अझै पनि सुधार्न बल गर्नुपर्‍यो एमालेलाई

अझै पनि सुधार्न बल गर्नुपर्‍यो एमालेलाई

कार्यकर्ताले जोगाएको तर नेताले बिगारेको पार्टीको रूपमा एमालेको पहिचान बन्न लागेको छ । अध्यक्ष केपी शर्मा ओलीले निजी निवास बालकोटबाट पार्टी चलाउन थालेपछि यो आरोप झन् पुष्टि हुन पुगेको हो । यसबीच केन्द्रीयदेखि जिल्लाका नेताहरू थापाथलीको समेत पार्टी केन्द्रीय कार्यालय छाडेर बालकोटकै भीडमा हराउन थाले । त्यसैगरी बालकोटमा उम्मेदवारका आकांक्षीहरूले चाकरीको लहर चलाए । बालकोट अन्य पार्टी छाडेर आउनेहरूलाई स्वागत गर्ने थलो बन्यो । यसले गर्दा पार्टी कार्यालय सुनसान हुने नै भयो ।

कार्यालय धाउनेभन्दा बालकोट आउनेको संख्या उल्लेखनीय बन्दै गएपछि पार्टी ‘पाटी’ बन्न लागेको महसुस गरियो । फलस्वरूप धुम्बाराही हुँदै थापाथलीबाट पार्टी कार्यालय च्यासलमा सारियो । र त्यहीं ओलीलाई उपस्थित गराउन थालियो । तैपनि धेरै मान्छे च्यासल गएनन् । बालकोट नै धाइरहे, धाइरहेका छन् । सेटिङ र लेनदेनमा सिपालुहरूले च्यासल भन्दा बालकोटलाई नै सुमेरु ठाने । अहिले चुनावको रौनक शुरु हुँदाका बखत पनि केही–केही ‘बा’ ले टिकट दिन्छन् कि भन्नेहरूबाहेक अरू च्यासलमा देखिएका छैनन् ।

एमालेभित्र आन्तरिक लोकतन्त्र नभएको कारणले निम्तिएको समस्या हो । विचारकेन्द्रित राजनीतिभन्दा व्यक्तिकेन्द्रित प्रणाली हावी छ । आउँदो निर्वाचनमा हार खाई बुद्धि फिरे नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण भएर पार्टी जोगिएला अन्यथा कुनै विकल्प नदेखिएको जानकारहरू बताउँछन् । सत्तामा हुँदा एमालेमाथि सार्वजनिक सेवा प्रणालीलाई चुस्तदुरुस्त बनाउन, सुशासन कायम राख्न, घुसखोरी कम गर्न नसकेको, सानालाई करको दायरामा ल्याए पनि ठूला व्यापारीलाई करमा तर मार्न छूट दिएको, बैंकलगायत वित्तीय संस्थालाई सर्वसाधारणको पक्षमा काम गर्न बाध्य पार्न नसकेको जस्ता अनेक आरोप छन् । यसले गर्दा आउँदो निर्वाचनमा जनताले गुण तिर्ने सम्भावना बढेर गएको देखिँदैछ ।

नेतृत्व पंक्ति जनतालाई झक्झकाऊ, जनतासँग भोट माग भन्दै कार्यकर्तालाई उरालिरहेको छ । जनता भने बहकिने पक्षमा देखिएका छैनन् । यो कुरा स्थानीय तहको निर्वाचनले प्रस्ट पारेको छ । पार्टीभित्र अहिले पनि चुक्लिखोर र चाकरीवाजकै बोलवाला छ । उदाहरणका रूपमा माधव नेपालको वकालत गर्दै दोलखाकी रचना खड्काले रामराज्य गरेकी थिइन् । तर, अहिले शंकर पोखरेल र भानुभक्त ढकालको एक्का बनेको अवस्था छ । वय (शरीर)ले युवा भएर भएन, चेतना र चिन्तन मुख्य कुरा हो । युवा भएकै भरमा भोट हाल्छन् भन्ठान्नेहरू पनि छन् । वस्तुगत तथ्यको विश्लेषण गर्ने क्षमता छैन तर चुनाव लड्छु भन्छन् र ओलीले त्यस्तैलाई टिकट दिने सम्भावना बढेर गएको छ ।

पार्टीभित्र यस्तो बेथिति बढे पनि अध्यक्षविरुद्ध चुइँक्क गर्ने हिम्मत कसैमा छैन । अध्यक्ष ओली पनि मेरो कार्यकाल यत्ति नै हो, अब प्रधानमन्त्री बन्ने चान्स पनि छैन । त्यसैले मलाई सक्नेहरूलाई पनि पार्टीभित्र उठिबास लगाउँछु भन्ने मनस्थितिमा देखिएका छन् । जतिसुकै बल गरे पनि सत्तारुढ गठबन्धन भत्काउन नसकेपछि राजेन्द्र लिङदेन र कमल थापा, क्रिश्चियनहरूको बोलवाला भएको परिवार दलका एकनाथ ढकाल, हृदयेश त्रिपाठीहरूसँग वार्ता गर्दै हिँडेका छन् । झापाको सुखानीमा नेत्र घिमिरेहरूको हत्या गर्नेहरूसँग गठबन्धन गर्न पुगेको अवस्था छ । यसको दृष्टान्तको रूपमा एमालेको सभामा थोरै मान्छे उपस्थित हुन र उपस्थित भएकाले पनि ओलीको कुरा काटेको देखिन्छ ।

उत्तम फुयाल (जोरपाटी, काठमाडौं)

टिप्पणीहरू