खाने तेल जम्मै ट्रकसहित खोलामा

खाने तेल जम्मै ट्रकसहित खोलामा

पृथ्वी राजमार्गअन्तर्गत धादिङ्गको गजुरी गाउँपालिका-६, जरेखेतमा खानेतेल बोकेको ट्रक दुर्घटनामा परेको छ । ना ५ ख ५९५५ नम्बरको ट्रक अहिले बिहान सडकबाट करिब दुई सय मीटर तल त्रिशुली नदी किनारमा पुगेको हो ।

बिराटनगरबाट खानेतेल बोकेर काठमाडौं आउँदै गरेको ट्रक अचानक आगलागी भई सडकबाट त्रिशुली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी भावेश रिमालले बताए । ट्रकको अगाडि पट्टि भागमा आगो लागेको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका डिएसपीसहित नेपाल प्रहरीको टोली र आदमघाटस्थित सशस्त्र प्रहरीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएका छन् । प्रहरी र स्थानीयले समयमै उद्दार गर्न सकेकोले दुर्घटनास्थलमा मानवीय क्षति हुनबाट जोगिएको डिएसपी रिमालले बताए । तेल बोकेको ट्रकमा आगो सल्किए पनि समयमै आगो नियन्त्रणमा लिन सकिएकोले थप क्षति हुनबाट जोगिएको पनि उनले बताए ।

टिप्पणीहरू