।

हुँदाहुँदा छोराले समेत बाबुआमाको मिडियाको कार्यशैलीमा चित्त बुझाएनन् ।

टिप्पणीहरू