रुकुम पुग्यो अर्को टोली

रुकुम पुग्यो अर्को टोली
पाँच जनाको ज्यान जानेगरी रुकुम पश्चिमको चौरजहारी ८ सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सोमबार जाजरकोट पुगेर काम सुरु गरेको छ । आज बिहान जाजरकोटमा केही काम सकेर उक्त टोली आजै घटनास्थल पुग्ने छ ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगञ्जका उप निर्देशक चन्द्रकान्त चापागाईको नेतृत्वमा आएको टोलीले सोमबार घटनाको सम्बन्धमा स्थानीय प्रशासन, प्रहरी,पीडित परिवार र सरोकारवालालाई भेटघाट गरेको छ । टोलीले घटनामा ज्यान गुमाएका नवराजका आमाबुबा, सन्जु बिक र गणेश बुढाका परिवारलाई भेटेर जानकारी लिएको छ।
पीडित परिवारले आयोगसमक्ष घटनाको निश्पक्ष अनुसन्धान र छानवीन हुनुपर्ने , घटनालाई तोडमोड गरी अपराधीलाई उम्काउन नहुने, सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने लगायतका माग राखेका छन् । दलित भएकै कारण मेरा छोराको हत्या गरिएको हो-नबराजका बुबा मुनलाल बिकले भने—‘हत्यारालाई कारवाही भएको देख्न पाउँ । घटनाको सत्यतथ्य छानवीन होस् । अपराधी उम्किन नपाउन् ।’ आफू बिरामी भएको तर बयानका लागि रुकुम जानुपर्ने बाध्यता भएकोले मिल्ने भए जाजरकोटमै बयान गर्ने ब्यवस्था मिलाई दिन मुनलालले आग्रह गरे । उनले रुकुमको मुसिकोट जाँदा बाटोमा असुरक्षा हुन सक्ने भन्दै सुरक्षाको पनि माग गरे ।
त्यस्तै सञ्जु बिकका बुवा बलबहादुरले केटाहरुलाई नियन्त्रणमा लिएर बर्वर तरीकाले हत्या गरी नदीमा फालेको बताउँदै घटनामा संलग्नलाई हदै सम्मको सजाय गर्न माग गरे ।
स्थलगत अध्ययन टोलीका संयोजक चापागाईले पीडित परिवारलाई घटनाको सत्यतथ्य छानवीन र अनुसन्धानका लागि आयोगले विशेष निगरानी र पहल गरिरहेको जानकारी दिएका छन् । संयोजक चापागाईले न्याय पाउनेमा पीडित परिवारलाई आश्वस्त पारेको बताइन्छ ।

टिप्पणीहरू