लकडाउन अब यसरी लुजडाउन

लकडाउन अब यसरी लुजडाउन

पूर्णतः बन्द गरिनेमा सबैखाले भाडाका सार्वजनिक सवारी साधनसहित शैक्षिक प्रतिष्ठान, तालिम तथा प्रशिक्षण केन्द्र, मदिरा, सुर्तिजन्यसहितका गैरखाद्यवस्तु विक्रि र वितरण, होटल, बार, रेष्टुरेण्ट, स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, रंगशाला, जिम सेन्टर, सैलुन तथा व्युटी पार्लर, क्यासिनोहरु रहेका छन् ।

कोरोना संक्रमणबाट देशवासीलाई सुरक्षित राख्ने अवधारणाका साथ लागु गरिएको लकडाउनको नीति आजैबाट ‘लुजडाउन’ का रुपमा फेरिँदैछ ।

सम्भवतः आज दिनभरिमा कोभिड– १९ नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यदलले विशेषतः राजधानी उपत्यकाको हकमा लकडाउनलाई खुकुलो बनाउने नयाँखाले मोडालिटी सार्वजनिक गर्दैछ ।

कार्यदलस्रोतका अनुसार, अब शहरी क्षेत्रमा निजी सवारी साधनहरुलाई जोर–बिजोर प्रणालीका रुपमा चल्न दिइने छ । तर, यो प्रणाली, स्वास्थ्य, सुरक्षा र सञ्चारसहितका अत्यावश्यक सेवाकर्मीको हकमा लागु हुँदैन ।

निजी सवारी साधनका आमप्रयोगकर्ताको हकमा भने मोटरसाइकल भए एकजना, चारपांग्रे गाडी भए दुईजनासम्मले यात्रा गर्न पाउने छन् ।

यससँगै व्यावसायिक गतिविधि पनि निश्चित नीतिका साथ सुचारु गरिने भएको छ ।

सञ्चालन गर्न पाइने विभिन्न प्रकारका व्यवसायहरुको समय तोकिँदैछ ।

उदाहरणका लागि, ५० वटा बैंक छन् भने ती सबैले एकै समयमा कारोबार गर्न पाउँदैनन् । सबै शाखाहरु एकैचोटि पनि खोल्न पाइने छैन । उदाहरणका लागि हिमालयन बैंकले ठमेल काउण्टर खोल्यो भने भने उपत्यकाका अरु काउण्टर त्यही समयमा खोल्न पाउँदैन । अन्य बैंकका हकमा पनि एकै ठाउँमा बढी भीड जम्मा नगर्ने गरी कारोबार सञ्चालन गर्न पाउँछन् ।

बैंकमात्र हैन, अरु सबै सञ्चालन गर्न पाइने व्यवसायका हकमा समयसीमा तोकिँदैछ ।

उदाहरणका लागि एउटा बैंकको एउटा शाखाले १० बजेदेखि १ बजेसम्म कारोबार अनुमति पायो भने अर्को बैंकको अर्को शाखामा १ बजेपछि ५ बजेसम्मको समय पाउने छ ।

खाद्यान्न, दुग्धजन्य, खानेपानी, इँटा, पशुपन्छी तथा माछाको दाना, खाने तेल, चिनी, कफी, चियापत्तीसहितका दैनिक उपभोग्य सामाग्रीका अलग्गै समय तोकिने छ र त्यसअवधीमा कारोबार सकिनुपर्ने छ ।

अटोमोबाइल, बालुवा, क्रसर, सिमेण्ट, जिआई प्लाष्टिक पाइप, बिजुलीसम्बन्धी, फोहोर मैलाहरुको पनि कारोबार समय तोकिँदैछ ।

औषधी तथा स्वास्थ्यसम्बन्धी सबै कारोबारस्थलका लागि समयको कुनै पावन्दी नतोकिने भएको छ ।

पूर्णतः बन्द गरिनेमा सबैखाले भाडाका सार्वजनिक सवारी साधनसहित शैक्षिक प्रतिष्ठान, तालिम तथा प्रशिक्षण केन्द्र, मदिरा, सुर्तिजन्यसहितका गैरखाद्यवस्तु विक्रि र वितरण, होटल, बार, रेष्टुरेण्ट, स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, रंगशाला, जिम सेन्टर, सैलुन तथा व्युटी पार्लर, क्यासिनोहरु रहेका छन् । भारत र पाकिस्तानमा आन्तरिक तथा वाह्य उडान सेवा सञ्चालनमा ल्याइए पनि नेपालमा भने अझै केही समय ती सेवा बन्द गरिने भएको छ ।

पर्यटन मन्त्रालयले कम्तिमा असार १६ सम्म त्यस्ता उडान नगर्ने निर्णय गरिसकेको छ ।

स्थानीय तह वा नेपाल पर्यटन बोर्डबाट क्वारेन्टाइनको अनुमति पाएकाबाहेक सबैखाले होटल, गेष्ट हाउस र रिसोर्टहरु बन्द हुने छन् ।

भारतले लकडाउन खोल्ने क्रमलाई चरणबद्ध रुपमा व्यवस्थित गरिरहेको छ । जस्तो कि, ‘अनलक वन’, ‘अनलक टु’ भनेजस्तो । नेपालको हकमा पनि लुजडाउनलाई क्रमशः खुकुलो पार्दै लगिने अवधारणा विकास भएको हो ।

सेनालाई सास्ती

बाटो खन्नदेखि विदेशबाट आएका मानिस व्यवस्थापन गर्नसम्म अब सेना परिचालन गरिने भएको छ ।
अहिले पनि देशका विभिन्न २० वटा नाकाबाट दैनिक सरदर ७–८ हजारका दरले नेपालीहरु स्वदेश फर्किरहेका छन् । र, त्यसरी सीमाबाट नेपाल छिर्नेको न्युनतम स्वास्थ्य परीक्षणसहित नाम, ठेगाना राख्न थालिएको छ ।
यसबीचमा स्थानीय तहलाई स्रोतको सुनिश्चितता नगरिएका कारण उनीहरु निस्क्रिय छन् ।

पुरानै निर्णयअनुसार बारा–काठमाडौं फास्टट्रयाकमा खटिएका सेनाले अब दार्चुलासहितका विभिन्न भारतीय नाकाबाट नेपाल छिर्ने नयाँ–नयाँ बाटो पनि खन्नुपर्ने भएको छ ।

टिप्पणीहरू